सांसद भएर पनि शपथ लिन नपाउनेमा को –को ?

काठमाडौं । राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु आज शपथ ग्रहण गर्दैछन् । निर्वाचन भएको तीन महिनापछि संघीय संसद्का निर्वाचित सदस्यले आइतबार शपथ लिँदैछन् । मंसिर २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधिसभाका समानुपातिकतर्फको अन्तिम परिणाम प्राप्त हुने संवैधानिक प्रावधानका कारण सांसदको संसद् भवन प्रवेशमा ढिलाइ भएको हो ।

सांसदहरु समारोहमा उपस्थितिका लागि ब्यग्र प्रतीक्षामा छन् । दिउँसो चार बजे प्रतिनिधिसभाको र पाँच बजे राष्ट्रियसभाको शपथग्रहण समारोह हुने संसद् सचिवालयले जनाएको छ । शपथ र पहिलो बैठकका लागि पनि सबै तयारी पूरा भएको सचिवालयको भनाई छ । सचिवालयले आइतबार बिहान सर्वदलीय बैठकसमेत डाकेको छ । शपथग्रहणदेखि पहिलो बैठकको कार्यसूची निर्धारण सम्बन्धमा दलहरूसँग छलफल गर्ने तयारी छ ।

तर, आजको ऐतिहासिक शपथग्रहण समारोहमा प्रतिनिधिसभा र राष्ट्रियसभाका केही सांसदहरुले सहभागिता जनाउन पाउने छैनन् । आजको शपथग्रहणमा फरार अवस्थामै उम्मेदवारी दिएर कैलाली १ बाट विजयी रेशम चौधरीले सहभागिता जनाउन पाउने छैनन् । त्यसैगरी निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयलाई उल्ट्याएर वर्तमान केपी शर्मा ओलीको सरकारले सांसदमा मनोनित गरेका डा. युवराज खतिवडा, विमला पौडेल राई र रामनारायण बिडारीले पनि सर्वोच्चमा मुद्दा परेका कारण शपथग्रहण गुमाउन सक्नेछन् ।

राष्ट्रियसभामा मनोनीत डा खतिवडा, बिडारी र पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूको शपथ नहुने भएको हाे । यद्यपी सर्वोच्चले यसको सुनुवाइ आजै गर्दैछ । तर, पाँच बजे अघि नै उनीहरुको पक्षमा सुनुवाई भएमा मात्र शपथग्रहणमा सहभागि हुनेछन् ।

टीकापुर हत्या काण्डका मुख्य योजनाकार मानिने चौधरीले केही दिनअघि मात्रै कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । फौजदारी अभियोग लागेका चौधरी यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।

यता, प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने आज शपथ लिनेछन् । सिलवालमाथि लागेको सरकारी कागजात कीर्ते आरोपसम्बन्धी पत्रको औपचारिक पत्र संसद सचिवालयलाई प्राप्त नभएको भन्दै सचिवालयले सिलवाललाई समेत शपथग्रहणमा सहागिता जनाउन दिने भएको छ । प्रहरीको फरार सूचीमा रहेका सांसद् सिलवाल शनिबार संसद भवनमा भएको एमाले–माओवादी सांसद्लाई दिइएको प्रशिक्षणमा समेत सहभागी भएका थिए ।

राष्ट्रियसभाका ३ र प्रतिनिधिसभाका १ सांसदको शपथ नहुने भए पनि प्रतिनिधिसभाका २७४ र राष्ट्रियसभाका ५६ सांसदले भने आज शपथ ग्रहण समारोहमा भाग लिँदैछन् । 

प्रतिनिधिसभामा महन्थ ठाकुर  र राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य भएकाले उनीहरुले नै शपथग्रहण गराउने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । यसअघि राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादवले शपथ गराउने निर्णय भएकाे थियाे ।

यसैबीच महिन्द्रराय यादवले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट शपथ नलिने भएका छन्। आफ्नै प्रस्तावमा महन्थ ठाकुरले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट सपथ लिन लागेको यादवले बताए। यादव वास्तवमा ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो। महन्थ ठाकुर भने ७५ वर्षका भए।

दिउँसो १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाका २७५ सदस्यले अपरान्ह ४ बजे र राष्ट्रिय सभाका ५६ जनाले साँझ ५ बजे सपथ लिने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित