आत्म निर्भरको नाममा जनता नमार

‘सस्तो मूल्यमा नेपालीलाई गुणस्तरिय औषधी उपलब्ध गराउनु हाम्रो कमजोरी हो ?’

काठमाडौं । नेपाल औषधी व्यवसायी संघ(एनसीडिए) ले स्वदेशमा नै औषधी उत्पादन गर्दै आएका उद्योगीहरुले चालेको कदप्रति आपत्ति जनाएको छ । वि.सं. २०३० सालमा स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय मापदण्डका गुणस्तरिय औषधीहरु विदेशबाट आयात गरी सर्भसुलभ रुपमा विक्रीवितरण गर्दै आएको संस्थाले नेपाली उद्योगीहरुले आत्म निर्भरको नामममा सिन्डिकेट लाद्न खोजेको भन्दै आपत्ति जनाएको हो । 

स्वदेशमा नै औषधी उत्पादन गर्दै आएका उद्योगहरुले आवश्यक विभिन्न ३० वटा औषधीहरु नेपालमा नै उत्पादन भइरहेको भन्दै बाहिरबाट आयत गर्न बन्द गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी २०७१ जेठ २६ गते सचिव स्तरिय निर्णयको बुँदा नम्बर १३ मा पाँच वटा स्वदेशी कम्पनीहरुको डोजिएर पेश गरेमा सोही औषधी कुनै पनि व्यवसायीले विदेशबाट ल्याउन नपाइने उल्लेख गरिएसँगै उनीहरुले विदेशबाट आइरहेको औषधी बन्द गर्नुपर्ने माग राखेका छन् ।

अझ रोचक पक्ष के हो भने स्वदेशी औषधी उत्पादक व्यवसायीहरु नै यतिबेला आफूले उत्पादन नगर्ने औषधीहरु आफैले मात्रै आयात गर्न पाउनु पर्ने रटान लगाई रहेका छन् ।

तर, एनसीडिएले भने त्यसको विरोध गर्दै आएको छ । त्यहि औषधी नेपाली उत्पादकहरुले भन्दा सस्तो मूल्यमा जनतालाई दिइरहेका छौं भने किन त्यसलाई रोक्नु पर्यो ? नेपाली जताले सस्तोमा गुणस्तरीय औषधी प्रयोग गर्न नै नपाउने सिन्डिकेट किन लाग्द खोजिन्छ भन्दै एनसीडिय विरोधमा उत्रिएको हो ।

आत्म निर्भरको नाममा सस्तोमा पाइरहेको गुणस्तरीय औषधी बन्द गरेर महंगो मूल्यमा नेपाली औषधी जवर्जस्ती भिडाउनु कति उचित हो ? हाम्रो जस्तो गरीविले थलिएको मुलुकमा के यो उचित हुन सक्छ ?

 एनसीडिएले स्वदेशी औषधी उद्योगहरुले आत्मनिर्भरको नाममा विदेशबाट आयत हुँदै आएका औषधीहरु बन्द गराएर जनतालाई महंगोमा नेपाली औषधी भिडाउन खोजेको भन्दै त्यसको विरोध गरिरहेको छ । विदेशी औषधी भन्दा स्वदेशी औषधी चार गुणा महंगोमा विक्री गरेर जनताको ढाड सेक्न नपाइने एनसीडिएको भनाई छ । 

स्वदेशी औषधी उत्पादन व्यवसायीहरुका कारण अप्ठेरोमा परेको एनसीडिएले समस्या समाधानका लागि समस्या समाधान उपसमिति समेत गठन गरेको छ । झण्डै दुई हजार भन्दा बढि व्यवसायीहरु आवद्ध रहेको यस संस्थामा २० हजार भन्दा बढिले रोजगारीको अवसर पाएका छन् । तर, यतिबेला यि सबैलाई अप्ठेरो पर्नेगरी स्वदेशी औषधी व्यवसायीहरुले नियमककारी निकायलाई प्रभावमा पारेर सिन्डिकेट लाद्न खाजिरहेका छन् ।

समस्या समाधान उपसमिति सदस्य किरण दुवाडीले भन्छन्–‘नेपाल औषधीमा अत्म निर्भर हुनु एकदमै राम्रो पक्ष हो । हामी त्यसको स्वागत गर्छौं । तर, आत्म निर्भरको नाममा सस्तोमा पाइरहेको गुणस्तरीय औषधी बन्द गरेर महंगो मूल्यमा नेपाली औषधी जवर्जस्ती भिडाउनु कति उचित हो ?

हाम्रो जस्तो गरीविले थलिएको मुलुकमा के यो उचित हुन सक्छ ? स्वदेशी कम्पनीले उत्पादन गरेका औषधी भन्दा हामीले बाहिरबाट ल्याएर जनतालाई सस्तोमा औषधी खुवाइरहेका छौं । र, पनि किन यसलाई नै बन्द गर्न खोजिन्छ ? औषधी जस्तो संवेदनशील बस्तुमा किन सिन्डिकेट लगाउन खोजिन्छ । सरकारले पनि त यस विषयमा सोच्नु पर्यो नि ।’

नियमक निकाय औषधी व्यवस्था विभाग स्थापना हुनु अघि नै स्थापना भएको एसीडिएले विदेशी औषधीमात्र नभई स्वदेशी औषधीहरुको पनि विक्री वितरण गर्दै आएको छ । एनसीडिएको एक मात्र उद्देश्य भनेको अन्तर्राष्ट्रिय गुणस्तरको औषधी नेपाली जनतासमक्ष पुर्याउनु नै हो ।

स्वदेशी व्यवसायीहरु तपाईहरुले औषधी आयात गर्दा एकातिर नेपाली रुपैयाँ विदेशिने र नेपाली औषधीको माग कम हुने बताउँछन् नि त ? भन्ने प्रश्न गर्दा दुवाडी भन्छन्–‘हो हामीले औषधी आयात गर्दा नेपाली रुपैयाँ विदेशिन्छ । यहाँ बुझ्नु पर्ने कुरा के हो भने हामीले विदेशी औषधी मात्रै विक्री वितरण गर्दै आएका छौं र ?

नेपाली औषधी पनि त हामीले बिक्री गरिरहेका छौं नि । सस्तो मूल्यमा नेपालीलाई गुणस्तरिय औषधी उपलब्ध गराउनु हाम्रो कमजोरी हो ? उहाँहरुले नेपाली औषधी नै दिने हो भने हामीले विदेशबाट आयात गर्दै आएको अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय औषधीकै मूल्यमा उपलब्ध गराउनु पर्यो नि त । विदेशी औषधीको मूल्यमा औषधी दिन पनि नसक्ने अनि महंगोमा औषधी बेचेर गरिव जनताको ढाड सेक्न पाइएन भनेर औषधी जस्तो संवेदनशिल बस्तुमा सिन्डिकेट लगाउन पाइन्छ ?’

अर्कोतर्फ स्वदेशी कम्पनीहरुले नियमक निकायलाई प्रभावमा पारी विदेशबाट औषधी आयात गर्ने हो भने पनि आफूहरुले मात्रै ल्याउन पाउनु पर्ने माग गरेको स्रोतको दावी छ । तर, एनसीडिएले भने यसको पनि विरोध गरिरहेको छ । ‘आफू काम गर्न नसक्ने अनि अर्काले गरि खाएको भाग खोस्ने नेपाली व्यवसायीको चाला मलाई मन परेन ।’ –उपसमिति सदस्य दुवाडीले थपे ।

स्वेदशी कम्पनीहरुले आत्मनिर्भरको नारा लगाई रहँदा कर्णाली जनताले सिटामोल नपाएको अवस्था छ भने कयौं स्थानमा जीवनजलको समेत अभाव छ । तरपनि विदेशबाट ल्याउने सस्तो मुल्यको गुणस्तरी औषधीलाई रोकेर महंगोमा गरिव नेपाली जनताको ढाड सेक्न पल्लेका स्वदेशी औषधी व्यवसायीहरुको नियतमाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

एनसीडिएले अहिले पनि डब्लुएचओजिएमपी, इयूजिएमपी, यूएसएफडी, टिजिए(अष्ट्रेलिया) लगायतले स्वीकृत प्रदान गरेको र नियमक निकाय औषधी व्यवस्था विभागको स्वीकृतीमा नेपालमा औषधी विक्री वितरण गरिरहेको छ । स्वदेशी औषधी व्यवसायीहरुले अर्काको व्यवसाय नै धराशायी बनाएर आफूमात्र कमाउने प्रपन्च रचेको भन्दै एनसीडिए त्यसको विरोधमा उत्रिएको दुवाडीको भनाई छ ।

उनी भन्छन्–‘नेपाली कम्पनीले उत्पादन गरेको औषधी भन्दा हामीले सस्तो मूल्यमा नेपाली जनतालाई औषधी दिइरहेका छौं । अब तपाई आफै भन्नुस् न हामीले के अपराध गरेका छौं ? औषधी जस्तो संवेदनशील बस्तुमा सिन्डिकेट लाद्न नखोजियोस् ।’

प्रतिक्रिया

सम्बन्धित