सञ्चालकको मनपरीले यसरी डुब्दैछ हिमालयन बैंक

काठमाडौं  : विभिन्न बैंकहरुले अर्बौअर्ब मुनाफा कमाइरहेको बेला निजी क्षेत्रमा स्थापित पहिलो हिमालयन बैंक भने राष्ट्र बैंकले तोकेको अवधिमा आठ अर्ब पनि पु-याउन नसक्ने अवस्थामा पुगेको छ । गत कात्तिक १४ गते बसेको बैंकको ३४९ औँ सञ्चालक समितिको बैठकले आठ अर्ब चुक्तापुँजी पु¥याउन शेयरधनीलाई २५ प्रतिशत शेयर दिन बाध्य भएको छ । बैंकका साधारण शेयरधनीहरुले अन्य बैंकबाट १५ प्रतिशतसम्मको नगद लाभांश पाइरहेको अवस्थामा हिमालयन बैंकले भने एक पैसा पनि लाभांश नदिएकोमा शेयरधनीहरुले आक्रोश पोखेका छन् । निजी क्षेत्रमा स्थापित पहिलो हिमालयन बैंक दिन प्रतिदिन धराशायी हुनुमा यसका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई जिम्मेवार ठह-याएका छन् । श्रेष्ठ अध्यक्ष भएपछि उनले आफ्नो स्वार्थमा ऋण प्रवाह गरेर करोडौं कमिशन खाइरहेको आरोप छ । बैंक सूत्रका अनुसार लिटिल एन्जलका मालिक उमेश श्रेष्ठसँग साँठगाँठ गरेर मनोजबहादुर श्रेष्ठले चितवन, हेटौंडा, ललितपुरलगायत विभिन्न ठाउँमा सयौं रोपनी जग्गा खरिद गरेका छन् । जुन जग्गा उमेश श्रेष्ठको नाममा रहेको छ । त्यसैगरी गत वर्ष दरबारमार्ग र न्यूरोड खिचापोखरीमा जग्गा खरिद गर्दा पनि मनोजबहादुर श्रेष्ठले करोडौं कमिशन खाएका छन् । दरबारमार्गमा जग्गा किन्दा कमिशन मनोजबहादुर एक्लैले खाएको भन्दै उनकै भाइ प्रचण्डबहादुर श्रेष्ठले सञ्चालक समितिको बैठकमा हंगामा गरेका थिए । त्यति मात्र होइन, दरबारमार्गको जग्गामा रहेको पुरानो दरबार भत्काएर त्यहाँको पुराना काठ, इँटा द्वारिकाज होटललाई बेचेर अध्यक्ष श्रेष्ठ एक्लैले करोडौं हात पारेका सञ्चालक बताउँछन् । दरबारमार्गमा बिना टेन्डर खरिद गरिएको जग्गाका विषयमा सुरुमा नेपाल राष्ट्र बैंकले चासो लिएको भए पनि पछि कार्यकारी प्रमुख अशोक राणाले गभर्नर चिरञ्जीवी नेपाललाई भनेर उक्त फाइल थन्क्याउन लगाएका थिए । दरबारमार्ग र न्यूरोडको जग्गाको कमिशन बैंकको युनियनका पदाधिकारीसम्म पुगेकोले अन्य सानातिना कुरामा निहुँ खोज्ने युनियनका कर्मचारी नेता मौन बसेका छन् । न्यूरोडको जग्गामा अध्यक्ष श्रेष्ठले सुशीलविक्रम थापामार्फत् करोडौं कमिशन खाएको आरोप छ । हिमालयन बैंक स्थापनाकालदेखि नै मनोजबहादुर श्रेष्ठको भ्रष्ट चरित्रका कारण बैंक डुब्दै आएको पु्राना कर्मचारी बताउँछन् । श्रेष्ठले कृषिसम्बन्धी प्रविधि भित्र्याउने भन्दै इजरायलमा एलसी खोलेर पठाएको ११ करोड अहिलेसम्म फर्किएको छैन भने मेलम्चीका चिनियाँ ठेकेदारसँग करोडौं खाएर दिएको ६० करोडको बैंक ग्यारेन्टी मुद्दा मामिलामै अल्झिएको छ । मनोजबहादुर श्रेष्ठको पृष्ठभूमि पनि ठेकेदार भएका कारण मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदारलाई अध्यक्ष श्रेष्ठले बोकेका हुन् । अहिले यो रकम पनि ‘प्रोभिजन’मा राख्नु परेकोले सर्वसाधारण लगानीकर्ता थप मर्कामा परेका छन् । पाकिस्तानको हविव बैंकको संयुक्त लगानीमा स्थापित यस बैंकमा हविव बैंकको तर्फबाट एक जना महाप्रबन्धक रहने व्यवस्था गरिए पनि हरेक वर्ष अध्यक्ष श्रेष्ठले पाकिस्तानी महाप्रबन्धकलाईदश हजार अमेरिकी डलर घुस दिने गरेकाले पाकिस्तानी महाप्रबन्धक पनि श्रेष्ठको मेजमानीबाट दंग परेको बैंकका कर्मचारी बताउँछन् । सर्वसाधारण शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिएर आठ अर्ब पुँजी पु¥याउन बाध्य हिमालयन बैंक खराब कर्जाका कारण दिन प्रतिदिन डुब्दै गएकोले सर्वसाधारण शेयर धनीको आकर्षण यस बैंकमा घट्दो छ । बैंक ओरालो लागेको कारण कर्जा अपचलनमा ७१ करोड ३१ दाख, ब्याज मुलतबीमा ४५ करोड ४० लाख, कर्जा नोक्सानी व्यवस्थामा ८५ करोड १३ लाख छुट्याएको छ । जुन व्यवस्थापनको अक्षमता र सञ्चालकको भ्रष्ट प्रवृत्तिका कारण उत्पन्न समस्या हो ।–दृष्टि न्यूजबाट

प्रतिक्रिया

सम्बन्धित