ढकालको मनपरीले ओरालो लाग्दै ग्लोबल बैंक, लक्ष्मीबहादुर र जीतबहादुर बन्ने खतरा

काठमाडौं। ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले केही समयअघि एकाएक उक्त बैंक छाडेपछि बैंकिङ क्षेत्रमा तहल्का मच्चियो ।

 विगतमा त्यही बैंकका अध्यक्ष चन्द्र ढकालको आग्रहमा नेपाली बैंकिङ क्षेत्रमा प्रवेश गरेका ज्ञवाली अन्ततः ढकालसँग केही नीतिगत विषयमा असहमति देखिएपछि ग्लोबल बैंक छाड्न बाध्य भएको स्रोतको दाबी छ ।

  ग्लोबल बैंकको उच्च स्रोतका अनुसार आईएमईको कारण मात्र बैंकको शाख जोगिन थालेपछि ज्ञवालीले बैंकलाई अत्याधुनिक बनाउन, दक्ष कर्मचारीलाई बैंकभित्र प्रवेश गराउन र बैंकको पोर्टफोलियोलाई सुदृढ तुल्याउन पटक–पटक सञ्चालक समितिमा विषय उठाउन थाले । तर, आफ्ना मान्छे भरेर पारिवारिक बैंक चलाउन थालेको उच्च व्यवस्थापन र लगानीकर्ताले सीईओको प्रस्तावलाई ठाडै नकार्न थाले ।

  त्यसैगरी पुँजी बजार र बैंकिङ क्षेत्रको पछिल्लो अवस्थालाई ध्यानमा राखेर मात्र लगानी गर्नुपर्ने केही उच्च अधिकारीको आग्रहलाई पनि बैंकको उपल्लो तहले एक कानले सुनेर अर्को कानले उडाइदिएपछि ग्लोबल बैंकबाट नातेदार बाहेकका कर्मचारीले जागिर छाड्ने क्रम शुरु भएको छ ।

   नेपाल राष्ट्र बैंकमा आफ्नो सेटिङले काम गर्ने भएकाले अन्य कर्मचारीले भनेझैं काम गर्न उच्च व्यवस्थापन अग्रसर नभएको पनि स्रोतले बताएको छ । नेपाल राष्ट्र बैंकको नियमन र सुपरीवेक्षण विभागका उच्च कर्मचारीलाई किनेकै कारण ग्लोबल बैंकको कुनै पनि काम प्रक्रिया नपुगे पनि फत्ते हुने गरेको छ । त्यतिमात्र होइन, अन्य बैंकलाई पेलेरै तेल निकाल्न खोज्ने राष्ट्र बैंकका उच्च अधिकारीहरु ग्लोबल बैंकका धेरै बदमासीलाई आँखा चिम्लिने गरेका छन् ।

  अनिल ज्ञवालीले राजीनामा दिएपछि नातेदार जनक शर्मा पौडेलाई कायम मुकायम सीईओ बनाइएको छ । अधिकांश शाखा कार्यालयमा ठूला लगानीकर्ताले आफ्ना ससुराली र मावलीका नातेदारलाई जागिर खुवाएका छन् । हालै खुलेको ग्लोबल जीवन बीमा कम्पनीको अध्यक्षमा समेत बैंकका अध्यक्षले भाइको ससुरालाई नियुक्त गरेका छन् । आफ्ना नातेदारलाई बैंकको महत्वपूर्ण विभागको जिम्मा दिँदा आफूले गरेका बद्मासी ढाकछोप होस् भन्ने नै नियत हो । चन्द्र ढकालले यसैगरी ग्लोबललाई पारिवारिक बैंकका रुपमा ढाल्दै लगे भने भविष्यमा लक्ष्मीबहादुर र जीतबहादुरकै हालतमा ढकाल नपुग्लान् भन्न सकिन्न । दृष्‍टिबाट

प्रतिक्रिया

सम्बन्धित