अर्बौ पुँजी भएका बैंक एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने अवस्थामा

nicasian

 काठमाडौं । अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्। सर्वसाधारणले बैंकमा पैसा जम्मा गर्न नआएपछि पुँजी अभावमा कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन्।

 बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो अवस्थामा आएका हुन्। चुक्ता पुँजी आठ अर्ब रुपैयाँ भएका र मुलुककै ठूला वाणिज्य बैंक भनिएकाहरुले एक लाख रुपैयाँ पनि कर्जा दिन नसक्नु ठूलो बिडम्बना हो। ‘करोड होइन एक लाख रुपैयाँ पनि ऋण दिन सक्ने अवस्था छैन,’ ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले भने, ‘केही रकम लगानी गर्न खोज्यो कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० छुनै खोज्छ ।’ सिसिडी रेसियो ८० पुगे राष्ट्र बैंकले कारबाही गर्ने भएकाले बैंक सचेत भएर बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

 हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २० वटा बैंकसँग लगानी योग्य रकमको अभाव छ। करिब २० बैंकको सिसिडी रेसियो ७९ भन्दा माथि भएकाले उनीहरुलाई थप कर्जा लगानी गर्न समस्या छ। बैंकमा लगानी योग्य पुँजी टाइट छ।  बैंकले मुद्दतीमा ११ प्रतिशत र बचतमा ८ प्रतिशत ब्याज दिँदा पनि निक्षेप संकलन हुन सकेको छैन। यही अवस्था लामो समयसम्म रहने हो अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन्।

 दुई वर्षअघि पनि यस्तै भएको थियो। सरकारले खर्च गर्न नसकेका कारण यस्तो अवस्था आएको हो। बैंकरहरुका अनुसार ठूलो त परको कुरा सानोतिनो रकम कर्जा लिन आउने उद्योगी, व्यवसायीलाई दिन सकिएको छैन। बैंकहरूले ऋण लिन आउनेलाई रकम नभएको भन्दै रित्तो हात फर्काइरहेका छन्।

 नेपालको अर्थतन्त्र सन्तुलनमा नभएका कारण लगानीयोग्य पुँजी अभाव भइरहने एक विज्ञले बताए। बैंकमा कर्जा दिने पैसा नभएपछि यसको असर चौतर्फी रुपमा पर्दैछ। सानो कर्जा लिएर काम चलाउने सर्वसाधारणदेखि करोडौं रुपैयाँ लिएर व्यवसाय गर्ने व्यवसायी यसको मारमा परेका छन्।

 यसले मुलुकको अर्थतन्त्रलाई समेत असर पार्नेछ। अहिलेको अवस्थामा १७ प्रतिशत ब्याजमा कर्जा लिएर कुनै पनि व्यवसायीले व्यवसाय सुरु गर्न सक्दैनन्। पहिले कर्जा लिएर व्यवसाय गरेकालाई पनि ब्याजको भार बढेको छ। (नागरिक दैनिक )

प्रतिक्रिया

सम्बन्धित