पूर्वसचिव पण्डित नै क्रसरका डन, छोरा र ससुराको नाममा उद्योग सञ्चालन

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा छानविन थालेका पूर्वसचिव विश्वप्रकाश पण्डितले पदमा बहाल हुँदाखेरी नै क्रसर उद्योग सञ्चालन गरेको तथ्य खुलेको छ ।

 पण्डितले प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा स्थानीय अधिकारीहरुलाई दबाब दिएर कानुन विपरित व्यवसाय गर्दै आएका थिए ।  पण्डितले तनहुँको कोत्रेमा भारी मेसिन (एक्साभेटर, डोजर) प्रयोग गरी अबैध क्रसर उद्योग सञ्चालन गरेका छन् । नियम अनुसार खोला, बस्ती र राजमार्ग जस्ता संवेदनशिल क्षेत्रको ५०० मिटर भित्र क्रसार उद्योग सञ्चालन गर्न मिल्दैन । तर,  पण्डितको हकमा भने यो नियम लागू हुन सकेन । पृथ्वी राजमार्ग अन्तर्गतको उक्त ठाउँमा क्रसर उद्योग सञ्चालन गरेपछि धुँवा र धुलोले वातावरण नै प्रभावित बनेको छ । कोत्रेमा रहेको एक सामुदायिक विद्यालयको सार्वजनिक जग्गामा सञ्चालन हुँदै आएको हारती क्रसर उद्योगले अबैध रुपमा एक्साभेटर डोजर प्रयोग गरी गिट्टी, मिस्कट उत्पादन गर्दै आएको  छ । पण्डितले छोरा विशालको नाममा क्रसर उद्योग सञ्चालन गर्दै आएका छन् ।

 प्रत्यक्ष रुपमा आफू नदेखिएपनि विद्यालयसँग सम्झौता गर्दा भने आफै अगाडि सरेका कारण उक्त क्रसर उद्योग उनको प्रत्यक्ष निगरानीमा सञ्चालन हुँदै आएको खुलेको हो । नवलपरासीको केरुङगे खोलामा पनि  पण्डितले श्रीमतीको नाममा कम्पनी खडा गरी अबैध उत्खनन गर्दै आएको सार्वजनिक भएको थियो ।

  महावीर एग्रिगेट इन्डस्ट्रिज प्रालि उद्योगमा पण्डितका आफन्त भोजराज रेग्मीसहित तीन जना सञ्चालक रहेका थिए । तर, यो कुरा बाहिर आएपछि  पण्डितका ससुरा तथा पूर्वडीएसपी कमल भण्डारीको नाममा मात्रै सो उद्योग रहेको छ । पूर्वडीएसपी भण्डारीको लगानी र नाम भए पनि पूर्व सचिव पण्डित उद्योगका हर्ताकर्ता हुन् ।

  ससुराको नामको नवलपरासीको महावीर एग्रिगेट र विनायक पण्डितको नामको तनहुँ दुलेगौंडाको हारती एग्रिगेट पनि पण्डितकै हो ।  पण्डितको लगानी रहेको महावीर क्रसर उद्योगले संकलन गरेको नदीजन्य पदार्थको स्रोत खुलाउन र नखुल्ने भए जरिवाना नतिरेसम्म बन्द गर्ने निर्णय एलडीओले गरेपछि त्यसविरुद्ध गृह मन्त्रालयबाट नवलपरासीका प्रमुख जिल्ला अधिकारीमाथि समेत दबाब दिइएको थियो । जबकि गृह मन्त्रालय गिट्टी बालुला हेर्ने मन्त्रालय नै होइन ।

प्रतिक्रिया

सम्बन्धित