शिक्षकहरु फेरि आन्दोलनमा, सेवा आयोग नै अलमल्लमा

काठमाडौं । अस्थायी शिक्षकहरुले आजबाट पुनः आन्दोलन शुरु गरेका छन् । अस्थायी शिक्षक संघर्ष समिति र पुनरुत्थान समूह नेपालले आजदेखि पुनः आन्दोलन थालेका हुन् । अस्थायी शिक्षकलाई स्थायी गराउन शिक्षक सेवा आयोग आन्तरिक परीक्षाको तयारीमा जुटिरहेका बेला असन्तुष्ट शिक्षकले पुनः आन्दोलन थालेपछि आयोग पनि अलमल्लमा परेको छ ।

विगतको सहमति र रोजगारीको हकअनुसार कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी गराउने गरी विज्ञापन नगरिएको जनाउँदै आन्दोलन शुरु भएको बताएका छन् । आयोगले शिक्षा ऐन, २०२८को नवौँ संशोधनबमोजिम आयोगले यही चैत २३ का लागि परीक्षा तोकी तयारीका अधिकांश काम पूरा गरेको छ । अस्थायी शिक्षकको दुई दशकअघिको विवाद र आन्दोलनका कारण विद्यालय शिक्षामा प्रतिकूल असर पारिरहेको छ ।

नेपाल शिक्षक महासंघ र संघर्ष समितिसँग गत असार ९ मा भएको सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधन गर्न भदौ ३ मा तोकिएको परीक्षा स्थगन भएको थियो । आठौँ संशोधनले परीक्षा वा सुविधामध्ये एक रोज्नुपर्ने भनेकामा नवौँ संशोधनले परीक्षामा असफल हुनेलाई पनि सुविधा र औषधोपचार थप्ने तथा ७५ प्रतिशत दरबन्दीमा आन्तरिक परीक्षा लिने व्यवस्था गरेको छ ।

आयोगका अनुसार हाल कार्यरत करिव २४ हजार अस्थायी शिक्षकमध्ये २३ हजार २८६ ले आन्तरिक परीक्षाका लागि आवेदन दिएका छन् । बाँकी २५ प्रतिशतमा खुला विज्ञापन हुनेछ ।

अस्थायी शिक्षकले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले चैत २३ को परीक्षा कानूनी रुपमा पनि गर्न नमिल्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित