राजपा र फोरमविरुद्ध त्रिपाठी समूह बाधक

mahantha and upendra

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुची नराख्दा पनि उपेन्द यादवको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जान हदैसम्मको तयारी गरेका छन् । तर, ओलीले उनीहरूलाई तत्काल सरकारमा लैजाने मन गरेका छैनन् ।

 मधेस केन्द्रित दलहरूलाई सरकारमा सहभागी गराउँदा समस्या उत्पन्न हुने भन्दै ओलीले रुची नदेखाएका हुन् ।
संघीय फोरमका अध्यक्ष यादवले ओलीले आफूहरूलाई धोका दिएको भनेर असन्तुष्टि जनाई सकेका छन् । उपप्रधानमन्त्री सहित मन्त्री बन्ने इच्छा राखेका अध्यक्ष यादव ओलीको व्यवहारबाट दिक्क भएका छन् । यादवले ओलीलाई दम्भी र अहंकारी नेताको रुपमा चित्रण गर्न थालेका छन् । पदाधिकारीहरूको बैठकमा अध्यक्ष यादवले भनेका थिए–‘केपी ओलीलाई विश्वास गरेर ठूलो गल्ती भएको छ । राम्रा मन्त्रालय दिने भनेका थिए । संविधान संशोधनमा लिखित सहमति गर्ने भनिएको थियो । अहिले हामीसँग वार्ता गर्न नै मान्दैनन् ।’
पदाधिकारी बैठकका बारेमा जानकारी दिँदै एक पदाधिकारीले भने–‘मन्त्री बन्नका लागि राजेन्द्र श्रेष्ठ र रेणु यादवले दाबी गरेका थिए ।

 तर, अध्यक्ष उपेन्द्र यादवले मन्त्री भन्दा पनि ओलीसँग सहमति नै हुन नसकेको भनेर बिफ्रिङ गर्नुभएको थियो ।’ मन्त्री बन्ने बारेमा संघीय फोरमभित्र ठूलो विवाद छ । बहुमत सांसदहरू प्रत्यक्षमा निर्वाचितलाई मन्त्रीमा अवसर दिनुपर्ने अडानमा छन् । तर, श्रेष्ठ र यादवले कुनै पनि हालतमा मन्त्री बन्नुपर्ने भन्दै गुटबन्दी गरेर बसेका छन् ।
उता, राजपा नेपाल पनि सरकारमा जान भनेर भित्रभित्रै गृहकार्य गरिरहेको छ । राजपाले तीनवटा मन्त्रालय माग गरेको छ ।

 ओली भने राजपालाई दुईवटा मन्त्रालय दिन पनि तयार देखिएका छैनन् । तर, दवाव परेपछि ओलीले राजपालाई दुई वटा मन्त्रालय दिने प्रस्ताव गरेका छन् । राजपाबाट राजेन्द्र महतो र शरतसिंह भण्डारी मन्त्री बन्ने पक्का भएपछि महेन्द्र राय यादव सरकारमा सहभागी हुनु हुँदैन भनेर बखेडा गर्दै आएका छन् ।
संघीय फोरम र राजपा नेपाल सरकारमा जाने अन्तिम तयारी गरे पनि उनीहरूलाई रोक्न हृदय त्रिपाठी नेतृत्वको समूह क्रियाशील बनेको छ । एमालेको चुनाव चिन्ह सुर्य लिएर प्रतिनिधि सभामा जितेका त्रिपाठीको समूहले केही दिन अगाडि प्रधानमन्त्री ओलीसँग भेटेर राजपा र संघीय फोरमलाई सरकारमा कुनै पनि हालतमा नल्याउन दवाव दिएको थियो । त्रिपाठी समूहको दवावपछि ओली अलमलमा परेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकबाट 

प्रतिक्रिया

सम्बन्धित