ठूलो रकम घुस लिएर चिनियाँलाई नेपाली नागरिकता, को- को तानिँदैछन् ?

काठमाडौं । भारतीय नागरिकमात्र होइन, चिनियाँहरुले पनि कर्मचारीलाई घुस खुवाउँदै नेपाली नागरिकता लिने गरेको खुलासा भएको छ । चिनियाँ नागरिकलाई नेपाली नागरिकता सिफारिस गर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ६ का सचिव रामप्रसाद पौडेललाई अपराध अनुसन्धान ब्यूरो(सीआइबी)ले २०७४ कात्तिक १७ गते पक्राउ गरेपछि यसको पर्दाफास भएको हो ।

 उनीभन्दा अघिका वडा सचिवद्वय युवराज खनाल र हरिबहादुर कुँवरले पनि धेरै तिब्बतीमूलका चिनियाँ नागरिकलाई नागरिकता सिफारिस गरेकाले उनीहरु पनि अनुसन्धानको घेरामा तानिनसक्ने स्रोतले बताएको छ । ठूलो रकम घुस लिएर चिनियाँहरुलाई नागरिकता सिफारिस गर्न पाउने भएकाले महानगरपालिकाको ६ नम्बर वडामा सरुवा हुनका लागि वडा सचिवहरुबीच हानथाप चल्ने गर्दछ । महानगरपालिकाका अति भ्रष्ट कर्मचारीका रुपमा चिनिएका वडा सचिव पौडेलले ६ नम्बर वडाको वडा सचिव हुँदा चिनियाँ नागरिक कुङ्गा तेन्जिङ भुटियालाई तेन्जिङ लामाको नाममा वंशजको आधारमा नागरिकताको सिफारिस गरेका थिए ।

 वडाको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कुंगाले नागरिक लिएका थिए । महानगरपालिकामा याक चुरोटको बट्टामा निवेदन लेखर कांग्रेसको दबाबमा जागिरमा प्रवेश गरेका पौडेल मुद्दा, पदपूर्ति समिति, सार्वजनिक निर्माण विभागजस्ता आकर्षक ठाउँमा बसी ६ नम्बर वडामा सरुवा भएका थिए । ६ नम्बरबाट केही समयअघि मात्र उनको सरुवा ११ नम्बर वडामा भएको थियो । ११ नम्बर वडाबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ । महानगरको पदपूर्ति समितिमा हुँदा उनले आफ्नै श्रीमती हरिमाया पौडेल घिमिरेलाई चौथो तह(खरिदार)पास गराएका थिए । गतबर्ष उनकै जोडमा रुद्रसिंह तामाङले छैटौं तहमा पास गराएका थिए ।

 अहिले उनी कानुन शाखामा कार्यरत छिन् ।वडा सचिव पौडेलले दिएको सिफारिसका आधारमा नागरिकता लिएका कुङ्गाले नेपाली पासपोर्टसमेत लिइसकेका छन् । सिआइवीले कुङगा, पौडेल र नागरिकता बनाउन सहयोग गर्ने कर्मा धिन्डुप घलेलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक कुङगा कपडा व्यपारी हुन् ।

  सीआइबीका प्रमुख डीआइजी पुस्कर कार्कीसँग यसअघिका वडा सचिव युवराज खनाल र हरि कुँवरलाई पनि अनुसन्धानको दायरामा ल्याइएको हो भन्ने प्रश्नमा उनले भने– अहिले पौडेलमात्र पक्राउ परेका छन् । अरुको संलग्नता फेलापरे पक्राउ पर्छन् । युवराज खनालले कुंगाको जन्मदर्ता गरेका कारण उनी पनि छानबिनको घेरामा परेकाले फरार भएको महानगरपालिका स्रोतले बताएको छ ।

  हरि कुँवर र युवराज खनालले पनि धेरै तिब्बतीहरुलाई नागरिकता सिफारिस गरेको स्रोतको दाबी छ । पौडेल, खनाल र कुँवरमाथि अकूत सम्पत्ति आर्जनमा पनि मुद्दा चलाउनुपर्ने महानगरपालिकाका एक अधिकारीले बताएका छन् । पौडेलमाथि सार्वजनिक निर्माण विभागको प्रमुख हुादा चीन सरकारले दिएका ९८ थान सोलार नै गायब पारेको आरोप छ ।

   तिनै महानगरका बदनाम हरि कुँवर मेयर विद्यासुन्दर शाक्यका सल्लाहकार जस्तै छन् । मेयर शाक्य महानगरपालिकाको भ्रष्ट गिरोहका मुख्य डिजाइनर ज्ञानेन्द्रबहादुर कार्की र हरि कुँवरको घेराबाट मुक्त हुन नसकेका कारण उनी पटक पटक विवादमा पर्दैआएका छन् । उनलाई विवादमा पार्ने काम नै कार्की र कुँवरले गर्दैआएका छन् ।साँघु साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित