परराष्ट्रमन्त्रीलाई नै थाहा छैन प्रधानमन्त्रीको भारत भ्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएको समाचार आइरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने त्यसलाई अस्वीकार गरेका छन् । ओली २३ गते दुई दिने भारत भ्रमणका लागि प्रस्थान गर्ने समाचार सार्वजनिक भएको छ । तर, परराष्ट्रमन्त्री ज्ञवालीले भने प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पहिले भारतीय प्रधानमन्त्री नेपाल आउन सक्ने बताएका छन्।

शनिबार बीबीसी नेपाली सेवासँगको कुराकानीका क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणको प्रस्ताव नेपालले नपठाएको समेत स्पष्ट पारेका छन्। ‘हामीले प्रधानमन्त्रीको भारत भ्रमणको मितिको प्रस्ताव पठाएका छैनौँ, उताबाट पनि आएको छैन्’ उनले भने–‘हामीले भ्रमणबारे औपचारिक प्रस्ताव पाएका छैनौँ, त्यसैले नेपाली पक्षले त्यसबारे छलफल तथा निर्णय गरेको अवस्था होइन।’

यसअघि भारतीय पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चैत २३ गते देखि हुने भनेर सार्वजनिक गरेको थियो। भारतीय दूतावासको अतिथिको रुपमा दिल्ली पुगेका नेपाली पत्रकारहरु माझ भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको मिति खोलेको थियो।

भारतले भ्रमण मिति नै सार्वजनिक गरेका बेला परराष्ट्रमन्त्री ज्ञवाली भने हालसम्म भ्रमणको विषयमा ठोस छलफल र निर्णय नभएको दाबी गरेका हुन्। उनले दुई छिमेकी देशहरुबाट सन् २०१८ भित्र नै उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित