उत्कृष्ट काम गर्ने प्रहरीलाई अबदेखि परिसरले पुरस्कार दिने

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं उत्कृष्ट काम गर्ने प्रहरीलाई अबदेखि पुरस्कार दिने भएको छ । परिसर र नेपाल बंगलबादेश (एनबी) बैंकबीच पुरस्कार प्रदान गर्ने विषयमा सम्झौता भएको छ । एनबीसँगको सहकार्यमा उत्कृष्ठ प्रहरी कर्मचारीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने सहमति परिसरले जनाएको छ ।

परिसरले हरेक महिना ७ जना उत्कृष्ट प्रहरीलार्इ ‘काठमाडौं प्रहरी अवार्ड’ ले सम्मान गर्ने भएको छ । प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षक (डिएसपी) सम्म गरी ६ जनालाई हरेक महिना पुरस्कृत गर्न लागिएको हो । परिसर प्रमुख एसएसपी पोखरेलका अनुसार  उत्कृष्ट छनौट भएका कर्मचारीलाई एक औपचारिक समारोहका बीच प्रमाण–पत्रसहित नगद पुरस्कारले पुरस्कृत गरिनेछ ।

मंगलबार आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा परिसर प्रमुख एसएसपी विश्वराज पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुँगानाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उक्त पुरस्कारका लागि बैंकले १८ लाख ६० हजार रुपैयाँ खर्चिने भएको छ ।

सम्झौता अनुसार प्रहरी जवानले १० हजार, हवल्दारले १५ हजार, असईले २० हजार, सईले २५ हजार नगद पुरस्कार प्रदान गर्ने सहमति भएको छ । त्यसैगरी प्रहरी निरीक्षकले ३५ हजार र प्रहरी नायव उपरिक्षक(डिएसपी) लाई ५० हजार पुरस्कार दिइने महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित