सुन काण्डमा एसएसपीलाई जोगाउन आईजीपी नै सक्रिय,तल्लो दर्जाका प्रहरी बलिको बोका बन्दै

dibeshlकाठमाडौं । तस्करीको साढे ३३ केजी सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेस लोहनीलाई कारबाहीबाट जोगाउन आईजीपी प्रकाश अर्याल नै लागिपरेपछि अनुसन्धान नाटकमा मात्र सीमित हुने भएको छ ।

 गृह मन्त्रालय स्रोतका अनुसार एसएसपी लोहनीले सुन तस्कर गोरे भन्ने चुँडामणी उप्रेतीसँग भित्रभित्रै साँठगाँठ गरेको खुलिसकेको छ भने उनी अहिले गोरे गृहमन्त्रीको मान्छे भन्दै आईजीपीलाई गलत सूचना दिएर कारबाहीबाट उम्किन खोजेका छन् ।
एसएसपी लोहनीले तल्लो तहका प्रहरीलाई बलिको बोको बनाई आफू कारबाहीबाट बच्न लविङ गरेको थाहा पाएपछि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले छानविन समितिसँग प्रत्यक्ष रिपोर्ट लिएर सक्रियता देखाएका छन् । अपराध महाशाखा जस्तो प्रहरीको इन्टेलिजेन्स इकाइको प्रमुखमा रहँदा पनि एसएसपी लोहनीमाथि नै अनुसन्धान हुनु राम्रो होइन ।

 आफै अनुसन्धान र कारबाही गर्ने निकायका प्रमुख नै अनुसन्धानमा तानिएपछि महाशाखाको शाख गिरेको छ ।
उक्त सुन काण्डमा भरिया सनम शाक्यको हत्या भएपछि पनि सुन बरामद् नहुनु र मुख्य तस्करलाई पनि भगाइएका कारण प्रहरीको शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गर्न डिआईजी पुष्कल रेग्मीको संयोजकत्वमा छानविन समिती गठन भएको थियो ।

 डिआईजी रेग्मीले केही समयपछि अवकाश पाउने भएको हुँदा जाने बेलामा किन एसएसपीलाई फसाउनु प¥यो भन्दै आईजीपी अर्यालले दवाव दिएपछि रेग्मी समस्यामा परेको स्रोतको दावी छ ।
तर, छानविन समितिका सदस्य एसएसपी बसन्त लामा यतिखेर मोरङमा बसेर अनुसन्धान गरिरहेका छन् । स्रोतका अनुसार सुन तस्करलाई भगाउन र निर्दोषलाई फसाउन एसएसपी लोहनीले मोरङका एसपी अरुण बिसीलाई पनि प्रयोग गरेको आशंका गरिएको छ ।
तस्करीको ३३ केजी सुन केरुङ नाका हुँदै नेपाल भित्र्याएका भरिया शाक्यको फागुन १८ गते उर्लाबारीमा हत्या भएको थियो । अपराध महाशाखा र मोरङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की, मोहन काफ्ले र झापाका लाक्पा शेर्पालाई पक्राउ गरेको थियो । तर, उनीहरु निर्दोष रहेको र गोरेको डिजाइनमा फसाइएको रहस्य बाहिर आएपछि प्रहरीको मिलेमतो रहेको खुलेको थियो ।
सुन बोकेका भरियाको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी वा प्रहरीकै संलग्नता रहेको स्पष्ट देखिन्छ ।
प्रहरी नियन्त्रणमा रहेका चार जनाले दिएको बयान र अनुसन्धानका क्रममा उक्त सुनका मालिक गोरे रहेको खुलिसकेको छ । गोरे प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित