अख्तियारद्धारा पूर्व आईजीपी अर्यालमाथि छानविन शुरू, पूर्वमुख्यसचिव क्षत्री र सचिवको बयान लिंदा बहालवाला सचिव पनि तानिए

काठमाडौं : अकुत सम्पत्ति थुपारेको अभियोगमा अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन शुरु गरेको छ । गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्यालले अकुत सम्पत्ति जोडेको आशंकामा अख्तियारले छानविन थालेको अख्तियार स्रोतको दावी छ । अर्यालसँगै अख्तियारले महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डे र बहालवाला सचिव गजेन्द्र ठाकुरमाथि छानविन थालेको हो । यता, विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको छ ।उनीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेको निर्णयका आधारमा अख्तियारले तीन जनासँग बयान लिएको हो । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सर्फमर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले भदौ ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसलगत्तै प्राधिकरणको बोर्डले दुवै कम्पनी आर्विट्रेसनमा जाने निर्णय गर्‍यो । उक्त निर्णय गर्दा एउटा बोर्ड बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा विश्वप्रकाश पण्डित र दोस्रोमा राजेन्द्रकिशोर क्षत्रीले अध्यक्षता गरेका थिए । आर्विट्रेसनमा जाने निर्णयलगत्तै मध्यस्थकर्ता पनि नियुक्त गरियो । अदालतमा विचाराधीन मुद्दामा मध्यस्थकर्ता नियुक्त गर्न नपाइने बताउँदै अख्तियारले मुद्दा प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ । र, आर्विट्रेसनबाट कुनै उपलब्धि नभएको र झण्डै अढाइ करोड खर्च भएको ठहर गरेको छ ।बयानका लागि बोलाइएका क्षत्रीले हालै मुख्यसचिवबाट अवकास पाएका थिए भने कार्की बहालवाला सचिव हुन् ।अख्तियारद्धारा पूर्व आईजीपी अर्यालमाथि छानविन, पूर्वमुख्यसचिव क्षत्री र सचिवको बयान लिंदा बहालवाला सचिव पनि तानिए

प्रतिक्रिया

सम्बन्धित