विद्यार्थी तान्न काठमाडौं भ्याली स्कुलको ‘ब्राण्ड’ चोरी
काठमाडौं। निजी विद्यालयले पछिल्लो समय विद्यार्थी आकर्षित गर्न स्थापित भइसकेका पुराना स्कुलसँग नाम जुधाएर नयाँ खोल्ने प्रवृत्ति मौलाउँदै गएको छ। विद्यार्थी तान्ने नाममा अर्काको ‘ब्रान्ड’ चोरेर विद्यालय खोलिँदा पहिले नै स्कुल खोलेर चिनिएका वा स्थापित भइसकेका विद्यालय मारमा पर्छन् नै, सँगै विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थी र परीक्षार्थी समेत आफूले अध्ययन गर्ने सक्कली शैक्षिक संस्था कुन् हो भनेर दोधारमा पर्ने गरेका छन्।
यस्तै घटना भएको छ, राजधानी काठमाडौंमा। महाराजगन्जमा ३२ वर्षदेखि सञ्चालन भइरहेको ‘काठमाडौं भ्याली स्कुल’ को नाम चोरेर काठमाडौंकै छाउनीमा ‘काठमाडौं भ्याली स्कुल’को नाममा अर्को स्कुल स्थापना भएको छ। दूरीको हिसाबले टाढा रहे पनि कानुनविपरीत एउटा जिल्लामा पुरानो स्कुल सञ्चालनमा रहेका बेला त्यही नामको नयाँ स्कुल खोलिएको छ।
एउटै नाममा अर्को स्कुल खोल्दा आफ्नो स्कुलको ‘ब्रान्ड’ मै समस्या आएको महाराजगन्जस्थित भ्याली स्कुलका प्रिन्सिपल कर्मा तेन्जिङले बताए। आफ्नो स्कुलसँग जुध्ने नाम राखी छाउनीमा अर्को स्कुल खोलिएको विषयमा स्वयं स्कुल सञ्चालक, जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रालयमा समेत पटक पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको तेन्जिङको गुनासो छ।
‘एक पटक हाम्रो स्कुलमा एमबीबीएसको परीक्षा दिन आउने विद्यार्थी झुक्किएर छाउनीमा रहेको स्कुलमा पुगेछन्। गलत केन्द्रमा पुगेका उनीहरू परीक्षा सुरु हुनुअघि नै हतार गरेर महाराजगन्ज आउन सफल भए’, तेन्जिङले भने, ‘यस्तै अन्य विषयको परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थी गलत केन्द्रमा पुगेर यहाँ आउँदा ढिलो भएको उदाहरण प्रशस्तै छन्।’
छाउनीस्थित स्कुलले पत्रिकामा विज्ञापन छापेपछि झुक्किएर बिल भुक्तानी लिन आफ्नो स्कुलमा आउने गरेको पनि उनले बताए। ‘स्तरीय शिक्षा दिन सकिन्छ भने नाम जुधाएर स्कुल खोल्न आवश्यक छैन। हामीले पटक पटक नाम सच्याउन अनुरोध पनि ग¥यौं। तर अहिलेसम्म सार्वजनिक रूपमा विज्ञापन वा अन्य प्रचारप्रसार गर्दा हाम्रो स्कुलसँग मिल्ने नाम नै कायम छ’, उनले भने।
छाउनीमा रहेको भ्याली स्कुलका संस्थापक डा।स्वागत श्रेष्ठले भने आफूले सुरुमा कक्षा ११ र १२ को मात्र अध्यापन गराउन संस्था दर्ता गरेको र पछि स्कुल पनि चलाउनुपर्ने नियम बनेपछि पुरानै नाममा स्कुल सञ्चालन गरेको बताए। ‘यसमा समस्या छ, मैले बुझेको छु। समस्या कसरी समाधान गर्ने दुवै पक्ष बसेर छलफल गरेपछि टुंगो लगाउँछौं’, उनले भने। २०५४ सालमा स्थापित भए पनि आफूले २०५८ सालमा किनेको हुनाले नामबारे आफूले धेरै नबुझेको उनले बताए। महाराजगन्जस्थित स्कुल सञ्चालकले आफूसँग यसबारे कुनै छलफल नगरेको दाबी पनि उनले गरे।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले एउटै नाम जुध्ने गरी दुई वटा शैक्षिक संस्था सञ्चालन गर्न नपाइने स्पष्ट पारे। उनले भने, ‘कुनै न कुनै शब्द परिवर्तन गर्नैपर्छ। भ्याली स्कुलको बारेमा सत्यतथ्य के हो, म बुझ्छु।’ (अन्नपूर्ण )
प्रतिक्रिया