पक्राउ परेनन् भोटेकोसी गाउँपालिकाका अध्यक्ष, सिआइबीले चलायो सुन तस्करी मुद्दा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा छुटेका छन् । तस्करीमा संलग्न मुख्य नाइके चारैजना फरार छन् ।

सुनको लगानीकर्ता भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको प्रहरी निष्कर्ष छ । त्यस्तै, न्युरोड क्षेत्रमा बसेर सुन र हुन्डीको कारोबार गर्ने रमेश खड्का, सुन्दर खड्का र कृष्ण खड्काविरुद्ध समेत प्रहरीले मुद्दा दायर गरेको छ । १४ किलो सुन शेर्पाको टोखास्थित डेराबाट तथा एक किलो धनुषाबाट बरामद भएको थियो । उनीहरूबाट भक्सवागन कार, ६ सय अमेरिकी डलर पनि बरामद गरेको थियो । पक्राउ परेका पेम्बा दोर्जे तस्करीका मुख्य सहयोगी हुन् ।

सो सुन एक चिनियाँको भएको र आफूले केही पैसा लिएर ओसारपसार एवं बिक्री मात्र गर्दै आएको बताएका छन् । पक्राउ परेका अन्य चारजना नेपालका विभिन्न सुन पसलदेखि भारतसम्म पुर्‍याएर तस्करीको सुन बिक्री गर्ने व्यक्तिहरू भएको प्रहरीले जनाएको छ । पेम्बा दोर्जेले आफ्नै कन्टेनरमा राखेर सो सुन रसुवा हुँदै काठमाडौं ल्याएका थिए । आफूले दुईपटक चीनबाट सुन ल्याएको उनले बताएका छन् । तस्करीमा संलग्न सबैमाथि सिआइबीले सम्पत्ति शुद्धीकरणमा मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

सुन तस्करीबाट अकुत पैसा कमाएको आशंकामा छानबिन सुरु गरिएको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए । धरौटीमा छुटेकालाई हिरासतमै राखेर प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा अनुसन्धान अघि बढाएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर सिआइबीले अनुसन्धान अघि बढाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित