टनका टन सुन तस्करी भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य गर्नुपर्ने बताएका छन् । गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले लामो समयदेखि रही आएको यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको भन्दै यसको अन्त्य गर्ने बताएका हुन् ।

उनले भने–‘सिन्डिकेटको अन्त्य गर्नुपर्छ, जनताको हितका लागि हो भने सिन्डिकेट तोड्नुपर्छ ।’ जनताको चाहना सिन्डिकेट नभएको भन्दै उनले जनताको चाहना अनुसार यातायात क्षेत्रलाई व्यवस्थित गर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रमा बोल्दै मन्त्री बादलले भ्रष्टाचार र माफियातन्त्रको समेत अन्त्य गर्ने बताए । राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै अब यसको अन्त्य गरिने उनको भनाई थियो ।

‘यहाँ तस्करको ठूलो नेक्सस छ । तस्करको प्रशासनसँग सिधा सम्बन्ध छ । राजनीतिक दलका नेताकै उनीहरुले संरक्षण पाएका छन् । कानुनको रक्षा गर्ने ठेकेदार पनि तस्करसँग जोडिएका छन् ।’ गृहमन्त्री बादलले भने ।
विभिन्न नाकाहरुबाट तस्करहरुले देशलाई लुटिरहेको बताउँदै उनले भने–‘प्राकृतिक स्रोत र साधन मात्र होइन, मानव तस्करी पनि भइरहेको छ । हामीलाई लुट्नेहरु देश बाहिर मात्रै होइन, देशभित्रै पनि छन् ।’ उनले ३’४ केजी मात्रै नभइ टनका टन सुन तस्करी भइरहेको समेत बताए ।

गृहमन्त्री बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका हुन् । सोमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लार्इ प्राथमिकता दिएका छन् ।

कार्य योजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने उल्लेख छ । साथै, ड्रोनको प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित