भ्रामक समाचार लेख्नेलाई छ वर्ष जेल

काठमाडौं । मलेसियाको संसदले भ्रामक समाचार लेख्नेलाई बढीमा छ वर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था पारित गरेको छ। संसदले यस्तो व्यवस्था सहितको कानुन पारित गरेसँगै मलेसियामा अबदेखि भ्रामक समाचार लेख्ने व्यक्ति छ वर्ष सम्म जेल जानु पर्ने भएको छ। आउँदो निर्वाचनको समय भ्रामक समाचारको दुरुपयोग हुने संभावनालाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको सरकारी अधिकारीहरूले बताएका छन्।

मलेसियाको सत्तारुढ दलका नेताहरूले यो कानुनी व्यवस्थासँगै मलेसियामा भ्रामक समाचार लेख्ने क्रम पुरै घट्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री नाजिब रजाकको प्रशासनले स्वच्छ आलोचनाका लागि नयाँ कानुनी व्यवस्थाले कुनै असर नपार्ने दावी गरेको छ। तर, विपक्षीहरूले भने भ्रामक समाचार नियन्त्रण गर्ने नाममा प्रेस स्वतन्त्रता नै कुण्ठित गराउन लागिएको भन्दै विरोध जनाएका छन्।

नयाँ कानून स्थानीय सञ्चार माध्यमहरूसँगै विदेशी सञ्चारकर्मीहरूप्रति पनि उत्तिकै लक्षित रहेको जनाइएको छ। मलेसियामा केही हप्तामा निर्वाचन हुने अपेक्षा गरिएको छ।

आगामी निर्वाचन पनि वर्तमान प्रधानमन्त्री नाजिबले नै जित्ने बताइएको छ। फेरी विजयी भएमा उनी तेस्रो पटक मलेसियाको प्रधानमन्त्री बन्नेछन्। प्रधानमन्त्री नाजिबले विगत छ दशक देखि मलेसियाली सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेका छन्।

मलेसियाको अहिलेको संसदमा सत्तारुढ बरिसान नासिओनल (विएन) गठबन्धनको वर्चस्व रहेको छ। अघिल्लो सोमबार संसदमा पेस गरिएको सो कानुनको मस्यौदामा सुरुमा बढीमा दश वर्षसम्म जेल सजाय र पाँच लाख रिङगीट तिराउनु पर्ने प्रस्ताव गरिएको थियो। व्यापक विरोध भएपछि सरकारले जेल सजायको अवधि घटाएर छ बर्ष बनाएको सरकारी अधिकारीहरूले बताएका छन्।

कानुनमा भ्रामक समाचारलाई विश्वव्यापी समस्याको रूपमा चित्रित गर्दै दण्ड र सजायको व्यवस्था अत्यावश्यक भएको उल्लेख गरिएको छ। तर विपक्षी दलका सांसदहरूले भने यसमा असहमति जनाउदै आएका छन्। उनीहरूले अहिलेको कानुन लागु भएपछि अभिव्यक्ति स्वतन्त्रता खुम्चिने र दण्ड सजाय पनि अत्यधिक धेरै राखिएको भन्दै आलोचना गरेका छन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित