विप्लवलाई जहाँ भेट्यो त्यहीँ पक्रिन हेडक्वार्टरको उर्दि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । यस अघि नै भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा विप्लवलाई पक्राउ गरी कारवाही गर्न आदेश दिएको थियो ।

सोही आधारमा प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई विप्लवलाई जहाँ भेट्यो त्यहीँ समात्न निर्देशन दिएको हो ।
प्रहरी स्रोतका अनुसार विप्लव अहिले भूमिगत अवस्थामा छन् । उनी नेतृत्वको पार्टीमा रहेका धेरै नेता तथा कार्यकर्ता अहिले भूमिगत अवस्थामा छन् । तर सरकारले विप्लवले केवल चन्दा उठाउनका लागि मात्रै तर्साउने काम गरेको बताउँदै आएको छ ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी मनोज नेउपानेले भने–‘अदालतबाट आदेश भएका जोकोहीलाई पनि प्रहरीले जहाँ भेट्यो त्यही समात्छ, विप्लवको हकमा पनि त्यही लागु हुन्छ ।’

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानमा बम विष्फोट लगायतका गतिविधि गरेको भन्दै जिल्ला अदालत भोजपुरले मंसिर १० गते चन्दलाई अदालतमा उपस्थित गराउन भनेको थियो ।

विप्लवको नेकपाले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा जनअदालतको निर्देशन भन्दै पक्राउ पूर्जी टाँसेपछि प्रधानमन्त्री आक्रोशित भएका छन् । उनले विप्लवलाई राजनीतिमा मजान नगर्न चेतावनी दिएका थिए । गृहमन्त्री थापाले पनि विप्लवको समस्या राजनीतिक रुपमा समाधान नभए कानुनी बाटोबाट ठिक गर्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित