३३ केजी सुन काण्डमा एसएसपी लोहनीलाई कारवाहीको तयारी

काठमाडौ । ३३ केजी सुन काण्डमा सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले महानगरीय अपराध महाशाखाका dibeshl दिवेश लोहनीसँग बयान लिएको छ। कार्यक्षेत्र नाघ्दै धरान र बिराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको आरोप लागेपछि महाशाखाका प्रहरी अधिकारीमाथी छानबिनको लागी गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार एसएसपी लोहनीको बयान लिएको स्रोतले वतायो । लोहनीसंगै अपरेशनको नेतृत्व गर्ने डीएसपी प्रजित केसीको पनि बयान लिइएको खुल्न आएको छ।

 तस्करीको ३३ किलो सुन सम्बन्धि बिबादमा गत फागुन १८ मा धरानमा हत्या गरिएका सनम शाक्यको मृत्यु प्रकरणसंग प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले अवकाशको मुखमा रहेका डीआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो।

 समितिमा एसएसपी बसन्त लामा, डीएसपी सुदीपराज पाठक र इन्स्पेक्टर भिष्म हुमागाई सदस्य छन्। समितिले गत हप्ता बिराटनगर र धरानस्थित घटनास्थल पुगेर निरीक्षण तथा सम्बन्धितहरुसंग बयान तथा मुचुल्का लगायतका काम गरिसकेको छ। सबै काम सकेर गत बुधबार काठमाडौ फर्केको छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बस्तुस्थितिको बारेमा ब्रिफिंग गरेपश्चात गृहले सहसचिव इश्वर पौडेलको नेतृत्वमा छुट्टै समिति गठन गरेर छानबिनको प्रक्रिया अगाडी बढाएको थियो।

 फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिंगमा बरामद गरेको शाक्यको शवलाई दिउसो बिराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ। उक्त घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन् नसक्नु र मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती प्रहरीको सम्पर्कमा रहदारहदै भागेको भनिनुलाई शंकास्पद तरिकाले हेरिएको छ।

 उक्त घटनामा बारदातस्थल नै परिवर्तन गर्ने प्रयास गरेको भेटिएको अनुसन्धानमा खुलेको छ । धरानमा बरामद गरेको शवलाई जिल्ला कटाएर बिराटनगरमा बरामदी मुचुल्का गरिनु अत्यन्तै शंकास्पद मानिएको छानबिनमा खटिएका अधिकारीहरुको दावी छ। कानुनत बारदात स्थल परिबर्तन गर्न र मृतकको शव बरामद भएको स्थलबाट यताउता सार्न पाइदैन। प्रारम्भिक छानबिनको क्रममा एसएसपी लोहनी र सुन काण्डमा संलग्न प्रहरी अधिकारीहरुलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ। ' सम्भवत आज नै उनीहरुलाई कार्यक्षेत्रबाट फिर्ता बोलाइन्छ। गृहमन्त्रीज्युबाट कडा एक्सन लिनु भन्ने आदेश आएको छ। “ स्रोतले भन्यो।

प्रतिक्रिया

सम्बन्धित