नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक : कोइराला

shekhar-koiralaचितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए।

कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको उल्लेख गर्दै भने, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन।” सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै उनले भने, “पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ। जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन।”

विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उनको धारणा थियो। एक वर्ष ११ महिना समय रहेको भन्दै उहाँले यहीभित्र विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरे।

फरक प्रसंगमा उहाँले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको बताए। कोइरालाले भने, “नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो।” डेढ वर्षअघि नै रेलको सर्वेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको उनले दाबी गरे।

कोइरालाले अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर हुँदा र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको भन्दै नेपालको अर्थतन्त्रलाई कम्युनिस्ट अर्थमन्त्रीहरूले नै प्रभावित पारेको आरोप लगाए।

उनले जनआन्दोलनपछि भएका सरकारमा अर्थ मन्त्रालयको नेतृत्व ७६ प्रतिशत कम्युनिस्ट र २४ प्रतिशत काँग्रेसले गरेको भन्दै अर्थतन्त्र बिगार्ने काममा काँग्रेस नभएर कम्युनिस्टहरू नै जिम्मेवार रहेको आरोप लगाए।रासस

प्रतिक्रिया

सम्बन्धित