दलाई लामाका प्रतिनिधिलाई कसको संरक्षण ?

bidhya and galsen

 काठमाडौं । वाम गठबन्धनलाई विश्वास गरेर सहयोग गर्दै आएको चीन एकाएक भड्किएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका पछिल्ला गतिविधिबाट चीन सशंकित बन्न पुगेको हो । भण्डारी र ओलीले फ्रि तिब्बतको माग गर्दै आएका निर्वासित नेता दलाई लामाका विशेष प्रतिनिधि एवम् बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेनलाई महत्व दिएपछि चीन सरकार तर्सिएको हो ।

 काठमाडौंको रामकोटस्थित सेतो गुम्बामा बस्दै आएका मास्टर ग्याल्सेनले ओली राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका बेला त्यहीँ पुगेर स्वागत सत्कार गरेका थिए । भारतस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा मास्टर ग्याल्सेनले ओलीको भव्य स्वागत गरेका थिए । मास्टर ग्याल्सेनसँग भण्डारी र ओलीको विशेष सम्बन्ध रहेको चीनको आरोप छ । सेतो गुम्बामा मास्टर ग्याल्सेनले स्थानीय र नयाँ व्यक्तिहरूलाई मूल ढोकाबाट भित्र प्रवेश नै गर्न दिँदैनन् । 

 मास्टर ग्याल्सेनको पहुँच, प्रभाव र सम्बन्ध स्वतन्त्र तिब्बतको माग गर्दै निर्वासनमा रहेका धर्मगुरु दलाई लामासम्म रहेको छ । नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरूसँग सहजै पहुँच र सम्बन्ध कायम गर्न सक्ने मास्टर ग्याल्सेन नेपालमा मात्र होइन, भारतसम्म पुगेर नेपाल र भारतका सरकार प्रमुखहरुसँग पनि परामर्श गर्न सक्ने खुबी रहेको तथ्यहरूले देखाउँछ । 

 भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीलाई दिल्लीस्थित नेपाली दूतावासमा स्वागत गरेका मास्टर ग्याल्सेनले फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका ओलीलाई उनकै निजी निवास बाल्कोटमा फागुन ६ (फेब्रुवरी १८) गते भेटी उनको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी नयाँ संविधान बमोजिम मुलुकको नयाँ राष्ट्रपति पदमा विद्यादेवी भण्डारी पुनः निर्वाचित भएपछि भण्डारीले पद तथा गोपनीयताको सपथ लिएपश्चात फागुन ३० गते (मार्च १४) शीतल निवास पुगी दोस्रो कार्यकालको सफलता र उनको सुस्वास्थ्यको कामना गरेका थिए । 

 नागार्जुन नगरपालिकाको रामकोटस्थित सेतो गुम्वाका मास्टर ग्यालसेनले सार्वजनिक गरेका तस्विरहरूले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलाई मात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि तिब्बतीयन धर्मगुरु दलाई लामासँग पनि भेटी आर्शीवाद लिएका थिए । 

 मास्टर ग्याल्सेन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीमार्फत आफ्ना उदेश्यहरू पूरा गराउने योजनाका साथ लागेको स्रोतको भनाइ छ ।
मास्टर ग्याल्सेनले स्वतन्त्र तिब्बतको माग गर्दै निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामालाई भारतको बोधगयामा माघ ११ गते (जनवरी २५) भेटी उनीबाट आर्शीवाद लिएका थिए ।

 मास्टर ग्याल्सेनले यति सहजै र उच्चप्राथमिकताकासाथ नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई कसरी भेट्न सक्छन् भनि सामाजिक सञ्जालमा प्रश्न उठन थालेको छ । गत शुक्रबार भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ओली, पराराष्ट्रमन्त्री ज्ञवाली लगायतका उच्च पदाधिकारीहरुलाई नेपाली दूतावासमा आयोजित सम्मान कार्यक्रममा मास्टर ग्याल्सेनले सबैभन्दा पहिले स्वागत गरेका थिए ।  यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

 

प्रतिक्रिया

सम्बन्धित