ईश्वर पोखरेलको अभिव्यक्तिले बाम गठबन्धनभित्र तरंग

काठमाडौं । एमालेका महासचिव ईश्वर पोख्रेलले केपी ओली नै पार्टी अध्यक्ष, संसदीयको नेता र प्रधानमन्त्री हुने भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि बाम गठबन्धनभित्र ‘तरंग’ पैदा भएको छ ।

एमालेभित्र गुटको राजनीति चलाउँदै आएका महासचिव पोख्रेलले एकाएक किन एकीकरण विरुद्ध अभिव्यक्ति दिए भनेर सोच्न बाध्य बनाइदिएको छ । कार्यशैलीका कारण एमालेभित्र सधै विवादित व्यक्तिको छवि बनाएका पोख्रेलले माओवादीका नेताहरूबाट आफूलाई राजनीतिक रुपमा खतरा देखेर वा भारत र ओलीकै निर्देशनमा बाम गठबन्धनविरुद्ध अभिव्यक्ति दिन थालेका हुन् कि भनेर आशंका हुन थालेको छ ।

एमाले र माओवादीका केही नेताहरूले महासचिव पोख्रेलको पछिल्लो अभिव्यक्तिलाई भारतसँग जोडेर पनि विश्लेषण गर्न थालेका छन् । सधै बाम गठबन्धनको विरोध गर्दै आएको भारतसँग बोली मिल्ने गरेर पोख्रेलले किन अभिव्यक्ति दिए सबैले आश्चर्य मानेका छन् ।

समाजिक सञ्जालमा एमाले माओवादी केन्द्रको एकताबारे निकै टिप्पणी भइरहेको छ । खासगरी केपी ओलीले माओवादी युद्ध सैद्धान्तिक भुल थियो र ईश्वर पोखरेलले पार्टी अध्यक्ष, प्रधानमन्त्री तथा संसदीय दलको नेता एउटै व्यक्ति हुन्छ र सरकार गठन मत परिणामको आधारमा हुने भने पछि प्रचण्डका अनुयायीहरूलाई ज्वरो आएको टिप्पणी हुन थालेको छ ।

संसदीय समीकरण देखाउन थालेका छन् र एमाले बाहेक मिल्दा बहुमत पुग्ने संख्या प्रक्षेपण हुन थालेको छ । संसदीय प्रणाली मूलतः अनैतिक भ्रष्टहरुको जमघट हुने थलो हो । एकाध नैतिक मान्छे त्यहाँ पुगिहाले पनि उनीहरूको गणना हुँदैन भन्ने कम्युनिष्ट आलोचकहरू नै बताउँछन् ।अब प्रचण्डले समीकरण बदले पनि अन्यथा मान्नु पर्दैन । कांग्रेसका नेता प्रदीप गिरीले चुनावको दौरान यदि माओवादी केन्द्रले ३५ देखि ४० स्थान मात्र पायो भने बाम गठबन्धन रहँदैन भनेर घोषणा गरेका थिए ।सायद कांग्रेस नेता गिरीले बुझेरै भनेका होलान् बाम समीकरणले दिल्लीलाई केहीअसर पर्दैन । प्रसिद्ध पत्रकार आनन्द स्वरुप वर्माले केही दिन अघि केपी ओली सरकार पनि भरतीय ‘अक्ष’ बाहिर नजाने कुरा ताएका थिए । यो पनि साँचो हो भन्नेहरू प्रसस्त छन् ।अहिले दिल्लीलाई केवल कम्युनिष्ट नाम भएकाले कम्युनिष्ट चीनसँगको सम्वन्धको शंकाले केही झस्काएको मात्र हो । सतहमा देखिएका राजनीतिक परिदृश्यहरू हेर्दा यो बाम गठबन्धनको निर्माण केपी ओलीलाई लिकमा ल्याउन दक्षिणबाटै तारतम्य मिलाएको जस्तो देखिएको भारत नजिक मानिने कम्युनिष्ट नेताहरूले बताउन थालेका छन् ।‘प्रचण्ड’को टाउको माथि भ्रष्टाचार र मानव अधिकार उल्घंनको तरवार झुण्डिको छ । युद्धका दौरान र सँगसँगै भएको साँठगाँठको एक्पोज हुने खतरा पनि ‘प्रचण्ड’को अगाडि छ । यदि ‘प्रचण्ड’ दिल्लीको लाईन विरुद्ध उभिए भ्रष्टाचार र मानवअधिकार उल्लंघनका मुद्धाहरू अगाडि बड्ने छन् । जसलाई ‘प्रचण्ड’ले थेग्नै सक्ने छैनन् ।यस्तो अवस्थामा ‘प्रचण्ड’लाई फेरि पनि नेपाली कांग्रेसको साथ खोजेको जस्तो देखिएको छ । तर, कांग्रेसले यसपटक रचनात्मक प्रतिपक्षमा बसेर एमाले र माओवादीलाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ । यसैमा नेपाली कांग्रेसको भविष्य रहन्छ । ओली र प्रचण्डको घमण्ड र अहँतालाई नेपाली जनताले चिन्नुपर्ने बेला यही हो ।केपी ओली पनि संकटमा छन् । ‘प्रचण्ड’का कुरा नमान्दा सरकार फुत्कने, मान्दा राष्ट्रवादको धोती फुस्कने हो कि भनेर टिप्पणी हुन थालेको छ । यस्तो अवस्थामा कम्युनिष्ट गठब्नधको कन्तविजोग हुने अवस्था देखापर्न थालेको एमाले र माओवादीका नेताहरूले बताउनु थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित