देवीघाटमा नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट

solar plantकाठमाडौं । देवीघाट जलविद्युत् केन्द्र परिसरमा नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आज नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गरेका हुन् ।

सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकेर विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । सोलार प्यालन राखी त्यसमार्फत् दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्नेछ । काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ ।

प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युत्को माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गरिने छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग ३ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ ।

प्राधिकरणको स्वामित्वमा रहेका त्रिशूली र देवीघाट विद्युत् केन्द्रको नाममा रहेको खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्नेछ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा ३ करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेन्टेड इनर्जी) आपूर्ति गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित