शीर्ष स्थानमा रहेको चेन्नाईलाई हरायो मुम्बईले

mumbaiकाठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानमा रहेको चेन्नाई सुपरकिंग्सलाई पुछारबाट तेस्रो स्थानको मुम्बई इण्डियन्सले ८ विकेटले हराएको छ । यो जितसँगै मुम्बई एक स्थान माथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ ।

१ सय ७० रनको विजय लक्ष्य मुम्बईले २ बलअघि नै मात्र २ विकेट गुमाएर लक्ष्य भेटायो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाउँदै नटआउट रहे । मुम्बईलाई अन्तिम दुई ओभरमा २२ रन चाहिएको बेला रोहितले १९ औं ओभरमा चार चौका हानेर टिमलाई जित दिलाए । उनी प्लेयर अफ दी म्याच भए ।


त्यस्तै सूर्यकुमार यादवले ४४ र इभान लेविसले ४७ रन जोडे । हार्दिक पाण्डे १३ रनमा नटआउट रहे । बलिङतर्फ चेन्नाईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । ४७ बल सामना गरेका उनले ६ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए ।

शेन वाट्सन ११ बलमा १२ रन बनाउँदै आउट भए । त्यसपछि रैना र अम्बाटी रायडुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । रायडुले ४६ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले २६ रनमै आउट भए ।

मुम्बईका म्याक्लिघन र क्रुनाल पाण्ड्याले समान २ र हार्दिक पाण्ड्याले १ विकेट लिए । सातौं खेलमा चेन्नईको यो दोस्रो हार हो । यद्यपि चेन्नाई ७ खेलबाट १० अंकसहित पहिलो स्थानमा कायमै छ । समान खेल खेलेका सनराइजर्स हैदरावाद, किंग्स इलाभेन पन्जाब र कोलकाता नाइट राइडर्स क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

यसैगरी एक खेल कम खेलेको राजस्थान पाँचौं स्थानमा रहँदा सात खेल खेलेको मुम्बई छैटौं, ६ खेल खेलेको रोयल च्यालेन्जर्स बैंगलोर सातौं र ७ खेल खेलेको दिल्ली डेयरडेभिल्स सबैभन्दा पुछारमा अर्थात् आठौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित