गौचन हत्या काण्डको अनुसन्धानमा तानिदै ठेकेदार गौतम

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या प्रकरणमा केही ठेकेदार र गुण्डा नाइकेलाई शंकाको घेरामा राख्दै प्रहरीले नयाँ ढंगबाट अनुसन्धान शुरु गरेको छ । घटनाका मुख्य अभियुक्त मानिएका मनोज पुन, समिरमानसिंह बस्नेत र लोप्साङ राईको नेटवर्क खोतल्न प्रहरी लागिपरेपछि केही ठेकेदारहरु नै अनुसन्धानमा तानिन लागेका हुन् । प्रहरी स्रोतका अनुसार डिआईजी गणेश केसीको छानविन समितिले गौचनसँग कारोबार भएका व्यक्तिहरु र उनलाई धम्क्याउँदै आएको समूहको बारेमा अनुसन्धान गरिरहेको छ । घटनामा समिरमानसिंह बस्नेत समूहको हात रहेको औंल्याउँदै डिआईजी नेतृत्वको छानविन समितिले बस्नेत समूहको खोजी कार्य तिब्र बनाएको छ । स्रोतका अनुसार गौचन हत्या काण्डको अनुसन्धानमा हेटौडाका ठेकेदार सन्तोष गौतममाथि प्रहरीले अनुसन्धान शुरु गर्न लागेको छ । किनकी गौचन र प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को मिलन गौतमले नै गराएका थिए भने फरार भई भारतमा लुकेर बस्दै आएका बस्नेतलाई प्रयोग गरी गौतमले काठमाडौंमा ठेक्का कब्जा गर्दै आएका छन् ।

 गजुरमुखी निर्माण कम्पनीको सेयर होल्डर समेत रहेका गौतमको योजनामा महानगरिय प्रहरी बृत्त कालीमाटी र कलंकीको भवन बनाउने ठेक्का चार महिना अघि मात्र उमेश लामाले पाएका थिए । लामा गुण्डा नाइके दिपक मनाङ्गेका दाहिने हात हुन् । जुन कुरा

  गौचनलाई मन परेको थिएन भने यि दुई ठेक्काबाट आएको कमिसन गौतमले गौचनलाई नदिई प्रहरीका उच्च हाकिमलाई मात्र दिएका थिए । जसका कारण गौचन र गौतमबीच दरार उत्पन्न भएको थियो । प्रहरी स्रोतका अनुसार महानगरिय प्रहरी परिसर काठमाडौंका तत्कालिन प्रमुख छविलाल जोशी र अपराध महाशाखाका तत्कालिन प्रमुख दिनेश अमात्यलाई गौतमले कमिसन वापत लाखौं रकम बुझाएका थिए ।

  त्यस्तै महासंघबाट आउने कमिसन पनि गौतमले एक डिएसपी मार्फत प्रहरीका उच्च हाकिमहरुलाई बाँड्दै आएका थिए । स्रोतका अनुसार बस्नेत निकट रहेका ति डिएसपी पनि अनुसन्धानको दायरामा तानिन लागेका छन् । तिनै डिएसपीको पहलमा बस्नेतलाई जोगाउने खेल पनि रचिएको एक ठेकेदार बताउँछन् । त्यसैगरी, महासंघका अध्यक्ष समेत रहेका गौचनको पहलमा एक महिना अगाडि दश अर्बको हुलाकी राजमार्गको टेण्डर चिनिया कम्पनीलाई दिलाइएको थियो ।

  गौचनमाथि त्यतिबेला बस्नेतको समूहले तीन करोड माग गरेको थियो । स्रोतका अनुसार उक्त टेण्डर मिलाए वापत गौचनको समूहले महासंघको नाममा ५० करोड कमिशन लिएको भन्दै गौतमको निर्देशनमा बस्नेतले गौचनसँग रकम माग गरेका थिए । सोही रकमको भागवण्डा नमिलेपछि गौतमकै सूचनाका आधारमा गौचनमाथि आक्रमण भएको आरोप लाग्न थालेको छ । कमिसन नपाएपछि गौतमले सबै सूचना बस्नेतसम्म पु¥याई गौचन र जिपछिरिङ लामालाई बस्नेतले एक महिना देखी इन्टरनेटकल मार्फत धम्क्याउँदै आएका थिए ।

  प्रहरी स्रोतले भने गौतमको घटनमा संलग्नता रहे नरहेको विषयमा अनुसन्धानपछि मात्र थाहा हुने जनाएको छ । गौचन हत्याकाण्डमा प्रयोग भएका लोप्साङ राई भन्ने व्यक्तिलाई बस्नेतले नै प्रयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ । राई मनोज पुन समूहका व्यक्ति हुन् । बस्नेत काठमाडौंबाट फरार भए लगत्तै भारतमा पुगेपछि मनोज पुनसँग निकट हुन पुगेका थिए । अहिले प्रहरीले पुन, बस्नेत र राईको कनेक्सन खोतलिरहेको छ । गौचनको हत्या भए लगत्तै उनको गाडीमा भेटिएका झण्डै १५ करोडको हाराहारीमा भेटिएका चेकका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको स्रोत बताउँछ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित