गलत फुटपाथका व्यापारी कि महानगरपालिका ?

phut pathकाठमाडौं । दिउसोको समयमा फुटपाथमा ब्यापार–व्यवसाय सञ्चालन गर्न नदिएको काठमाडौं महानगरपालिकाले साँझको समयमा समेत फुटपाथमा व्यापार गर्न नदिने निर्णय गरेको छ । यो निर्णयसँगै फुटपाथमा व्यापार गरेर जिविकोपार्जन गर्नेहरुलाई भने समस्या झन थपिएको छ । यसअघि दिउँसो समयमा कडाइ गरे पनि महानगरपालिका साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोकेको थिएन ।

शहरको सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने भएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको जनाएको छ ।

खुद्रा बजारका लागि तत्काल कुनै विकल्प नदिई महानगरपालिकाले फुटपाथ बन्द गराउन त्यति सहज भने छैन । केही वर्षअघि खुलामञ्चमा लाग्ने बजारलाई सरकारले हटाएको थियो । त्यसपछि फुटपाथमा हुने ब्यापर मौलाएको छ ।

ठेलामा व्यापार गर्नेहरुसँग समेत हप्ता असुली गरेर पसल सञ्चालन गर्न दिइरहेको अवस्थामा महानगरको यो निर्णय लागु हुनेमा आशंका पैदा भएको छ । फुटपाथमा व्यपार गर्ने अधिंकाश व्यापारीहरुसँग महानगरकानगर प्रहरी र कर्मचारीले हप्तावारी बुझ्ने गरेको यस अघि नै समाचार आइसकेका छन् । हरेक ब्यापरीले त्यसरी बुझाउने गरेका पैसा महानगरका उच्च अधिकारीसम्म पुग्ने गरेको तत्थ्य सार्वजनिक भएका छन् । सस्तोमा समान पाइने भएकाले पनि काठमाडौंमा निम्न मध्यम वर्गीय परिवारमाझ फुटपाथ बजार लोकप्रिय छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको बताए । उनले बेलुकी ६ देखि राति १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए ।

काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा फुटपाथ ब्यापार मौलाएको छ ।

त्यसो त महानगरपालिकाको कदमलाई सहि पनि मान्नु पर्छ । फुटपाथमा व्यपार गर्नेहरुले न त एक रुपैयाँ भाडा तिर्नु परेको छ, न बत्ती, पानीमा
नै खर्च गर्नुपर्छ । उनीहरुले राज्यलाई कर समेत तिर्दैनन् । त्यहाँ कुनै पनि सामानको बजार भाउ एकिन हुँदैन । उनीहरुले सकेसम्म सर्वसाधरणसँग बढि पैसा असुल्ने नै हुन् । तर, त्यसप्रति कसैको पनि ध्यान जान सकेको थियो । अहिले भने महानगरपालिकाले फुटपाथ नै उठाउने निर्णय गरेसँगै पैदलयात्रुलाई आवत जावतमा भने सहज हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित