एयरपोर्टभित्र अवैध कफि सप र होडिङ बोर्ड , बन्द गर्न मन्त्रीको निर्देशन


airport

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापारी सुवास श्रेष्ठले एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवत्ता रहेका प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा गैरकानुनी रुपमा कफी सप सञ्चालन गर्दै आएका छन् । पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले मंगलबार निरीक्षणका क्रममा विमानस्थलका महाप्रवन्धक राजकुमार श्रेत्रीलाई विमानस्थलभित्र देखिएका गैरकानुनी होडिङ बोर्ड र पसलहरु बन्द गर्न निर्देशन दिएका थिए ।

 तर, रक्सीको विज्ञापनको बोर्ड अझै हटाइएको छैन । विमानस्थलभित्र श्रेष्ठले सञ्चालन गरेको कान्तिपुर क्याफेसमेत हटाउनलाई कर्पोरेट महाशाखाले २०७४ बैशाख २१ गते नै पत्र काटेको थियो । महाशाखाले एक वर्ष अघि लेखेको पत्रमा भनिएको छ–‘प्रस्तुत विषयमा त्यस क्याफे बादी र नेपाल नागरिक उड्डयन प्राधिकरण समेत प्रतिबादी भएको मुद्धामा काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।१।३ गते सम्झौताको अवधि थप गरी पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहरी भएको फैसला सम्मानित उच्च अदालत पाटनबाट सदर भएको हुँदा त्यस क्याफेले प्रयोग गरेको अवधि सम्मको यस कार्यालयलाई तिर्र्नु बुझाउनु पर्ने बहाल लगायत अन्य रकम यस कार्यालयको राजश्व शाखामा सम्पर्क गरी बुझाई ३५ (पैतीस) दिनभित्र त्यस क्याफेले प्रयोग गरिरहेको स्थान खाली गरिदिनुहुन मिति २०७४।१।१४ निर्णयानुसार जानकारी गराइन्छ ।’ 

 यसरी अदालतबाट मुद्दा हारेर पनि श्रेष्ठले सञ्चालन गर्दै आएको कान्तिपुर क्याफे अझै विमानस्थल भित्रै सञ्चालन भइरहेको छ । ठाकुरसँगको मिलेमतोमा श्रेष्ठले नियम कानुनकै उल्लंघन गरेका छन् । त्यस्तै श्रेष्ठको ग्रिनतारा मार्केटिङ प्रालिको नाममा पनि कर्पोरेट महाशाखाले नै पत्र काटी गैर कानुनी रुपमा राखिएका विज्ञापनका बोर्डहरु हटाउन निर्देशन दिएको छ ।

 २०७४ असार १९ गते काटिएको उक्त पत्रमा ‘त्रि.अ. विमानस्थलको आगमनतर्फ हुँदै बाहिर निस्कने नयाँ बाटो निर्माण गरिने भएकाले उक्त स्थानमा रहेको त्यस प्रालिले राखेको विज्ञापन बोर्डहरु निर्माण कार्यको शिलशिलामा झिक्नु पर्ने भएकाले हाललाई उक्त स्थानमा रहेको बोर्डहरु सिभिल इन्जिनियरिङ महाशाखसँग समन्वय गरी तत्काल हटाउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ ।’ उल्लेख गरिएको छ । तर, पनि श्रेष्ठले कर्पोरेट महाशाखाको पत्रलाई वेवास्ता गर्दै आफ्नै मनखुसी कफिसप सञ्चालन गर्ने देखि लिएर विज्ञपनका अवैध होडिङ बोर्ड लगाइ राखेका छन् ।

 ठाकुरलाई आर्थिक प्रलोभनमा पारेर श्रेष्ठले एयरपोर्टमा हाली मुहाली जमाएका छन् । मन्त्रीको निर्देशनलाई समेत ठाडै उल्लंघन गर्दै आएका उनीहरुमाथि अब मन्त्री अधिकारीले कस्तो कदम चाल्ने हुन् त्यो भने हेर्न बाँकी छ । त्यस्तै, विमानस्थल टर्मिनल भित्र यात्रु प्रस्थान तर्फको स्टेराइलकक्षमा सञ्चालन भइरहेको कफि सपबाट सम्झौता विपरितका सामानहरु विक्री वितरण भइरहेका छन् ।

 यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित