यातायात व्यवसायीको प्रभावमा सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका महानिर्देशकको सरुवा

raghu and rup

काठमाडौं । यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराई मन्त्रालय तानिएका छन् । सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी वाहीवाही कमाएका महानिर्देशक भट्टराईलाई विभागबाट हटाएर मन्त्रालय तानिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले भट्टराईलाई मन्त्रालय तानिएको बताइएको छ । अहिलेको अवस्थामा यातायात व्यवस्था विभागका महानिर्देशकलाई मन्त्रालय तानिनु व्यवसायीको प्रभावमा परेर गरिएको चलखेलका रुपमा हेरिएको छ ।

मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका थिएनन्। तर, शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईले पाएका जानकारी गराएका छन् ।

सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरुप्रति लचिलो बनेका थिए । गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति गरेका थिए । उनलाई मन्त्रालय तान्नुलाई सिन्डिकेट हटाए वापत मन्त्री महासेठले दिएको दण्डका रुपमा हेरिएको छ ।

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्ने र भट्टराईलाई हटाउने पहलका लागि मन्त्रीलाई गुहारिरहेका थिए। सिन्डिकटले घुँडा टेकेको र अब यातायात व्यवस्थापनको महत्वपूर्ण खाका तयार गर्नुपर्ने समयमा समयमा विभागमा महानिर्देशकलाई मन्त्रालय तान्ने गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। १३ महिनादेखि व्यवस्था विभाग सम्हालेका महानिर्देशक भट्टराईले करिब ८० कर्मचारीलाई विभागीय कारबाही गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित