स्वदेश फर्किए सन्दीप, एयरपोर्टमा भव्य स्वागत

sandeep

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । आइपीएलमा खेल्ने पहिलो नेपाली खेलाडी बनेका लामिछाने जेट एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सन्दीपले आइपीएलमा अन्य नेपाली क्रिकेटरको लागि पनि बाटो खुलेको बताउँदै आइपीएल खलेर विश्वमा नेपालीलाई चिनाउन पाएकोमा खुशी भएको बताए ।

दिल्ली डेयर डेभिल्सबाट यस सिजनको आइपीएल खेलेका सन्दिपले ३ खेलमा कूल ५ विकेट लिएका थिए। आइपीएल खेल्न पाएर आफ्नो बलिङमा थप सुधारको मौकासमेत हासिल भएको उनले बताए।

यस्तो थियो उनको खेल तालिका
सुरुको ११ खेलसम्म बेन्चमा बसेर दर्शकमात्र बनेका सन्दीपले १२ औँ खेलमा रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध पहिलोपटक खेल्ने अवसर पाए। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिए। महेन्द्र सिंह धोनीको चेन्नाई विरुद्ध दोस्रो खेल खेलेका सन्दीपले ४ ओभरमा २१ रन दिएर सुरश रैनाको विकेट लिएका थिए।

लिग चरणको अन्तिम खेलमा पनि मौका पाएका सन्दीपले मुम्बई विरुद्ध ३ विकेट लिए। सूर्य कुमार यादव, किरण पोलार्ड र क्रुनल पाण्ड्याको विकेट लिएका सन्दीपले ४ ओभरमा ३६ रन खर्चे।

समग्रमा १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चेर ५ विकेट लिएका हुन्। ११औँ संस्करणको आइपीएलका लागि दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो।

यसपछि सन्दीप वेष्ट इन्डिज विरुद्ध विश्व–११ बाट खेल्न बेलायतको लर्ड्स जानेछन्। विश्व–११ ले मे ३१ मा वेष्ट इन्डिज विरुद्ध खेल्दैछ। सन्दीपले त्यहाँ पनि राम्रो खेल्ने दावी गरेका छन्। त्यसपछि सन्दीप अगस्टमा हुने क्यारेवियन लिग (सिपीएल) खेल्न जानेछन्। उनलाई क्रिस गेलको टिम सेन्ट नेभिस एण्ड किट्सले अनुबन्ध गरेको छ।

उनलाई विमानस्थलमा कप्तान पारस खड्काले स्वागत गरेका हुन्। उनलाई स्वागत गर्नको लागि खेलकुदप्रेमी र शुभेच्छुकहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित