मिनेन्द्रलाई नेम्वाङको प्रश्न सुनसरीबाट पानीजहाज चढेर हामी किन नजाने ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले आजकाल आफूले रेल चढेको सपना देख्न थालेको बताएका छन्। संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गरेको दिनदेखि सपनामा काठमाडौंबाट लुम्बिनी, काठमाडौंबाट पोखरा, काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थालेको बताए।
विपक्षी दलका सांसदले सरकारले सपनामात्र देखाएको आरोप लगाएपछि नेम्वाङले सपना देख्नु गलत नभएको बताए । उनले सरकारले देखाएका सपना ५ वर्षभित्रमा पूरा हुने दावी समेत गरे । ‘एक जना मित्रले काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थाल्नु भएछ’, नेम्वाङले भने–‘म पनि आजकाल काठमाडौं–लुम्बिनी, काठमाडौं–पोखरा, काठमाडौं–वीरगञ्जमात्र होइन दिल्ली हुँदै युरोप पुगेको। काठमाडौं–बेइजिङ पुग्ने सपना देख्न थालेको छु।’
नेम्वाङले सरकारले नीति तथा कार्यक्रमबाट देखेको सपना अब बजेटमा आउनुपर्ने बताए। संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रमको बचाऊ गर्दै नेम्वाङले निर्वाचनको घोषणापत्रको आधारमा तयार गरिएको बताए।
‘हामीले सपना देखेका छौं। सरकारले सपना देखेको छ। अरुबेला मित्रहरूको सपना पत्याउँथे। यसपटक हाम्रो सपना पत्याएका छन्’, नेम्वाङले भने। नेम्वाङले पानी जहाज चढेको सपना समेत देख्न थालेको बताए।
कांग्रेस सांसद मिनेन्द्र रिजालतिर लक्षित गर्दै नेम्वाङले भने–‘तपाईंकै मोरङ छेव सुनसरीबाट पानीजहाज चढेर हामी किन नजाने ?’
प्रतिक्रिया