प्रचण्डले किन मन पराएनन् धुम्वराहीे कार्यालय ?

oliprachanda

 काठमडौं । नेपाल कम्युनिस्ट पार्टी अण्डरलाइनका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण भएपनि समानान्तर गतिविधि गर्दै आएको भनेर प्रधानमन्त्री केपी ओली रिसाएका छन् । प्रचण्डले आफू निकटका नेताहरूसँग दिनहुँ खुमलटारस्थित निवासमा भेटवार्ता गर्न थालेपछि ओली असन्तुष्ट बनेका हुन् ।

 ओलीले राजनीतिक भेटघाट र पार्टीका कामहरू धुम्वराहीस्थित तत्कालीन एमालेको पार्टी केन्द्रीय कार्यालयबाट गरुन् भन्ने इच्छा राखेका छन् । तर, प्रचण्डले भने धुम्वराहीको कार्यालय जान मन गरेका छैनन् । प्रचण्ड पेरिसडाँडास्थित पुरानो माओवादीको केन्द्रीय कार्यालयमा जाने गरेका छन् । भर्खरै पार्टी एकीकरण भएकाले प्रचण्डलाई चिढ्याइ हाल्ने अवस्थामा ओली छैनन् । तर, प्रचण्डका गतिविधिहरूलाई नियन्त्रण गर्ने पक्षमा आफू रहेको भनेर ओलीले संकेत दिइसकेका छन् ।

 स्रोतका अनुसार आफ्नो सचिवालयमार्फत ओलीले प्रचण्डलाई सार्वजनिक कार्यक्रमहरूमा जाँदा होस् वा जिल्ला भ्रमणमा जाने बेला आफूसँग अनुमति लिएर मात्रै जान सन्देश खुमलटारलाई पठाएका छन् । घुमाउरो भाषामा प्रचण्डलाई पूर्वस्वीकृत लिन ओलीले निर्देशन दिएपछि वातावरण केही असजिलो भएको छ ।

  प्रधानमन्त्री ओली तत्कालीन माओवादीका कुनै पनि कार्यक्रममा अहिलेसम्म गएका छैनन् । तत्कालीन माओवादीका कार्यक्रमहरूमा ओलीले प्रचण्डलाई नै पठाउने गरेका छन् । वेपत्ता दिवस होस् वा कृष्ण सेन इच्छुकको स्मृति दिवस होस् यस्ता कार्यक्रमहरूमा ओली गएनन् । बरु दोस्रो तहका नेताहरूलाई पठाएर ती कार्यक्रमहरू आफूलाई स्वीकार्य नरहेको सन्देश दिएका छन् । प्रचण्डले अहिले पनि आफ्ना गतिविधिहरूलाई अलग सचिवालय खडा गरेर सम्प्रेषण गर्दै आएका छन् । ओलीका गतिविधिहरू भने बालुवाटार र धुम्वराही पार्टी मुख्यालयबाट आउने गरेका छन् । ( यूनाइटेड पोष्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित