पूजा बोहोराले रुँदै भनिन्–‘मलार्इ रक्षा नेपालकी सञ्चालिका मेनुकाले मानसिक र शारिरिक पीडा दिइन्’ (भिडियो सहित)
काठमाडौं । सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको आश्रयमा पुगेका बालबालिकामाथि चरम अन्याय र अत्याचार भएको पीडितहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा पुजा बोहोरा ‘नाम परिवर्तन’ले आज पत्रकार सम्मेलन गरेर रक्षा नेपालको अनुसरणमा आईपुगेका बालबालिकाहरुमाथि ज्यादती भैरहेको बारेमा अध्ययन गरि कारबाही गर्न माग गरेकी छन् ।
पूजा बोहोरा बैतडीमा सामूहिक बलात्कारमा परेकी पीडित हुन् । उनलाई रक्षा नेपालले संरक्षण दिंदै आएको थियो । पत्रकार सम्मेलनमा उनले रुँदै भनिन्,‘म रक्षा नेपाल र सञ्चालक आमा (मेनुका थापा)को बिरुद्धमा सडकमा आएकी होईन, उहाँले मलाई पर्दाखेरी साथ सहयोग गर्नुभयो, तर जति मलाई सहयोग गर्नुभयो त्यो भन्दा बढि ममाथि उहाँले अत्याचार गर्नुभयो, शोषण गर्नुभयो, जन्मदिने बा–आमा र घर परिवार छोडेर मलाई उहाँले रक्षा दिन्छु भनेर ल्याउनु भयो, राख्नुभयो तर, ममाथि नै शारिरिक र मानसिक रुपमा आक्रमण समेत गर्नुभयो ।’
उनले भनिन्,‘म मानसिक रुपमा कमजोर बनेकी थिएँ, त्यो बेलामा समेत उचित किसिमको माया पाउन सकिन, हुन त जन्म दिने आमाजस्तै त कहाँ हुँदा रहेछन् कर्मकी आमा ?, उहाँले मेरो फेशबुकमा आँफैले स्टाटस हाल्नु हुन्थ्यो र विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग पनि लिनुभयो । एकदिन जन्मदिने आमा भन्दा कर्म दिने आमा महान हुन्छन् भनेर उहाँले नै लेख्नु भएको हो, मेरो फेशबुकबाट । उहाँ केटाहरुसँग कुरा गर्नुहुन्थ्यो, मलाई उल्टै गाली गर्ने र पिट्ने गर्नुहुन्थ्यो, मैले कोरियाबाट जितेर ल्याएको मेडल समेत देख्न पाएको छैन्, उहाँले आफ्नो दराजमा राख्नुभएको छ ।’
आफूले जति दुःख पाएपनि केही गरेर देखाउँनु छ भनेर हिम्मत नहारेको उनको भनाई छ । उनले भनिन्,‘आजको दिनमा पनि हिम्मत हारेकी छैन्, मजस्ता पीडितहरुको नाममा विदेशी डोनर्सहरुसँग पैसा माग्ने, सामाग्रीहरु माग्ने र आफन्तहरुलाई बाँड्ने गर्नुभएको छ, मैले विलासिताको लागि आधुनिक सामाग्रीहरु खोजेकी होईन, मेरो पढाईको लागि चाहिने सामानहरु थिए, बाहिर रक्षा नेपाल भित्र भच्छक नेपालको व्यबहार गरिन्छ ।’ आफ्नो नाममा आएका अन्तरवार्ता र समाचारहरु सबै मेनुका थापाले नै लेखेको समेत उनले बताइन् । ‘मेरो आफ्नो वास्तविकता मारेर उहाँको कुरालाई बोल्नुपथ्र्यो, त्यहाँ भित्रका पीडाहरु बाहिर भनेको खण्डमा मारिदिन्छु भन्ने खालका धम्की समेत दिनुहुन्थ्यो, मैले पैसा मागे भने जहिले बाबाको नाममा सरापेर गालि गर्नुहुन्थ्यो म त्यतिबेला अति विक्षिप्त बन्थें ।’ उनले थपिन् ।
सञ्चालक थापाले महिनावारी भएको अवस्थामा प्रयोग गरिएका लुगासमेत आफू सहित रक्षामा आश्रित साना–साना भाई बहिनीलाई सफा गर्न लगाउने गरेको उनको आरोप छ । उनले भने,‘मेरो माग पीडितको नाममा खोलिएको रक्षा नेपालमाथि राज्यले उचित निगरानी राख्नुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ, रक्षा नेपालमा रहेका बालबालिकाहरुको उचित व्यवस्थापन हुनुपर्छ, र त्यहाँबाट मलाई झैं निकालिएका बालबालिकाहरुको अवस्था के छ ? कस्तो छ, त्यसका बारेमा सत्य–तथ्य बाहिर ल्याउनुपर्छ, मैले त यस्ता दुःखहरु भोगें, अब म जस्ता पीडितहरुले यस्ता दुःखहरु भोग्न नपरोस् ।’
पुजा बोहराले वाचन गरेको अपिल :
मेरो पीडा र अपिल
म पुजा बोहोरा, घर बैतडी जिल्लाको कैलपाल–९ डंसिलीमा सामान्य परिवारमा ६ भाई–बहिनी मध्येकी चौथो सन्तानका रुपमा जन्मिएकी हुँ । मैले कक्षा १ देखि ५ सम्म श्री कैलाश प्राथमिक विद्यालयमा पढेको हुँ । कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वर उ.मा.वि. सकार मेल्चौरा बैतडीमा पढेको हुँ । म पढाईमा राम्रै विद्यार्थी भएका कारण सबैबाट माया ममता पाउँथेँ । जसका कारण पढ्न सजिलो भएको थियो । म जहिले पनि प्रथम श्रेणीमा पास हुँदै आएको विद्यार्थी थिएँ ।
२०६८ सालमा एस.एल्.सी. दिने क्रममा मेरो सामुहिक बलात्कार भएपछि शारीरिक तथा मानसिक रुपमा विच्छिप्त भई काठमाडौं आए । बुबा र काकाको सहयोगमा २०६९ सालको पौष ९ गते जिल्ला अदालत बैतडी गएर बयान दिएँ । जसको आधारमा जिल्ला अदालत बैतडीले बलात्कारीलाई १३ वर्षको सजाय र ५०÷५० हजार रुपैयाँ जरिवाना सहितको फैसला ग¥यो । २०७० सालमा एस्.एल्.सी. दिए । एसएलसीमा म प्रथम श्रेणीमा पास भएँ । तर त्यो समयमा पनि रक्षा नेपालकी अध्यक्ष मेनुका थापा ‘आमा’ ले मेरो न्यूज निकाल्नु भयो । जहाँ कि विशिष्ट श्रेणीमा पास भएको भनेर यस समयमा पनि उहाँले बढाईचढाई न्यूज निकाल्नु भएको थियो । यो कुरा मलाई राम्रोसँग थाहा छ ।
मलाई जहिल्यै आमाले किन झुटा न्यूज दिनुहुन्छ भन्ने भइरहन्थ्यो । एसएलसी पढ्दाखेरि पनि मलाई स्कुलको एक जोर ड्रेस मात्र किनिदिनु भएको थियो । बाहिर लगाउने ज्याकेट पनि नकिनिदिएका कारण पुरानो अरुले लगाएको ज्याकेट लगाएर जानुपर्दथ्यो । १० कक्षामा पनि खाजा ‘खा’ भनेर एक रुपैयाँसम्म दिनु भएन । १० कक्षामा पढ्दा स्कुलले एक दिने भ्रमणका लागि चाँगुनारायण लगेको थियो । सो भ्रमणमा जान सवैबाट एक हजार रुपैयाँ उठाइएको थियो । तर, मेरो आमाले भने पैसा दिन मान्नु भएन । म पैसा नतिरिकनै पिकनिक गएको थिएँ । मैले पैसा तिर्न नसकेकै कारण मलाई निकै लज्जास्पद स्थिति श्रृजना भएको थियो । जुन कुरा मेरा स्कुले साथीभाई र विद्यालयको सरलाई सोधे पनि थाहा हुन्छ ।
स्कुलमा पनि साथीभाईहरुले खाजा खान जाउँ भन्थे । तर म दायाँबाँया छल्लिन खोज्दथे । किनकी मेरो मनमा औडाहा हुन्थो । यसरी मलाई जतासुकै विचरा ! बनाइयो । म मेरो बुबाको दुःख पीडा बुझेको मान्छे भएकै कारण पढेरै केही गर्छु भन्दै दुःख, कष्टहरु सहँदै बसेँ । मेरो इच्छा विपरित मात्रै त्यहाँ मलाई व्यवहार गरिन्थ्यो । मलाई झुट बोल्न लगाइन्थ्यो । सबै न्यूजहरुमा झुट बोल्न लगाउनुहुन्थ्यो । कहिलेकाँही कोही ठूला मान्छे आएको बेला भने धेरै नै माया गरेको नाटक गर्नुहुन्थ्यो ।
ममाथि शोषणः
रक्षा नेपाल आएदेखि रातिको १२ बजेसम्म पनि सबैले खाएको जुठा भाँडा माझेर मात्र सुत्ने गर्दथेँ । जहिल्यै मैले भाँडा माझ्नु पर्दथ्यो । भाँडा नमाझेमा आमा र अरु सिनियर दिदीहरुले गाली गर्नुहुन्थ्यो । संस्थामा आश्रित भाईवहिनीहरुलाई काभ्रेकी पुजा कार्की र मेनुका थापा महिनावारी हुँदा लगाइएको रगतैरगतले लतपतिएको पेन्टीलगायत अन्य कपडाहरु समेत धुन लगाइन्थ्यो । अहिले रक्षा नेपालको सम्पर्क कार्यालय लैनचौरमा छ । तर, अन्य भाईवहिनीहरुलाई सतुङ्गलमा राखिएको छ । तर, कसैले सोधे गोदावारीमा राखिएको भन्दै पीडितकै परिवारका सदस्यलाई समेत झुट बोलेर भेट्न दिइन्न । बेलाबेलामा आमाले मलाई कुट्ने पनि गर्नुहुन्थ्यो । जेनतेन गरेर भएपनि मलाई पढेरै अगाडी बढ्नुपर्छ भन्ने मनसायले सहँदै आएँ । दश कक्षा पढ्दा पनि मलाई कुनै पनि किसिमका सुरक्षा दिइएन, म एक्लै पढ्न जान्थे । त्यहि बस्ने अन्य भाईबहिनीलाई भने स्कुल लैजाने, ल्याउने मान्छे हुन्थ्ये । बिना फोन, बिना पैसा मलाई कति डर लाग्दथ्यो, त्यो पीडा मलाई मात्र थाहा छ ।
एसएलसी दिएर विदा भएपछि पनि आमा मेनुका थापाले मलाई सबैले खाएको जुठा भाँडा माझ्ने र सबैको लागि खाना र खाजा पकाउने काममा मात्र लगाइरहनु भयो । तर ‘मैले आमा अंग्रेजी भाषा सिक्न जान्छु, कम्यूटर कक्षा लिन जान्छु भन्दा तेरो बाउ राम सिंहले पैसा दिन्छ भन्दै गाली गरेर टार्नु हुन्थ्यो । तीन महिने बिदामा मैले केही पनि सिक्न पाइन । मलाई डर, त्रासमा पारी कब्जामा मात्र राखियो । त्यसपछि ११ कक्षामा भर्ना गर्ने बेलामा पनि आमाले मैले भने बमोजिम केही गर्नुभएन । बल्लबल्ल ११ कक्षामा लैनचौरमा रहेको आदर्श योगहरीमा भर्ना गरिदिनु भयो । तर घरमा जहिले पनि सबैले खाएको जुठा भाँडा माझ्ने काम गर्दै एघार कक्षा पढेँ । १२ कक्षा लैनचौरमै रहको जनकनाथ मेमोरियलमा कर्मश पढेँ । कारण आदर्श योगहरीमा विद्यार्थी कम भएको भन्दै बन्द भयो । मरो इच्छा विज्ञान पढेर चिकित्सक बन्ने थियो । जताततै मेरा इच्छा र चाहनालाई कुल्चिने काम गरियो ।
मलाई मेनुका थापा आमाले कहिल्यै पनि खाजा खानु भनेर एक रुपैया पैसा पनि दिनुभएन । खाजा नखाएरै १२ कक्षा पनि सकियो । १२ कक्षाको परिक्षा पश्चात ६ महिना कलेज बिदा हुदा पनि मलाई केही पनि सिक्न दिइएन । सतुङ्गलमा रहेको घरमा लगेर सबैले खाएको जुठा भाँडा माझ्ने काममा लगाइयो । तर मलाई केही न केही सिप सिक्न इच्छा थियो । मलाई झुक्याई झुक्याई गाली गरी गरि कुनै पनि क्लास नपठाइकन घरमा भाँडा माझ्ने काम गर्न मात्र लगाइयो ।
१२ को रिजल्टमा म प्रथम श्रेणीमा उत्र्रिण भएँ । त्यसपछि ‘ल’ पढ्ने तयारी कक्षा पढ्नु प¥यो भनेँ । संस्था र आमाबाट सहयोग प्राप्त भएन । एक्लै पढ्छु भनेर अगाडी बढेँ । तयारी कक्षाका लागि भृकुटीमण्डपको ‘ल’ कलेज गएँ । त्यहाँ जाँदा पनि जहिले गाडी भाडा माग्दा आमाले यति त हिँडेरै जा, मसँग पैसा छैन भन्दै गाली गर्नुहुन्थ्यो । मलाई बाहिर हिँड्दा लगाउने कुनै पनि कपडा किनिदिनु भएन । अरुले नयाँ–नयाँ कपडा लगाएको देख्दा मेरो मन कुटुक्क हुन्थ्यो । जता पनि मलाई विचरा ! बनाइन्थ्यो । म सहेरै बसेँ ।
म आफ्नो इच्छाहरुलाई मारेर आफै सक्षम भएपछि किनेर लगाउँला भन्दै चित्त बुझाउँथे । आफ्नो पढाईलाई अगाडी बढाउने हेतुले बिजुलीबजारमा रहेको चक्रवर्ती ‘ल’ कलेजमा पढ्न गएँ । त्यहीँँ मैले पढ्ने निधो गरेपछि आवश्यक कापीकिताब किनिदिनुस् आमा भन्दा आमाले चासो देखाउनुभएन । मैले सबैसमक्ष अनुनयविनय गरेपछि रक्षा नेपालकै लोचना नेपाल म्यामले कापी किनिदिनु भयो । तर आमाकोसामु कति रुँदा–कराउँदा पनि नानाथरीका गफ लगाएर टानुहुन्थ्यो । पहिलो वर्ष लैनचौरबाट नै विजुलीबजार धाएँ । त्यहाँ जाँदा लाग्ने गाडि भाडा माग्न धेरै गाह्रो हुन्थ्यो । मलाई माग्नै अप्ठ्यारो हुनेगरी तथानाम अपशब्दहरुले गालीगलौच गर्नुहुन्थ्यो । कहिलेकाँही मुना दिदीले दिनुहुन्थ्यो त, कहिलेकाँही तलबाट माथि र माथिबाट तल जा भनी अल्झाइरहन्थे । सहदै गएँ, आमासँग छैन् होला भन्ने भावनाले रुँदै भए पनि कलेज जाने गर्दथेँ । कलेजमा खाजा खानको लागि भनेर आजसम्म पनि पैसा दिनु भएन । कलेजमा भर्ना नगरी कलेज जानु पर्दा साथीभाईहरुले मलाई किन भर्ना नगरी पढेको ? प्रश्न गर्दा म लज्जित हुन्थेँ ।
त्यसपछि मलाई मानसिक तनाब हुन्थ्यो । कलेजमा पनि २ वटा नाम दिइएको थियो । सोही कारण मलाई साथीभाईहरुको विविध प्रश्नहरुले तनाब हुन्थ्यो । उनीहरुका प्रत्येक प्रश्नहरुको उत्तर मसँग हुँदैनथ्यो । अहिले म दोस्रो बर्षमा अध्ययनरत छु । २०७१ पौष १ गते कान्तिपुर दैनिकमा न्यूज आमाले आफैँ बढाईचढाई लेखाउनु भएको हो । अन्र्तवार्ता पनि आमाले भने बमोजिम नै दिनुपर्दथ्यो । आमाले भने बमोजिम नभनेपछि मलाई तथानाम गाली गर्नुहुन्थ्यो । रक्षा नेपालमा आश्रय लिएर बसिरहेका म जस्ता पीडित छोरीहरुमध्ये सबैभन्दा ठूलो कक्षामा पढ्ने म नै थिएँ । तर पनि कोही ठूलो मान्छे आएको बेला मलाई ११ कक्षामा पढ्छे भन्नुहुन्थ्यो । म जहिल्यै आमाको झुटप्रति चकित हुन्थेँ ।
आमाका आफन्त संस्थामाः
निशा, एलिशा, सुष्मा, राधिका, गोमा, ईश्वरी, मनिश, उज्वल, राधिकाका दुई वटी बहिनीलगायत आमाका आफन्तहरुलाई रक्षा नेपालमै राखेर पढाइँदैछ मज्जाले । कसैलाई विदेश पठाइयो । तर मलाई भने होस्टेल जाउँ भनेर थपक्कन पठाइयो । सबैभन्दा बढी आमाकै भाई भतिजा, भतिजी र आफन्त संस्थामा राखिएको छ । बाहिरीबाट ठूलाठूला मान्छेहरु, पत्रकारहरु, समाजसेवीहरु, कलाकारहरु, स्वदेशी तथा विदेशीहरु आउँदा भने हामी सवैलाई बलात्कृत भएको भन्दै देखाईन्छ । पटकपटक हाम्रो घाउँ कोट्याउने काम हुन्थ्यो । जबकि आमाका आफन्तहरु कुनै भिक्टिम होइनन् । म जस्तै पीडित अर्की पुजा कार्कीलाई भने राम्रा–राम्रा कपडा किनिदिने, ल्यापटप दिने, राम्रो मोबाइल दिने गर्नुहुन्थ्यो तर मलाई भने छुट्याइन्थ्यो । रक्षा नेपालमा बसेका आफन्त बाहेकले प्रायजसो पिटाई खानुपर्छ । जसका कारण त्यहाँ बस्ने भाईबहिनीहरु शारिरीक र मानसिक तनाबमा हुन्छन् ।
तर होस्टलमा पैसा नदिएपछि मलाई होस्टलबाट म्यामले निकालि दिनुभयो । मलाई निकालेपछि पैसा तिरेको सुन्दैछु । सतुङ्गलमा कार्यक्रम हुँदा पनि मलाई र एन्ड्रियालाई नलगि त्यहि घरमा बस्न बाध्य बनाइन्थ्यो । मसँगै बस्ने एन्ड्रियालाई ‘त ड्रक्स खान्छस्, चुरोट खान्छेस्’ जस्ता नानाथरी आरोप लगाई पागल बनाईयो । मलाई भने २०७४ मंसिर १७ गते मध्यबानेश्वरमा रहेको माता पाथिभरा गल्र्स होस्टेलमा राखिदिनु भयो । रक्षा नेपालबाट विभिन्न लान्छना लगाएर महिमा, विशाल, अशोक, दिपेश, शिशिर, क्रिस, शुसिल, एन्ड्रिया र आस्थाको भाईलगायतलाई निकालियो । उनीहरु कहाँ र कुन अवस्थामा छन् ? खोजी गरियोस् । होस्टेल राखेपछि मलाई कहिले पनि रक्षा नेपाल लगिएन । पछि होस्टल सेतोपुलमा सारियो ।
होस्टेलमा पैसा नतिरेको कारण होस्टेल सञ्चालक रुपाली गुरागाईले मलाई जहिल्यै कोठा सारिरहने गर्नुहुन्थ्यो । मलाई पढाइमा बाधा हुन्थ्थो । तैपनि पढ्छु भन्दै पढ्दै गएँ । म एकदिन विरामी पनि भएँ । रुपाली आन्टीले फोन गर्दा आमाले फोन नै अफ गरेर राखिदिनुभयो, मलाई औषधीउपचार गर्नुको साट्टो । होस्टेलको आन्टीले पनि मलाई तिमी पैसा नतिरेको मान्छे हो, नौ हजार तिर्ने विद्यार्थीलाई राख्नु प¥यो भन्दै मलाई कोठा सार्नु हुन्थ्यो । बिरामी भएको दिन आमाले लिन नआएपछि रुपाली आन्टी अत्तालिएर ‘तिम्रो आमाले कुनै पनि जिम्मेवारी वहन गर्न नसक्ने भए, म पनि जिम्मा लिन सक्दिन्, आधा घण्टामा मेरो होस्टेल खाली गर भन्नुभयो ।’ भोलिपल्ट आमाले पनि होस्टेल छोड् भन्दै आफन्तकोमा जान भन्नुभयो । म छक्क परेँ । एक्कासी आमाले नै आफन्तकोमा जा भनेपछि म सबै सामान लिएर रक्षा नेपालमै गएँ । म रक्षा नेपाल गएपछि आमाले ‘अब त काँ जाने हो, जा यहाँ तेरो लागि कुनै पनि ठाउँ छैन’ भनेपछि म एक्कासी आत्तिएँ ।
मलाई अत्यन्तै दुःख महसुश भयो । मलाई रक्षा नेपालमा बस्न नदिएपछि म भाउजुको ठूलोबुबाको कोठामा गएँ । भोलिपल्ट पनि रक्षा नेपाल गएर आमा मेनुका थापासँग कुरा गर्दा पनि ‘त जाँ सुकै जा, यहाँ बस्न पाउँदिनस’ भन्नुभयो । त्यो दिन मलाई सावित्री पुडासैनीकोमा पठाइयो । यसरी मलाई कलेज पढिराखेको मान्छे कहिले कता त ? कहिले कता ? भन्दै पठाउने काम भयो । मेनुका आमाको त्यो ब्यवहारले मलाई अतिनै असैह्य पीडा महसुश भइरहेको छ । सावित्री पुडासैनी मसाजमा काम गर्नुहुन्छ । उहाँको कोठामा पठाउन खोजेपछि म रक्षा नेपालको बाहिरै बसे । मुना दिदीले हिँड् जाँउ भनेपछि आमा लैनचौरकै सीप क्याँफेमा हुनुहुृन्थ्यो । आमा मेनुका थापाले मलाई भेट्ने वित्तिकै मोबाइलले मेरो नाकमा हिर्काउनु भयो । मुना दिदीलाई पनि यो घटना थाहा छ । मेरो नाकबाट रगत आयो, म बेहोस जस्तो भएर आफैँले त्यहि क्याँफेका दाईसँग पानी मागेर खाएँ । सावित्री दिदिले मलाई नाकमा लगाउने मलम र पेन किलर किनेर दिनुभयो । मलाई रातभरी जरो आयो । त्यो नाकको घाउ अहिलेसम्म दुखिरहेको छ ।
आमाले मलाई गर्दा अतिनै पीडा भएको छ । म सहनै नसकेपछि रानीपोखरी प्रहरी कार्यालयमा गएँ । तर आमाले मलाई आश्रय दिनेलाई नै उजुरी गरेको सुनेको छु । तर मैले त्यसअघि नै मामाको ज्यादती प्रहरीकोमा भनिसकेको छु । त्यो दिन प्रहरी कार्यालयबाट फोन गर्दा आमाको मोबाइलमा कल फरवार्ड गरिएको थियो । आफू पीडामा परेको कुरा मैले त्यहि जानकारी गराईसकेको छु । तर, त्यहाँबाट पनि मलाई लैनचौर गएर निवेदन देउ भनियो । म झनै पीडामा छु ।
आमाले नै फेसबुक चलाउनुहुन्थ्योः
आमा मेनुका थापाले मेरो फेसबुक पनि उहाँको लक्की नम्बरमा खोल्नु भएको कुरा मलाई राम्रोसंग थाहा छ । मेरो फेसबुक पनि आमा मेनुकाले आफै चलाउनुहुन्थ्यो । आफ्नै बारेमा राम्रा–राम्रा कुराहरु पोष्ट गर्नुहुन्थ्यो । जुन कुराले उहाँलाई राम्रो हुन्थ्यो । अरुको पनि फेसबुको पासवर्ड उहाँलाई थाहा छ । अन्य भाईबहिनीहरुलाई पनि आमाले पिटी–पिटी नियन्त्रणमा राख्नुहुन्थ्यो, जुन कुराले मलाई थप पीडा महसुश हुन्थ्यो । रक्षा नेपालको आश्रय लिएर बसिरहेका अन्य भाईबहिनीहरुलाई बाहिर देख्दा सुखी देखिन्छन् । तर उनीहरुको भित्रि अवस्था दयनिय छ । उनीहरुलाई समेत सरोकारवाला निकायहरुबाट अवलोकन गरियोस् । उचित बस्ने ब्यवस्था र शिक्षादिक्षाको ब्यवस्था गरियोस् । उनीहरुलाई पनि मलाई जस्तै कब्जामा राखिएको छ, ताकी संस्थाको कुनै पनि कुरा बाहिर नजाओस् भनेर ।
मैले पाएको गोल्ड मेडल खै आमा ?
२०१२ मा कोरियामा तेक्वान्दो प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा २५ वटा राष्ट्रले सहभागिता जनाएका थिए । सो खेलमा मेरा मैले भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको थियो । मैले भारतलाई पछि पारी गोल्ड मेडल जित्न सफल भएको थिएँ । कोरियाली समाज र नेपाल दूतावासले हामीलाई सम्मान गरेको थियो । त्यहाँ पाएको सबै पैसा र सम्मानपत्र आमाको भतिजी ईश्वरी थापाले कब्जामा लिनुभयो । कोरिया जाँदा पनि रक्षा नेपालको तर्फबाट ७ जना गएका थियौं । साथमा तेक्वान्दो गुरु अशोक खड्का पनि हुनुहुन्थ्यो । रक्षा नेपालको तर्फबाट गएका ६ जनालाई नेपाली कल्चर ड्रेस लगाएर लगिएयो तर मलाई मात्र ड्रेस दिइएन । मलाई झन दुःखले असैह्य भयो । सुरुदेखि नै अरुलाई काखा र मलाई पाखा गरियो ।
कोरियाबाट फर्किएपछि पनि अरुलाई अगाडि ल्याइयो तर मलाई भने वास्तै गरिएन । म तिरस्कारमा परे । किन परे मलाई अहिलेसम्म थाहा छैन । तेक्वान्दो प्रशिक्षणका बेला मलाई अन्य काममा लगाइन्थ्यो । जुन दिनदेखि मैले जितेको गोल्ड मेडल आमाको हातमा प¥यो, त्यस दिनदेखि मैले त्यो जितेको गोल्ड मेडल र सर्टिफिकेट हेर्नसम्म पाएको छैन् । त्यो गोल्ड मेडल र सर्टिफिकेट दराजमा ताल्चा मारेर राख्नुभएको छ । आजसम्म रक्षा नेपालको प्रायजसो कार्यक्रममा मलाई सहभागी गराइन्न ।
स्वदेशी तथा विदेशी सहयोगः
हामी बालबालिकाको नाममा स्वदेशी तथा विदेशी दाताहरुले थुप्रै सहयोग गर्नुभएको छ । मेरो नाममा धेरैले सहयोग गरेका छन् । तर मैले नै अवसरबाट बन्चित हुनुपरेको छ । हाम्रो नाममा विदेशी दाताहरुले दिएको फण्ड पनि नआएको भन्दै ठूलाठूला मान्छे आउँदा रटाएर सहयोगका याचना हामीमार्फत गर्न लगाइन्छ । रुटस् फर लाइफ, हेल्प इन्टरनेशनल, क्यारोला घोस, लेश्ली ब्राउनलगायत थुप्रै विदेशी तथा स्वदेशी दाताहरुले सहयोग गरेका छन् ।
होस्टलमा राख्दा विना सम्झौता मातापाथीभरा गल्र्स होस्टेलमा राखिदिनु भयो । होस्टेलमा पनि मलाई सम्पूर्ण सुविधाबाट बञ्चित गराइयो । ०७४ साल मंसिर १७ गतेबाट होस्टेलमा बसेता पनि हालसम्म होस्टेलको शुल्क नतिरेकै कारण मलाई होस्टेलबाट निकालियो । त्यो कुरा प्रहरी, प्रशासनले केरकार गरेको खण्डमा यर्थाथ खुल्ने छ । होस्टेलको आन्टीले पनि पैसा नतिरेको भन्दै शुरु–शुरुमा टचर दिनुभयो । तर मैले मेरो बास्तकिता बताएपछि राम्रै व्यवहार गर्नुभयो । पैसा नतिरेको कारण मलाई निकाल्दा समेत मेरी आमाले मलाई लिन आउनु भएन । मलाई तिरस्कार गरियो । म अहिले सडकमै छु भन्दा फरक पर्दैन ।
अहिले म मेरो साथीको दाईभाउजुको परिवारका केही दिनका लागि आश्रय लिएर बसेको छु । मिडियामा कुरा पुगेपछि उहाँलाई समेत फसाउन मलाई लगेको भन्दै उजुरी गरेको सुनेको छु । तर, त्यो सबै गलत हो । उहाँको बहिनी पनि एउटा भिक्टिम हो । पहिला आश्रय लिएर सोही ठाउँमा बसेकी थिइन् । तर विभिन्न टचर दिएपछि उनको दाईले त्यहाँबाट फिर्ता लग्नुभयो ।
कलेजको सहयोगः
कलेजमा पढ्दा शुरुका एक वर्षसम्म कलेज शुल्क तिरिएन भनें भर्नाको त कुरै भएन । तर पनि कलेज प्रसाशनलगायत कलेजका प्रिन्सिपल देवेन्द्र भण्डारी सर र अनिता थापा म्यामले मलाई राम्रो व्यवहार गर्नुभयो । जनकनाथ कलेजका प्रिन्सिपल हरि सापकोटा सरले म र मानुसीप्रति ठूलो सहयोग गर्नुभएको छ । उहाँको सहयोग म बाचुञ्जेलसम्म विर्सने छैन् ।
मानुसीका कुराः
रक्षा नेपालको शरणमा आएकी पीडित बहिनी मानुसीलाई पनि विभिन्न टचर दिइरहन्थे । उनले ल्याएको कपडा र पैसा दिइन्नथ्यो । उनको दाजुले खाजा खान छाडेको पैसा पनि खोसेर राखिन्थ्यो । जनकनाथ कलेजमा बल्लतल्ल भर्ना गरिदिएता पनि अन्य कुनै पनि सहयोग गरिएन । विभिन्न टचर दिएपछि उनको दाजुले ७ महिना जतिपछि त्यहाँबाट फिर्ता लग्नुभयो । उहाँ पनि एउटा प्रमाण हो । पीडित परिवारको सदस्य भएकाले उहाँलाई पनि धेरै कुरा थाहा छ । बहिनी झनै पीडामा छिन् । उनको पनि हालसम्म नागरिता बनेको छैन । मोरङ्ग जिल्ला अदालतले वहिनीको विपक्षमा मुदाको फैसला गरेको छ । तर, रक्षा नेपालले बहिनीको लागि एउटा वकिल समेत राखेन । थप कुरा उनीबाटै बुझ्न सक्नु हुन्छ ।
र, अन्त्यमाः
पीडितको नाममा सहयोगी दाताहरुले आफ्नो गाँस काटेर दिइएको रकमबाट आफ्नो व्यक्तिगत धनसम्पत्ति जोड्नु भएको छ भन्ने मैले आरोप लगाएको जस्तो देखिन्छ । तपाईहरुले नै छानविन गरेको खण्डमा त्यो पनि सत्य पाउनु हुनेछ । आमाले धापाखेलमा घर किन्नु भएको छ । विदेशीले सहयोगले सतुंङगलमा जग्गा जमिनसहित आफ्न्ै विशाल भवन छ । जुन ब्यक्तिगत नाममा भएको सुनेको छु । यदि त्यसो हो भने उक्त सम्पत्ति संस्थाको नाममा ल्याइयोस् । त्यसमा सबैको साथ होस् भन्न चाहन्छु । पीडितको नाममा आएको रकम हिनामिना गरि अकुत सम्पति जोडेकाले रक्षा नेपालकी
सञ्चालक एवम् अध्यक्ष मेनुका थापालगायतलाई यथासिघ्र अनुसन्धानको दायरामा ल्याउन म ब्यक्तिगत रुपमै नेपाल सरकारसमक्ष अपिल गर्छु ।
संस्थाको आश्रय लिई बसेका भाईबहिनीहरुलाई कुनै पनि अधिकारबाट वञ्चित नगराइयोस् । संस्थाबाट निकालिएका र निस्कन बाध्य पारिएका हालसम्मका सबै भाईबहिनीहरुलाई सम्बन्धित सरोकारवाला निकायहरुले यथासिघ्र खोजतलास गरी उनीहरुले पाउने सहयोग ब्यवस्था र अधिकार प्राप्त गराइयोस् । म कानुन पढेर अन्यायमा परेका सम्पूर्ण म जस्तै पीडामा परेका दाजुभाई तथा दिदीबहिनीहरुको पक्षमा वकालत गरी न्याय दिलाउन अग्रसर हुने प्रण गर्छु । पीडितलाई न्याय र अपराधीलाई दण्ड सजाय दिइयोस् । कानुन विषय पढेर उच्च आहोदामा पुग्ने मेरो सपना छ । मलाई असल ब्यक्ति बन्नु छ । सबैको साथ र सहयोग चाहिएको छ । अहिले म दुवैतर्फबाट असुरक्षित छु । मैले आमाकै विरुद्ध आवाज उठाउने प्रयास गरेको छु ।
जसका कारण म आफ्नै आमा मेनुका थापाबाट असुरक्षित छु । मेरो सुरक्षाको ग्यारेन्टीका लागि समेत म सरकारसमक्ष अपिल गर्छु । मेरा शुभचिन्तक जो जसले जहाँजहाँबाट सहयोग गर्नुभयो सवैलाई धन्यवाद । मलाई न्याय नमिलेसम्म तपाईको साथ र सहयोग चाहिन्छ । मेरो पीडालाई सँधैका लागि शान्त पार्ने, श्वास फेर्न र मलाई स्वतन्त्रताको साथ डरत्रास विना नै हिडडुल गर्ने बाताबरण बनाउन म अपिल गर्छु ।
भिडियाेकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।
प्रतिक्रिया