प्रचण्डका घरधनीलाई कारबाही गर्ने गृहमन्त्रीको संकेत, विप्लव माओवादी राज्यद्रोही र सिके राउत अतिवादी भएकाे अाराेप
काठमाडौं । समयमा काम नसक्ने निर्माण व्यवसायीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले आप्mनै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै घरधनीलाई पनि कारबाही गर्ने बताएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणको जिम्मा लिएर काममा ढिलासुस्ती गर्ने जो कसैलाई पनि कारावाही गरेरै छोड्ने दाबी गरेका हुन् ।
प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेकोको विषयमा सञ्चारकर्मीले सोधेका प्रश्नमा गृहमन्त्री थापाले भने–‘काममा ढिलासुस्ती गर्ने नेता, सांसद, नेताको घरधनी जो भएपनि छाडिदैन । जो सुकै होस्, चाहे घरधनी होस्, सभासद होस् वा ठूलै नेता किन नहोस् । कानुनको उल्लंघन गर्छ, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’
राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको उनले सुनाए । निर्णय गर्ने अधिकार सम्बन्धित मन्त्रालयको भएको भन्दै गृहमन्त्री बादलले त्यसलाई कार्यान्वयन गर्न आफ्नो मन्त्रालयले सहयोग मात्र गरेको बताए । प्रचण्डका घरधनी अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् ।
कार्यक्रममा गृहमन्त्री थापाले सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । सुन प्रकरणमा पहिले झैँ ठूला माछाहरु पक्राउ नपर्ने आशंका व्यक्त भइरहेका वेला थापाले साढे ३३ केजी सुन गायब प्रकरणबाट सुरु भएको अनुसन्धान ठूला माछाको नजिक पुगेको दाबी गरेका हुन् ।
गृहमन्त्री थापाले मंगलबार पनि गोरेका एक सहयोगी पक्राउ परेको भन्दै माछा मार्ने क्रम जारी रहेको बताएका छन् । उनले भने–‘हिजो पनि एउटा माछा परेको छ । माछा मार्ने क्रम जारी छ । सुरुमा भुरा माछाहरु समातिए । त्यसपछि मझौला समातिएका छन् । माछा मार्ने क्रम जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’
कार्यक्रममा गृहमन्त्री थापाले पूर्वसहकर्मी विप्लव माओवादीलाई राज्यद्रोही शक्तिको संज्ञा दिएका छन् भने सीके राउतहरुलाई अतिवादी र हिन्दु धर्म पक्षधरलाई व्यवस्था विरोधी शक्तिको आरोप लगाएका छन् । उनीहरुलाई राजनीतिको मुलधारमा ल्याउने प्रयास भइरहेको पनि उनले बताए ।
प्रतिक्रिया