टानको महाधिवेशन शुरु, कसले मार्ला बाजी ?

काठमाडौं  : पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सि एसोसिएसन नेपाल (टान) को महाधिवेशन राजधानीमा सुरु भएको छ । आइतबार बिहान पर्यटन सचिव महेश्वर न्यौपानेले हायात होटलमा महाधिवेशनको उदघाटन गरेका हुन् । एक दिन चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णयहरु गर्नेछ । टानकाका अनुसार ८ पदाधिकारी र ९ सदस्यसहित कूल १७ पदका लागि आज निर्वाचन हुँदैछ । नेतृत्व हत्याउनका लागि वाम र लोकतान्त्रिक समूह आ–आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् । वाम गठबन्धनको तर्फबाट नवराज दाहाल अध्यक्षका उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक समूहले मोहन लम्साललाई अघि सारेको छ । वाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषि नेपाल, महासचिवमा आङपेम्बा शेर्पा र सचिवमा सुजन लामिछाने रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह–कोषाध्यक्षमा तारा रानाको उमेदवारी परेको छ । मोहन लम्सालको नेतृत्वमा चुनावी मैदानमा होमिएको प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, महासचिवमा सेवन देवकोटा, सचिवमा सुरेन्द्रबहादुर कार्कीको उम्मेदवारी परेको छ । यस्तै, कोषाध्यक्षमा सुवास केसी र सह–कोषाध्यक्षमा किरण धरेलले उम्मेदवारी दर्ता गराएका छन् । दुबै समूह बलियो देखिएकाले कसले बाजी मार्ने भन्नेमा व्यवासयीहरुले नै अड्कल मार्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित