गाउँ–गाउँमा इन्टरनेट सेवा विस्तार गर्छौं

harihar bhadari

    २१ औं शताब्दी भनेको इन्टरनेटको जमाना हो । अहिलेको अवस्थालाई हेर्ने हो भने इन्टरनेट विनाका जीवन असम्भवप्रायः छ । इन्टरनेट के हो र कसरी हाम्रो घरसम्म इन्टरनेटको पहुँच पुगेको छ भन्ने बारेमा चाहिं सबैलाई जानकारी नहुन सक्छ । विगत १९ वर्षदेखि काठमाडौंको दरबारमार्गमा कार्यालय स्थापना गरी इन्टरनेट सेवा प्रदायक संस्थाको रुपमा काम गर्दै आएको हिमालयन अनलाइन सर्भिसेज प्रालि (हन्स) ले ग्राहक सन्तुष्टिलाई प्रधान लक्ष्य बनाई काम गर्दै आइरहेको छ । समय सापेक्ष रुपमा आफ्नो सेवाको गुणस्तर र प्रविधिलाई परिवर्तन गर्दै आएको यस संस्थाले वर्तमान अवस्थासम्म आइपुग्दा तुलनात्मक रुपमा अन्य सेवा प्रदायक संस्था भन्दा आफूलाई अब्बल सेवा प्रदायकको रुपमा स्थापित गर्न सफल भएको छ ।
हन्सको स्थापना कालदेखि नै आवद्ध रही हाल कार्यकारी प्रमुखको रुपमा कार्यरत हरिहर भण्डारीले संस्थालाई कुशल नेतृत्व प्रदान गर्दै आउनु भएको छ । बाल्यकाल देखि नै सामाजिक सेवा गर्न रुचाउने युवा उद्यमी भण्डारीले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहलाई शिक्षा दिक्षा प्रदान गर्ने देखि रेडक्रस जस्ता समाजिक क्षेत्रमा काम गर्ने संस्थाहरुमा आवद्ध रहेर सामाजिक सेवा समेत गर्दै आउनु भएको छ । हन्समा रहेर एक सय जना भन्दा बढिलाई रोजगारी प्रदान गर्दै आउनु भएका भण्डारीको बाल्यकाल भने कठिन नै थियो । पढाई भन्दा पनि व्यापारमा बढि रुची राख्ने भण्डारी विद्यार्थीकाल देखि नै व्यापारमा आवद्ध हुुनुहुन्थ्यो । पढाई भन्दा पनि भोगाइ महत्वपूर्ण कुरा भएको उहँको बुझाई छ । जीवन संघर्षका विभिन्न अध्यायहरु भोग्नु भएका भण्डारी जहिले पनि पोजेटिभ सोचेर अगाडि बढ्नुपर्ने बताउनु हुन्छ ।
कसैको प्रेरणको स्रोत बन्न सक्ने गरी काम गर्नु पर्ने उहाँ बताउनु हुन्छ । ‘राम्रो गरे राम्रो हुन्छ’ भन्ने मान्यता बोकेर अगाडि बढ्नु भएका भण्डारीसँग हन्सको अवस्था, विशेषता, हन्सले गर्ने काम, दिने सेवा र सुविधा, भावि योजना, इन्टरनेट सेवामा देखिएका चुनौती र उहाँले गर्नु भएको सामाजिक कामहरुका बारेमा mynewsnepalका लागि कुमार भण्डारीले गरेको कुराकानी ः

० हिमालयन अनलाईन सर्भिस (हन्स) कस्तो संस्था हो ?

– हन्स इन्टरनेट सेवा प्रदायक कम्पनी हो । आजभन्दा १९ वर्ष अघि यसको स्थापना भएको हो । हामीले बैंक, अस्पताल तथा अन्य विभिन्न कार्यालयहरुलगायतमा इन्टरनेट सेवा र सुविधा प्रदान गर्दै आइरहेका छौं । शुरुमा सात जना कर्मचारीबाट शुरु गरिएको यस संस्थामा अहिले एक सय भन्दा बढि कर्मचारीहरु आवद्ध हुनुहुन्छ ।

० इन्टरनेट सेवा प्रदायक संस्था सञ्चालन गरिरहँदा कस्तो महसुस भइरहेको छ ?
– अहिले भनेको इन्टरनेटकै जमाना हो । प्रत्येक व्यक्ति/व्यक्तिलाई इन्टरनेटको आवश्यकता भइरहेको छ । इन्टरनेट माध्यमकै कारण संसार नै एउटा गाउँ जस्तो बनेको अवस्था छ । यसरी धेरै भन्दा धेरैलाई इन्टरनेट सेवा प्रदान गरेर सेवा गर्न पाउँदै एकदमै आनन्द अनुभुति भइरहेको छ ।

० हन्सले कसरी इन्टरनेट सेवा प्रदान गरिरहेको छ त ?
– हामीले ग्राहकहरुलाई तार र वायरलेस माध्यमबाट उहाँहरुले रोजे अनुसारको सेवा प्रदान गरिरहेका छौं । हामीसँग एउटा साधरण घरमा चाहिने देखि ठूला ठूला कर्पोरेट हाउसहरुमा आवश्यक पर्ने खालका विभिन्न इन्टरनेटका प्याकेजहरु छन् । हामीले सेवाग्राहीहरुको आवश्यकता महसुस गरेर उहाँहरुलाई आवश्यक परेको इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छौं । त्यतिमात्र होइन हामीले आप्mना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी आईपीटिभीको सेवा पनि प्रदान गरिरहेका छौं ।

० हन्सले शाखा पनि विस्तार गरिरहेको छ नि ?
– हो, हामी शाखा विस्तारमा लागिरहेका छौं । राजधानी केन्द्रित नभई राजधानी बाहिर पनि सेवा विस्तार भइरहेको अवस्थामा स्थानीय स्तरमा शाखा विस्तार हुँदा त्यहाँ काम गर्न सजिलो हुने भएकाले शाखा विस्तार गरिरहेका छौं । भर्खरै हामीले जलेश्वरमा शाखा विस्तार ग¥यौं । त्यसैगरी हामीले काठमाडौंको बल्खु र कौशलटारम पनि शाखा विस्तार गरेका छौं ।

० अझै पनि कतिपय नेपाली इन्टरनेट सेवाको पहुँच बाहिर छन्, उनीहरुलाई सेवा दिन के गर्नुपर्ला ?
– सबैभन्दा पहिलो कुरो त भौतिक पूर्वाधार विना हामीले उहाँहरुलाई इन्टरनेट सेवा प्रदान गर्न सक्ने अवस्था नै छैन । त्यसमा जनसंख्या पनि जोडिन आउँछ । इन्टरनेट सेवा प्रदान गर्नका लागि यातायात, विजुली बत्तिलगायतको सुविधा आवश्यक पर्छ । तर, हामीले ग्राहकको अवश्यकतालाई मध्यनजर गरी एउटै घरमा मात्रै पनि इन्टरनेट सेवा प्रदान गरिरहेका छौं, जुन हाम्रो लागि धेरै कठिनको विषय थियो । रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाका गाउँको एउटा मात्रै युजरका लागि पनि हामीले सेवा प्रदान गरिरहेका छौं । हामी गाउँ–गाउँमा इन्टरनेट पु¥याउने उद्देश्यका साथ अहिले अनुसन्धान गरिरहेका छौं । हामीले चाइनिज रेलवे कम्पनीको लागि काम गरिरहेको संस्थामा एउटै युजरका लागि पनि इन्टरनेट सेवा प्रदान गरिरहेका छौं । मैले भन्न खोजेको के हो भने हामी सेवाग्राहिको आवश्यकता अनुसार काम गर्छौं र गरिरहेका छौं ।

० इन्टरनेट सेवामा बेला–बेलामा समस्या आइरहन्छन् नि किन हो ?
– इन्टरनेटमा समस्या आउनुमा धेरै कारणहरु हुनसक्छन् । तर, मुख्यतय तीन वटा कारण हुन् जस्तो लाग्छ मलाई । पहिलो सर्वर र पावर, दोस्रो नेटवर्किङ र तेस्रो भनेको डिभाइस नै हो । यसको मुख्य कारण भनेको यस्ता विषयमा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफ्ना सेवाग्राहीहरुलाई यस्ता विषयमा शिक्षा दिन नसक्नु र ग्राहकहरुले पनि आफूले बुझ्न नखोज्दा यस्ता समस्याहरु देखा परेका हुन् । सानो–सानो समस्यामा पनि संस्थाकै प्रवलम भन्दै सेवाग्राहीले संस्थाकै प्रतिनिधिलाई कुरेरै बस्ने प्रवित्तिका कारण पनि समस्या झन बढेका छन् ।

० इन्टरनेट सेवा प्रदायक संस्थाहरुले भनेजति स्पिड सेवाग्राहिलाई दिंदैनन् भन्ने पनि सुनिन्छ नि ?
– त्यो विल्कुलै गलत हो । हामीले भने अनुसारकै स्पिड प्रदान गर्ने हो । ५ एमबीपीएस भन्ने वित्तिकै हामीले त्यतिनै स्पिड प्रदान गरिरहेका हुन्छौं । यो विषयमा म आफै साइटमा गएर पनि समस्याको समाधान गर्न खोजेको छु । कार्यालयमा बसेरै दिन विताउने मेरो बानी छैन । मैले पनि यो विषयमा सुनेको छु र समस्या समाधान पनि गरिदिएको छु । ग्राहकवर्गले बुझ्नु पर्ने के हो भने आफूले चलाईरकेको इन्टरनेट कुन प्रकारको सेयरवेसको हो ?, व्याण्डवीथको संख्या कति छ ?, इन्टरनेशनल व्याण्डवीथको समस्या कति छ ? अर्कोकुरा व्याण्डवीथ कम हुनुमा तपाईले इन्टरनेट प्रयोग गर्दै गर्दा अन्य डिभाइसहरु (जस्तैःमोवाइल,कम्प्युटर) लगायतले कन्ज्युम गर्ने व्याण्डवीथलाई पनि ध्यान दिनु पर्छ । त्यसरी अन्य डिभाइसहरुले केही व्याण्डवीथ कन्ज्युम गर्दा केही हदसम्म कम देखिए पनि हामीले प्रदान गर्ने स्पिड भने भने अनुसारको नै हुन्छ ।

० आइएसपी कम्पनीहरु कल वाइपास गरेको विषयमा विवादमा आइरहन्छन् नि ?
– कल वाइपासको विषय अलि फरक विषय हो जस्तो लाग्छ मलाई । अहिले भनेको इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका संस्थाहरुलाई देखाएर त्यसका मूख्य भूमिका निभाउनेहरु उम्किरहेको अवस्था छ । नेपाल सरकारसँग स्वीकृति लिएर हामीले व्याण्डवीथ बेचिरहेका छौं । व्याण्डवीथ बेचेकै भरमा कल वाइपास ग¥यो भन्न मिल्छ ? कल वाइपासका लागि अत्यावश्यक पर्ने भनेको सिमकार्ड हो । एउटै व्यक्तिले एक सय भन्दा बढी सिम प्रयोग गर्दा चाहिं त्यहाँ मोनिटरिङ गर्ने नसक्ने अनि इन्टरनेट बेच्ने संस्थामाथि चाहिं किन यति ठूलो आरोप ?
यहाँ म एउट उदाहरण दिन चाहन्छु । प्रेसर कुकरलाई प्रयोग गरी कसैले बम बनाउँछ र त्यसलाई गलत रुपमा प्रयोग गर्छ भने त्यो प्रेसर कुकर बनाउने कम्पनीको दोष हो र ? यहाँ हामीलाई पनि यस्तै आरोप लगाइरहेका छन् । दोषी हामी होइन तर, हामी मात्र आरोप खेप्न बाध्य छौं । यसको निष्पक्ष छानविन हुने हो भने आईएसपी कम्पनी दोषी देखिने ठाउँ नै छैन ।

० हन्सका विशेषताहरु के–के हुन् ?
– हन्स आफैमा युवाहरुबाट सञ्चालित संस्था हो । जसमा जोश र जाँगर पनि उत्तिकै छ । हामीले प्रदान गर्ने सेवा र सुविधामा कुनै पनि कमी हुन दिएका छैनौं । स्थापनाको छोटो समयमा नै हामी ठूला आइएसपी कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेका छौं । अन्य आइएसपी कम्पनीले प्रदान गर्ने सेवा भन्दा हामीले दिने सेवा र सुविधा अलि पृथक भएका कारण नै हामी प्रतिस्पर्धामा जान सफल भएका हौं । हामीले दिने सर्भिस छिटो, छरितो र भरपर्दो छ, जुन सेवाग्राहिहरुले पनि बुझ्नै भएको होला ।

० हन्सको भावि योजनाहरु के–के छन् ?
– अबको हाम्रो मुख्य योजना भनेको जहाँ इन्टरनेटको पहुँच नै छैन, त्याहाँ शाखा विस्तार गरेर इन्टरनेट सेवा गाउँ÷गाउँमा पु¥याउनु नै हो । अहिले चाहिं हामीले त्यस्ता स्थानहरुमा पुगेर अनुसन्धान गरिरहेका छौं । हुनत मैले अघि पनि भने एउटै युजरका लागि पनि हामी गाउँमा पुगेका छौं । अब अझै विस्तार गर्ने योजनामा छौं । आगामी वर्ष हामीले कम्तिमा पनि आठ स्थानमा शाखा विस्तार गर्ने योजना बनाएका छौं ।

० तपाई सामाजिक सेवामा पनि क्रियाशिल भएर लागि रहनु भएको छ है ?
– हो, म सामाजिक सेवा पनि क्रियाशिल छु । मेरो सोचाइ कस्तो छ भने ‘राम्रो गरे राम्रो हुन्छ ।’ त्यसैले पनि म सबैको भलो नै होस् भन्ने चाहन्छु । बाल्यकाल देखि नै म सामाजिक क्रियाकलामा रुची राख्थे । म रेडक्रस भक्तपुरको बालकोट उपशाखाको सल्लाहकारको रुपमा आवद्ध भएर काम गरिरहेको छु । हामीले भक्तपुरमा रेडक्रसको नमुना विल्डिङ बनाएका छौं । त्यो चाहिं भक्तपुरकै नमुना पनि हो । त्यसमा पनि आर्थिक कमिटिको संयोजकको रुपमा रहेर मैले काम सम्पन्न गराएको हँु । म बौद्धिक समाज नेपालमा पनि कार्यरत छु । सरकारलाई आवश्यक सल्लाह र सुझाव प्रदान गर्दै आइरको बौद्धिक स्रोत परिचालन केन्द्रमा पनि आवद्ध भएर काम गरिरहेको छु । त्यसैगरी युथहरुलाई प्रोत्साहन गर्ने विषयमा पनि मैले समय खर्चेको छु । सँगसँगै रोजगारीको सृजना गर्ने काम पनि गरिरहेको छु । जसले गर्दा थोरै व्यक्तिलाई भए पनि रोजगारी प्रदान गरिरहेको छु । र, मैले आर्थिक अवस्था कमजोर भएका केही बालबालिकाहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट रकम खर्चेर अध्ययन गर्ने वातावरणको पनि सिर्जना गरेको छु ।

० अन्त्यमा, हन्समा कार्यरत कर्मचारी र सेवाग्राहीहरुलाई के भन्न चाहनु हुन्छ ?
– मैले अघि पनि भने राम्रो गरे राम्रो हुन्छ । सोच छ र जाँगर छ भने कुनै पनि खुट्कीलो पार गर्न सकिन्छ । तर, आफूसँग लगनशिलता र धैर्य भने हुनुपर्छ । संसारमा असम्भव भन्ने कुरै छैन जस्तो भइसकेको छ । गर्न कोशिष गर्ने हो भने हरेक कुरा सम्भव छन् । सफलताको सिंढी चुम्न धेरै समय लाग्दैन । तर, सधैं पोजेटिभ नै भएर काम गर्नु पर्छ । म ग्राहक महानुभावहरुलाई के भन्न चाहन्छु भने हाम्रो पहिलो प्राथमिकता भनेको सेवाग्राहिलाई गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्नु नै हो । त्यसैले हामीले दिने सेवा र सुविधामा कुनै पनि कमी हुन दिने छैंनौं । जसरी अहिले सेवा प्रदान गरिरहेका छौं, त्यसलाई अझै विश्वाशिलो र भरपर्दो बनाउन हामी क्रियाशिल भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । र अर्को कुरा जसले हाम्रो सेवा लिनु भएको छैन उहाँहरुलाई एक पटक हामीलाई पनि सेवा गर्ने अवसर प्रदान गरिदिनु हुन अनुरोध गर्न चाहन्छु । हामीले हाम्रो कार्यालयलाई एउटा पारिवारिक वातावरणमा सञ्चालन गरिरहेका छौं भने सेवाग्राहीहरुलाई पनि पारिवारिक वातावरणमा नै सेवा प्रदान गर्ने अवसर दिनुहुनेछ भन्ने चाहन्छौं ।

प्रतिक्रिया

सम्बन्धित