प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण : परराष्ट्रमन्त्री ज्ञवाली

olichina_1

 हरि लामिछाने/ चीन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताएका छन् ।

भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध भएका पछिल्लो राजनीतिक परिवर्तनलाई चीनले खुलेर प्रशंसा गरेको बताए ।

प्रधानमन्त्रीले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्न चीनको सदा साथ रहने बलियो विश्वास चिनियाँ नेतृत्वले प्रकट गरेको भन्दै उहाँले पारस्परिक हितका सम्बन्धमा खुलेर छलफल भएको उल्लेख गरे ।

सम्झौताभन्दा पनि मित्रता महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री ज्ञवालीले त्यस अर्थमा भ्रमण निकै महत्वपूर्ण रहेको निष्कर्ष निकालेको बताए । नेपालले प्राथमिकतामा राखेको योजनामा साथ र सहयोग दिने विश्वसनीय आधार दिएको बताउँदै उनले भने, ‘यस भ्रमणबाट हामी सन्तुष्ट छौँ, खुशी छौँ ।’

चीनसँग भएका सम्झौता र संयुक्त प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री ज्ञवालीले समझदारीपत्रमा भएका हस्ताक्षर निकै महत्वपूर्ण भएको चर्चा गरे । यसपटक नेपाल सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेको विषय ट्रान्सहिमालयन बहुआयामिक यातायात सञ्चालनभित्र जोडिनुपर्छ र त्यसभित्र रेलमार्ग, सडक, हवाई क्षेत्र, अन्तरदेशीय प्रसारण उच्च प्राथमिकतामा हुन्छन् भनेर नेपालले पहिल्याएको र चीनले पनि सोहीरुपमा सहयोग गर्ने विश्वसनीय प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए ।

चिनियाँ पक्षबाट आफूले पाएको जानकारीअनुसार आउने अगष्टसम्म रेलको सम्भाव्यता अध्ययन सकिने बताउँदै मन्त्री ज्ञवालीले भौगर्भिक अवस्थाका कारण थप अध्ययन आवश्यक रहेको जानकारी दिए । उनले नेपाल रेलमार्गसँग जोडिने विषयमा कुनै शंका नगर्न आग्रहसमेत गरे ।

नेपाल र चीनबीचमा विभिन्न तहको स्थायी संयन्त्र बन्ने र त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई नियमितरुपमा समीक्षा गर्ने बताउँदै मन्त्री ज्ञवालीले यस संयन्त्रले सहयोगका नयाँ क्षेत्रको अन्वेषणसमेत गर्ने बताए । उनले दुई देशबीचमा भएका सम्झौता र कार्यान्वयनका लागि आवश्यक वातावरण मिलाउने र समस्या आए सुल्झाउने उल्लेख गरे ।

परराष्ट्र मन्त्रालयस्तरको तीन तहको नियमित संवादको समेत अर्को समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिँदै उनले अबका दिनमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र सहसचिव तथा महानिर्देशक तहमा नियमित संवाद हुने बताए ।

यस्ता संयन्त्रले नेपाल–चीनका समग्र पक्षआई आवधिकरुपमा छलफल गरेर अगाडि बढाएर लैजाने बताउँदै उनले विकास निर्माणका तहमा परराष्ट्र सचिव र चिनियाँ राजदूतबीचको संयन्त्रले स्थायीरुपमा नै काम गर्ने बताए । मन्त्री ज्ञवालीले दुई देशबीचको संयन्त्र निकै प्रभावकारी रहेको दाबीसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित