गौचनका हत्यारा खोज्न प्रहरी टोली दिल्लीमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्या प्रकरणमा आधा दर्जन प्रहरीको भिन्ना–भिन्नै टोली अनुसन्धानमा जुटेपनि घटनाका बारेमा अहिलेसम्म प्रहरीले खासै उपलब्धि हासिल गर्न सकेको छैन । प्रहरीले अनुसन्धान भइरहेको भन्ने तर्क बाहेक केही प्रगति विवरण बाहिर ल्याउन सकेको छैन । प्रहरी स्रोतका अनुसार केन्द्रिय अनुसन्धान ब्यूरो(सिआईवी) को अनुसन्धान टोलीका सदस्य घटनाका मुख्य अभियुक्त मानिएका मनोज पुन, समिरमानसिंह बस्नेत र लोप्साङ राईलाई खोज्न दिल्ली पुगेको छ भने डिआईजी गणेश केसीको छानविन समितिले पनि आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ । त्यसैगरी प्रहरीको विशेष ब्यूरो र महानगरिय प्रहरी कार्यालयको टोलीले पनि आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ ।

 गौचनको प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का मित समिरबानसिंह बस्नेत र मनोज पुनको योजना मुताबिक हत्या गरिएको हुन सक्ने तर्फ प्रहरीको अनुसन्धान मोडिएको छ । एक महिना अगाडि दश अर्बको हुलाकी राजमार्गको टेण्डर चिनिया कम्पनीलाई दिलाएका गौचनमाथि त्यतिबेला देखि नै बस्नेतको समूहले करोडौं रकम माग गरेको थियो । उक्त टेण्डर मिलाए वापत गौचनको समूहले महासंघको नाममा ५० करोड कमिशन लिएको स्रोतको भनाई छ । सोही रकमको भागवण्डा नमिलेपछि ठेकेदारकै सूचनाका आधारमा गौचनमाथि आक्रमण भएको स्रोतको दावी छ ।

 महासंघ स्रोतका अनुसार भागबण्डामा नपरेका ठेकदार सन्तोष गौतमले गुण्डा नाईके बस्नेतको प्रयोग गरेर बिगत एक महिना देखि गौचनलाई तीन करोडको अफर गरेका थिए । तर, गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरिएको एक ठेकदारले बताए । गौचनको हत्या पश्चात बस्नेतले आफू निकट लोप्साङ राई भन्ने लोप्साङ शेर्पालाई घटनाको जिम्मा लिन लगाएको हुन् । प्रहरी इन्काउन्टरमा मारिएका घैंटेका पार्टनरका रुपमा चिनिने हेटौंडाका सन्तोष गौतमले गुण्डाका नाईकेलाई सहयोग र दुरुपयोग गर्दै आएका छन् । हेटौडाबाट काठमाडौं छिर्दा आर्थिक स्रोत जुटाउन धौं–धौं परेका गौतमले घैंटेलाई प्रयोग गरेर मात्र १० करोडको हाराहारीमा सम्पत्ति जोडेका छन् । सिन्धुलीका एक ठेकेदारमार्फत घैंटेसम्म सम्बन्ध विस्तार गरी गजुरमुखी कम्पनीको नाममा रकम असुल्दै आएका गौतमले बस्नेतलाई सहयोग गरी दुरुपयोग समेत गर्दै आएको महासंघ स्रोत बताउँछ ।

  बाफल, स्वयम्भू र कलंकी क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका बस्नेत घैंटेको इन्काउन्टर भए लगत्तै भारतको नयाँ दिल्लीमै बसेर नेपाली व्यवसायीबाट रकम असुली गर्दै आएका छन् । रुपेन्देही युवासंघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा जोडिएका बस्नेतलाई गौतमले प्रहरीसँग निकट भई बस्नेतविरुद्ध प्रहरीले गरेको अप्रेशनको सूचनासम्म चुहाउने गरेको स्रोतको दाबी छ । तिवारीको हत्या पछि पुन भारतमा लुकेर बसेकै बेला बस्नेतसँग चिनजान हुन पुगेको थियो । पछि यि दुई समूहले संयुक्त रुपमा नेपाली व्यवसायीबाट रकम असुल्दै आइरहेका छन् । ठेकेदार गौतम, अपराध महाशाखा र सिआईवीका केही प्रहरीबाटै सूचना लिक भएपछि बस्नेत भूमिगत बनेको प्रहरी स्रोत बताउँछ । त्यसो त, गौतमको केही प्रहरी अधिकारीहरुसँग राम्रो सम्बन्ध रहेको छ ।

 गौतम केही समय अगाडि अपराध महाशाखाका तत्कालिन एसएसपी दिनेश अमात्य र काठमाडौं परिसरका तत्कालिन प्रमुख छविलाल जोशीसँग निकट हुन पुगेका थिए । गौतमको त्यतिबेला अमात्य र जोशीसँगको उठबसलाई कतिपय प्रहरीहरुले रहस्यमय मानेका थिए । स्रोतका अनुसार अमात्यलाई प्रयोग गरि गौतमले घैटेको फसेको केही पैसा समेत उठाउन सफल भएका थिए । प्रहरी स्रोत भन्छ–‘गौतम उनै व्यक्ति हुन, जस्को घैटेको लगानी रहेको गजुरमुखी कम्पनीमा शेयर छ भने उनले निर्माणका टेन्डरको रकम गौचनसँग लिएर गुण्डा र प्रहरीलाई छुट्त्याउन लगाइ भागवन्डा गर्दै आएका थिए ।’ गौतमको गोली काण्डमा संलग्नता छ वा छैन भन्ने बारेमा प्रहरी टोलीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।

  घैंटेको करोडौं रकम उनीसँग भएको भन्दै अपराध महाशाखाका तत्कालिन प्रमुख सर्वेन्द्र खनालले उनीमाथि निगरानी राखेका थिए । घैंटेको श्रीमती पिङ्की शेर्पाले समेत गौतमसँग करोडौं रुपैयाँ भएको दाबी गर्दै आएकी छिन् । तर, गौतमले भने चिनजान भएको तर कुनै व्यवसायीक साझेदारी नभएको दाबी गर्ने गरेका छन् । गजुरमुखी निमार्ण सेवाको शेयर होल्डर समेत रहेका गौतमले कुनै ताका टेण्डर कब्जा गर्नकै लागि घैंटेलाई आफ्नो कम्पनीमा भित्र्याएका थिए । बस्नेतको समूहले घैंटे इन्काउन्टरमा संलग्न केही प्रहरी अधिकारीमाथि नै आक्रमण गर्ने योजना बनाएको खुलेपछि यतिखेर अपराध महाशाखाले बस्नेत समूहका क्रियाकलापमाथि गोप्य रुपमा निगरानी थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित