संस्कार र सस्कृति मास्न खोज्दै कम्युनिष्ट सरकार : उपकुलपति कोइराला

kul prasad koirala

   काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधिलाई जस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिएको बताएका छन् ।
क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आज आईतबार पत्रकार सम्मेलन गर्दै उनले भने–‘वर्तमान सरकार सर्वसत्तावादको चगुंलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको छ ।’ कम्युनिष्टले संस्कार र सस्कृति मास्न लागेको भन्दै भने–‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाईएन ।’

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदा पनि आफू क्यानडामा हुन लागेकै जस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले भने,‘चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ, त्यही प्रक्रिया र नियम अहिलेपनि पालना गरेको थिएँ, मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ, तर त्यस विषयमा कुनै जानकारी नगराईकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधिलाई जस्तो पक्राउ गरियो, यो खेदजनक छ, यो अपमान मप्रति मात्रै नभएर सिँगो प्राज्ञिक जगतमाथिको अपमान हो ।’
उनले अघि थपे,‘यो पटक मैले त्यही विधि र प्रकिया अपनाएर विदाको निवेदन दिएको शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ, तर, किन रोकियो ? मेरो विदाको निवेदनको फाइल किन लुकाइयो । सरकारको यो गैरजिम्मेवार कार्यबाट मेरो मात्र होइन अन्र्तराष्ट्रिय फोरममा समेत नेपालको बेईज्जती भयो ।’

यो घट्नाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपालको सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाई छ । उनले भने,‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिईँन्, हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ ।’

प्रतिक्रिया

सम्बन्धित