भारी वर्षाका कारण आएको बाढी र पहिरोमा १०० को मृत्यु, ५० बढी वेपत्ता

japan

  काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी वेपत्ता छन् । जापान सरकारले १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आब्हान गरिसकेको जापानको क्योडो समाचार एजेन्सीले जनाएको छ ।

क्योडोका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको प्रिफेक्चरमा भएको छ । सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । प्रधानमन्त्री सिन्जो आबेले भनेका छन्–‘उद्धारकर्मीहरुले समयको सामना गरिरहेका छन् । धेरै व्यक्ति हराइरहेका छन् र धेरैलाई सहायता चाहिएको छ ।’

गत विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।

हिरोसिमाभन्दा तीन सय किलोमिटर टाढा पर्ने क्योटो शहरमा पनि मुसलधारे वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीले बीबीसीसँग भनेका छन्–‘हामीले यस्तो खालको वर्षा अहिलेसम्म थाहा पाएका थिएनौं ।’

प्रतिक्रिया

सम्बन्धित