शेखरलाई प्रभावमा पारेर टिकट लिने दाउमा 'मोस्ट वान्टेड'

काठमाडौं । नक्कली डाक्टरको अभियोगमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) को खोजी सूचिमा रहेका नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा कांग्रेस नेता डा. शेखर कोइरालालाई भ्रममा पारी कांग्रेसबाट निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता पाएको दुई बर्ष मात्र भएको अवस्थामा शर्मा डा. शेखर कोइराला र कोइराला परिवारका सदस्यहरु पार्टी महामन्त्री डा. शसांक कोइराला, नेतृ सुजाता कोइराला, कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्वुलाई समेत आर्थिक प्रलोभनमा पारेर टिकट लिने दाउमा छन् । माओवादी केन्द्रका प्रभावशाली नेता बर्षामान पुनलाई समेत आर्थिक प्रलोभनमा पारेर सँधै प्रहरीको नजरबाट बच्दै आएका शर्माले मोरङ कांग्रेसका नेताहरुलाई आर्थिक सहयोग दिएको भन्दै मोरङ क्षेत्र नम्वर तीनबाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेरै छाड्ने हँुकार गरेका छन् । मोरङको तीन नम्वर क्षेत्रबाट आफूले टिकट पाए चुनाव जितेर देखाउने भन्दै उनले मोरङ कांग्रेसका नेता र कोइराला परिवारका सदस्यहरुलाई मोटो रकम सहयोग गरेको दाबी गर्दै आएका छन् । स्थानीय निर्वाचनमा समेत केरावारी गाउँपालिका र त्यस अन्तरगतका वडामा शर्माले कांग्रेसलाई भन्दा बढी माओवादीलाई सहयोग गरेका थिए । शर्माले डा. शेखरलाई निर्वाचन जिताउन ५० लाख रुपैयाँ सहयोग गरेको भन्दै सार्वजनिक रुपमै प्रचार गर्दै हिँडेका छन् । शर्माले कोइराला परिवारका सदस्य र मोरङ कांग्रेसका सबै नेतालाई आर्थिक प्रलोभनमा पारेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष समेत गुनासो पुगेको छ ।

   देउवाले आफ्नो गुटको एक नम्वर प्रदेश हेर्ने ज्ञानेन्द्रबहादुर कार्कीलाई त्यो बिषयमा बुझ्न भनेर जिम्मेवारी दिए पनि मोरङ कांग्रेस सभापति डीकबहादुर लिम्वु आफ्नै गुटको भएपनि असयोग गरेको भनि टिप्पणी गरेका छन् । सभापति देउवा समक्ष संसदीय वोर्डका सदस्य खुमबहादुर खड्का र पूर्णबहादुर खड्काले समेत सुनिल शर्माको नाममा समर्थन नजनाउन सभापति देउवालाई सुझाएका छन् । शर्माले प्रहरीको कारबाहीबाट बच्न गत बर्ष कांग्रेस महामन्त्री डा. सशांक कोइरालालाई संयुक्त राज्य अमेरिका घुमाउन लगेका थिए । महामन्त्री कोइरालासँग अमेरिका घुमेको फोटोहरु उनले फेसबुकमा हालेका थिए ।

  उनले सुजाता कोइरालादेखि सशांक कोइरालालाई समेत आर्थिक सहयोग गरेकाले आफ्नो टिकट कसैले पनि फुत्काउन नसक्ने भन्दै कांग्रेसी नेताहरुलाई थर्काउन थालेका छन् । शर्माले कांग्रेसका संसदीय समितिका सबैजसो सदस्यलाई भेटेर आर्थिक सहयोग प्रदान गर्ने भन्दै आश्वानको पोको बाँडेका छन् । उनले केही नेतालाई एक लाख थमाउँदै ५० लाख सहयोग गर्ने वाचा गरेको पनि स्रोतको दावी छ । शर्माले सञ्चालन गरेको बिराटनगर मेडिकल कलेजमा कांग्रेस नेता डा. शेखर कोइराला र माओवादी नेता बर्षमान पुनको ३०/३० प्रतिशत शेयर छ भने शर्मा र उनको समूहको ४० प्रतिशत शेयर रहेको छ ।

  शर्माको मात्र भने १० प्रतिशत शेयर रहेको बिराटनगरका उद्योगी व्यवसायीहरु बताउँछन् । प्रहरीको आँखा छल्दै उनले डा. शेखरको इसारामा अन्य कांग्रेस नेतालाई भेट्ने गरेको भन्दै मोरङका पुराना र भुक्तभोगी कांग्रेसीहरुले दुखेसो गरेका छन् । लामो विवाद र बहसपछि सञ्चालनमा आएको विराटनगरको नोबेल मेडिकल कलेज सँधै बिबादमा आउने गर्छ । सो कलेज अहिले आएर फेरि सरकारलाई बुझाउने राजस्वमा गरेको अनियमितताले गर्दा विवादमा परेको छ ।

  तत्कालीन नोबेल मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र गिरीको अपहरणपछि एकलौटी सञ्चालक बनेका नोबेल मेडिकल कलेजका शर्मा पैसाको लागि जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने पछिल्लो घटनाले प्रमाणित गरेको छ । शर्माले आफ्नै मेडिकल कलेजका प्रशासन प्रमुखमा कार्यरत नारायण दाहाललाई साथमा लिएर करोडौं राजस्व खेलबाड गरेको घटना सार्वजनिक भएको छ ।

  आर्थिक वर्ष ०७१/०७२ देखि आन्तरिक राजस्व कार्यालयलाई बुझाउनुपर्ने आयकर तथा घर बहाल कर नतिरेका कारण विवादमा तानिएको नोबेल मेडिकल कलेजलाई अन्ततः आन्तरिक राजस्व कार्यालयले छ करोड राजस्व जरिवाना गरेपछि विवाद मिलेको थियो । अहिले आएर अस्पतालले चलाएको मेडिकल फार्मेसीबाट ५० करोडभन्दा बढी रकम राजश्व बुझाउनु पर्ने देखिएपछि नोबेलको राजस्व ठगी प्रकरण फेरि खुल्न पुगेको हो ।नोबेल मेडिकल कलेजमा सञ्चालनमा रहेको मेडिकेम फार्मेसी र वेलकेयर फार्मेसीबाट मासिक करोडौं रकम असुल गर्दै आएको कलेजले राजस्व नबुझाएपछि यो घटना सर्वाजनिक भएको हो ।

  मेडिकल कलेजले सञ्चालनमा ल्याएको भनिएको मेडिकल फार्मेसीबाट बिक्री हुने सर्जिकल सामानमा सरकारले भ्याट लगाएको छ । तर, कलेजका सञ्चालक आफैले भ्याटबापतको रकम लिएपछि फार्मेसी सञ्चालकले भ्याटबापतको मासिक करोडौं रकम आन्तरिक राजस्व कार्यालयमा नबुझाएको स्रोतले बताएको छ ।

  नोबेल मेडिकल कलेजमा सञ्चालित मेडिकेम फार्मेसी कृतिनाथ शर्माले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ६०३१९६३४६ नम्बरको प्यान दर्ताबाट सञ्चालन गरेको देखिन आएको छ । वेलकेयर फार्मेसी उमेश तबदार र सुरेन्द्र प्रधानको नाममा दर्ता कायम रहेकोमा पछिल्लो समय अनिल चौधरीले सञ्चालन गर्दै ६०५६५२६७१ नम्बरको प्यान दर्ता कायम गरी अस्पताललाई चाहिने सर्जिकल सामानको सप्लाई गरेको स्रोतले बताएको छ ।

 मेडिकल कलेजमा दैनिक आश्यक पर्ने सर्जिकल सामानहरुमात्र पाँच लाखभन्दा बढी हुने गरेको स्रोतको दावी छ । दैनिक न्यूनतम पाँच लाखको दरले बिक्री हुँदा पनि उक्त मेडिकल फार्मेसीले मासिक एक करोड ५० लाखको सर्जिकल सामान अस्पताललाई सप्लाई दिने गरेको देखिन आउँछ ।

  उक्त सर्जिकल सामानको भ्याटबापत लाग्ने राजस्व मासिक १९ लाख ५० हजार नोबेलका सञ्चालकबाटै असुल हुने गरेको दाबी स्रोतले गरेको छ । मेडिकेम फार्मेसी कृतिनाथ शर्माको नाममा दर्ता कायम देखिए पनि अस्पतालको सबै फार्मेसी सप्लाईको जिम्मा झापा जिल्लाका अनिल चौधरी र वेलकेयर फार्मेसीले अस्पताल सञ्चालक सुनिल शर्मा र प्रशासन प्रमुख नारायण दाहालसँग सम्झौता गरेर सप्लाई दिएको रहस्य खुलेको छ । यसरी आन्तरिक राजस्व कार्यालयले भ्याटबापत असुल्ने फार्मेसीको वार्षिक दुई करोड ३४ लाख राजस्व नोबेल मेडिकल कलेजले विगत दुई वर्षदेखि दाखिला नगरेको दाबी स्रोतले गरेको छ ।

  यसरी सरकारको राजस्वमाथि समेत धावा बोल्ने सञ्चालक शर्मा र चौधरीलाई कारबाही गर्ने निकाय मौन रहेपछि अहिले अस्पताल सञ्चालकका बीच चर्चाको विषय बन्नपुगेको छ ।स्रोतका अनुसार सर्जिकल सामानको सप्लाई जिम्मा पाएका अनिल चौधरीले अस्पताललाई दिने सप्लाई र बिक्री गर्ने मूल्यमा पनि फरक मूल्य कायम गरेर औषधि बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।

  अस्पताललाई चाहिने क्यानुला, बेन्डेज, प्लाष्टर, शल्यक्रियामा प्रयोग हुने सामानहरु, धागो, ब्लेड, भ्यान्टिलेटरमा प्रयोग हुने सामानहरु, भ्यान्टिलेटर सर्किटजस्ता अति आवश्यकीय सामानको सप्लाई गर्दा पाँच प्रतिशत र औषधि सप्लाई गर्दा ३५ प्रतिशत कमिसन अस्पताल सञ्चालकहरुलाई बुझाउनुपर्ने बाध्यता रहेको दाबी पनि स्रोतले गरेको छ ।

 त्यसैगरी अस्पतालमा सञ्चालित औषधि व्यवसायी अनिल चौधरीले पसलको घरबहाल मासिक २२ लाख रुपैयाँ नोबेल मेडिकललाई बुझाउने गरेको तथ्य खुलेको छ । तर, उनले आन्तरिक राजस्व कार्यालयमा बुझाएको घरबहाल सम्झौतामा वार्षिक चार लाख उल्लेख गरिएको छ । शर्माकै निर्देशनमा अस्पतालले घर बहालमा समेत वार्षिक करोडौं रकम राजस्व ठगी गरेको स्रोतको दाबी छ । यूनाइटेड पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित