काठमाडौंको प्रमुख बन्न बदनाम एसएसपीको दौड, काण्डै काण्डमा फसे पोखरेल

pokn

 काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच महिना आघि काज सरुवा भएर आएका एसएसपी विश्वराज पोखरेल पछिल्लो समय काण्डै काण्डमा फसेका छन् । लेनदेन मुद्दा हेर्नेदेखि पक्राउ गरेका गुण्डा नाईकेलाई छाड्ने र मिसिलमा नै पैसाको चलखेल गर्नेसम्मको उनको कार्यशैलीका कारण गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पोखरेलसँग रुष्ट बन्न थालेका छन् ।

एसएसपी पोखरेलले शुरुमा कालोबजारी, दिल्ली काठमाडौं बसबाट हुँदै आएको तस्करी, लागूऔषध, हुण्डी, गुण्डागर्दी, भारतीय नक्कली नोटको कारोबारलगायत विरुद्धको अप्रेशनबाट चर्चा कमाएका थिए । मिडियाको साथ पाएर सुरुमा चर्चा कमाएका एसएसपी पोखरेल पछिल्लो समय भने विवादमा मुछिएका हुन् । गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरी नाटकीय रुपमा छाडेपछि उनको बद्नाम भयो । मेनपावर व्यवसायी राधिका कटुवालको ४५ लाखको लेनदेन काण्ड तथा अदालतमा मुद्दा विचाराधिन रहेको वेभ सर्फरका सञ्चालक र विदेशी लगानीकर्ताबीचको करोडौंको सेयर विवादमा पनि उनले हात हाले । जुन प्रहरीले हेर्न मिल्ने मुद्दा होइनन् ।  

 त्यसैगरी अनलाईनमार्फत १४ करोडसम्मको अवैध कारोबार गरेका सट्टेबाजी गिरोहका नाइके गौरव तिवारीको समूहलाई जुवा ऐनमा मुद्दा चलाएर उनले २०० रुपैयाँ धरौटीमा छाडे । सुरुमा पक्राउ परेका अभियुक्तलाई ठूला माछा समातेको भन्दै प्रचारबाजी गर्ने र पक्राउ गरेको केहि दिन पछि सेटिङमा मिसिल विगारेर अभियुक्तको मुद्दा नै कमजोर बनाउने उनको कार्यशैलीले गृहमन्त्री थापा र आईजीपी सर्वेन्द्र खनाल नै रुष्ट बनेको प्रहरी स्रोत बताउँछ ।  

आफ्ना व्याचमा एक नम्बरमा रहेका एसएसपी पोखरेल केही महिनापछि डिआईजीमा बढुवा हुनका लागि अहिले देखि नै नेताका घर घरमा धाउन थालेको टिप्पणी हुन थालेको छ । पोखरेल निकट एक प्रहरी अधिकारीका अनुसार उनी सातामा एक पटक सर्वोच्च अदालतका न्यायधिस चोलेन्द्र शमशेर राणा, अख्तियारका कार्यवहाक प्रमुख आयुक्त नविन घिमिरे, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र रक्षा मन्त्री इश्वर पोखरेलकहाँ नाता जोड्दै चाकडी गर्न पुग्छन् ।

 मिडियामा चर्का कुरा गर्ने तर, गुण्डासामु झुक्ने र नेताहरुका जस्तासुकै आदेश स्वीकार्ने एसएसपी पोखरेलको विशेषता नै बनेको एक प्रहरी अधिकारीले बताए । पोखरेलको कार्यशैली र चेन अफ कमाण्ड नै कमजोर बन्न थालेपछि उनको काज फिर्ता हुने अवस्था देखिएको छ ।

 स्रोतका अनुसार काठमाडौंमा प्रहरी प्रमुख बन्नका लागि एसएसपी बसन्त लामा, हरिबहादुर पाल, उत्तमराज सुवेदीलगायतको दौडधुप छ । पाल अहिले कोसी अञ्चल प्रहरी प्रमुख छन् भने सुवेदी बुटवल प्रहरी तालिम केन्द्रमा र लामा सुन काण्डको अनुसन्धान समितिमा छन् ।
३३ केजी सुन काण्डको अनुसन्धानमा आफ्नो क्षमता देखाउन नसकेका लामा गृहमन्त्रीका छोरा र केही आसेपासेलाई बोकेर काठमाडौंको प्रमुख बन्ने दाउमा छन् । सरकारले जे सोचेर उनलाई समितीमा लग्यो, त्यहाँ उनले दुई पटक म्याद थपिदा समेत ३३ केजी सुन भेट्टाउन र मुख्य अभियुक्तलाई पक्राउ गर्न सकेनन् ।

 सुदिप पाठक जस्ता बद्नाम डिएसपीको सल्लाहामा चल्दा लामा असफल हुन पुगेका हुन । पछिल्लो समय लामा र पाठकले बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीसँग जोडिएका केही व्यापारीलाई अनुसन्धानमा तान्ने भन्दै बार्गेनिङ गर्न खोजेका थिए । तर, यो कुरा बाहिर आएपछि उनीहरुको योजना तुहिएको छ ।

 सुन काण्डको समितिका संयोजक गृह मन्त्रालयका सहसचिव इश्वचन्द्र पोखरेलले जति सुकै मेहनत गरेपनि बद्नाम र असफल यि प्रहरी अधिकारीका कारण समितिले थालेको अनुसन्धान विचमै तुहिएको छ । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सुशासनको योजना समेत ओझेलमा परेको छ । उनीहरुले सुन काण्डको अनुसन्धान गरिरहेको बेला पनि एयरपोर्ट र रसुवा नाकाबाट सुन भित्रिने गरेको छ ।

 लामा र पाठकले रसुवा नाकामा सेटिङ मिलाउनका लागि गृहमन्त्री मार्फत लविङ गराई आफू अनुकुल डिएसपी पठाएको गृहमा चर्चा छ । हेटौंडा र कास्कीमा बस्दा अकुत सम्पत्ती जोडेका लामालाई काठमाडौं प्रहरी प्रमुख बनाएको खण्डमा एसएसपी पोखरेलले जति पनि काम गर्न नसक्ने प्रहरी स्रोत बताउँछ । ( यूनाइटेड पोष्ट साप्ताहिकबाट )

प्रतिक्रिया

सम्बन्धित