भिमार्जुनको खुलासा : माओवादीलाई ठूलो बनाउने भारतको यस्तो रणनीति

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको बाम गठबन्धनले सरकार बनाउन सहज बहुमत ल्याएपछि भारतसँग जोडर विभिन्न खालका टिकाटिप्पणी हुन थालेको छ ।संविधानविद् एवम् अधिवक्ता डा. भीमार्जुन आचार्यले बाम गठबन्धनलाई भारतका कारण बहुमत आएको आरोप लगाएका छन् । एपी वान टेलिभिजनसँग बिहीबार गरिएको अन्तर्वार्ताका क्रममा अधिवक्ता डा।आचार्यले एमालेलाई भारतले साइजमा राख्न बाम गठबन्धन बाह्यशिक्तले बनाइदिएको दाबी गरे । उनले भारतको डिजाइनमा एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन गरिएको बताए । ‘एमालेको साइज घटाएर माओवादीको साइज बढाएर भारतले आफ्नो उदेश्यपूर्ति गर्न चाहेको थियो । तर, अदृष्य शक्ति भारतका लागि निर्वाचनको परिणाम प्रत्युत्पादक बनेको छ । भारतको अदृश्यशक्तिले एमाले र माओवादी केन्द्रबीच ‘बाम गठबन्धन’ बनाइदिएको हो’, अभिवक्ता डा.आचार्यले भनेका छन्,‘बाम गठबन्धन गरेर जाँदा एमालेलाई ठूलो घाटा लागेको छ । माओवादीलाई फाइदा भएको छ ।’ डा.आचार्यले बाम गठबन्धन चीनले नबनाएको दाबी गरे । ‘जसले १२ बुँदे सम्झौता गराएका थिए, उनीहरूले नै बाम गठबन्धन बनाइदिएका हुन्’, अधिवक्ता डा.आचार्यले भने,‘मतदाताहरूले इमान्दारिताका साथ बाम गठबन्धनलाई मत दिएका छन् । स्थायी सरकार र पार्टी एकीकरणको आशा राखेका छन् । यदि पार्टी एकीकरण भएन भने पाँच वर्ष काम गर्न कठिनाइ हुनुपर्छ ।’ उनले भनेका छन्,‘प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमाले एक्लै चुनावमा गएको भए सरकार बनाउन सहज बहुमत ल्याउने थियो । तर, माओवादीसँग मिलेर जाँदा एमालेलाई बेफाइदा भयो । सरकार मिलेरै बनाउनुपर्ने बाध्यता बन्यो ।’ निर्वाचनले दिएको म्याण्डेटअनुसार एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भयो भने बाम गठबन्धनको औचित्य रहने बताएका अधिवक्ता डा.आचार्यले भने,‘यदि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएन भने यो गठबन्धन भारतको डिजाइनमा बनेको भन्न सकिनेछ ।’ संविधानमा खेल्ने धेरै ठाउँ रहेको बताएका अधिवक्ता डा।आचार्यले भनेका छन्,‘एमाले र माओवादीबीच पार्टी एकीकरण भएर सरकार बनेन भने संसद विघठन हुने ठूलो सम्भावना छ । भारतीय अदृश्यशक्ति एमालेको साइज घटोस् माओवादीको साइज बढोस् भन्ने चाहन्थ्यो । तर, उल्टो भयो । एमालेलाई घाटौघाटा भएको छ ।’ बाम गठबन्धनले एमालेलाई प्रतिस्पर्धीलाई ठाउँ दिएको अधिवक्ता डा.आचार्यको भनाइ छ । उनले भनेका छन्,‘बाम गठबन्धनका नाममा निर्वाचनमा प्रतिस्पर्धा हुँदा एमालेलाई झन् ठूलो दीर्घकालीन समस्या भएको छ । राजनीतिक अस्थिरता निम्ताएको छ । दीर्घकालीन शत्रु एमालेले कमाएको छ ।’ भारत नेपाली कांग्रेससँग निकट देखिएको जस्तो गरेर बाम गठबन्धनमा विशेष गरेर माओवादी केन्द्रसँग निकट रहेको अधिवक्ता डा.आचार्यले आरोप लगाएका छन् । भारतले कांग्रेस र एमालेलाई भन्दा पनि माओवादीलाई ठूलो बनाउन खोजेको उनले दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित