निर्धारित मितिमै निर्वाचन हुन्छ : प्रम

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा नै हुने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले निर्वाचनले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको जनाउँदै निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान गर्न शुरु गरिसकेको बताएका थिए । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि जनताको उत्साहजनक सहभागिता हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गरेको उनका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री देउवाले नेपाल सरकारले संविधानको कार्यान्वयन गर्न तीनै तहको निर्वाचनलाई प्राथमिकता दिएको र संविधानको कार्यान्वयबाट मात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । भेटका क्रममा राजदूत टेप्लिजले अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहयोगका विविध पक्षमा जानकारी दिएका थिए । एमसिसीमार्फत नेपाललाई अमेरिकी सरकारले सडक पूर्वाधार, विद्युत् प्रसारण लाइन विस्तारलगायत क्षेत्रको विकास र विस्तार गर्न हालै ५० करोड अमेरिकी डलर उपलब्ध गराएको थियो । सो रकम हालसम्मकै उच्च अनुदान रकम हो ।

प्रतिक्रिया

सम्बन्धित