तस्करी नियन्त्रणमा आईजीपीको विशेष संयन्त्र

igpsarbendra

 काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्ति भएको एक सय दिनमा सर्वेन्द्र खनालले संगठनमा सुधारका उल्लेखनिय काम गरेका छन् । लामो समयदेखि अबरुद्ध रहेको विभिन्न पदको ३ हजार भन्दा बढी बढुवा र १० हजार भन्दा बढी प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना गरेका आईजीपी खनालले आकर्षक मानिएको ठाउँमा बस्ने र सिन्डिकेट चलाउने प्रहरीहरुलाई सरुवा गरेका छन् ।

 आईजीपी खनालकै पहलमा मन्त्रिपरिषद्ले प्रहरीलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्न क्रमशः पदपूर्ति हुने गरी कुल ३ हजार १ सय १ प्रहरी कर्मचारीको नयाँ दरबन्दी निकासा गरेको छ । एआइजीले नेतृत्व गर्दै आएका प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयको प्रमुखको रुपमा डीआइजी रहने व्यवस्था लागु भएको छ ।

 खनाल आईजीपी भएपछि बिभिन्न अपराधमा संग्लन भई विदेशबाट नोटिस जारी भएका ६ जना बिदेशी नागरिकलाई पक्राउ गरी विदेश पठाइएको छ भने नेपालबाट नोटिस जारि भएका १२ जनालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ । त्यस्तै नोटिस जारी भएका थप ११ जनालाई नेपाल भित्रैबाट पक्राउ गरिएको छ । खनालकै पहलमा शान्ति मिसनमा महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पु¥याउन लागिएको छ ।

 त्यसैगरी लागूऔषध र अबैध हातहतियार विरुद्धको कारबाहीलाई तिब्र पारिएको छ भने विभिन्न बहानामा विदेश पठाई अलपत्र पार्ने गिरोहमाथि पनि कडाई गरिएको छ । सार्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउने नेपाल सरकारको बिरोध गर्दै बन्द हड्ताल गर्ने १२२ जनालाई समेत पक्राउ गरिएको थियो । आईजीपी खनालले केही प्रदेश र केन्द्रका लागि वाटर क्यानन खरिद प्रक्रिया अगाडि बढाएका छन् ।
भीड नियन्त्रण गर्ने अन्य उपकरण खरिदका लागि सरकारसँग छलफल भइरहेको छ । आईजीपी खनालले सातै प्रदेश प्रहरी कार्यालयमा फरेन्सी ल्याब तथा डिजिटल ल्याब स्थापनामा पहल गरिरहेका छन् । खनालकै पहलमा विदेशमा बस्ने नेपालीले अनलाइनमार्फत प्रहरी रिपोर्ट पाउने व्यवस्था गरिएको छ ।

 आईजीपी खनालले नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुनदेखि अन्य तस्करी नियन्त्रणका लागि विशेष संयन्त्र परिचालन गर्ने तयारी थालेका छन् । आईजीपी खनालले राम्रो काम नगर्ने प्रहरी अधिकारीहरुलाई कारबाही स्वरुप तुरुन्तै सरुवा गर्ने नयाँ प्रणाली लागू गरेका छन् ।
आईजीपीको सचिवालयले यतिबेला उजुरी परेका दर्जनौ जिल्लाका प्रहरी प्रमुखहरुमाथि गोप्य रुपमा अनुसन्धान गरिरहेको छ । प्रहरी संगठनमा रहेका विकृती र विसंगतिलाई हटाउन आईजीपी खनालले सुधारको सुरुवात समेत गरेका छन् । हल्ला भन्दा काममा बढी रमाउन चाहने आईजीपी खनालले संगठनमा रहेका थुप्रै चुनौतीलाई पन्छाउँदै अगाडि बढ्ने पनि बताएका छन् । 

(यूनाइटेड पोष्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित