संसदमा पालद्धारा जानकारी : प्रधानमन्त्रीले पनि तेरो लास भेट्न सक्दैन, कारबाही हुन्छ : गृहमन्त्री

badan and niru

   काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको निर्मला पन्त घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी गराएका हुन् ।

आगामी दिनमा यस्ता घटना हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउँदै उनले यस्ता हत्या हिंसाका घटनामा मदिरा सेवन र लागुपदार्थको सेवन कारण बन्ने गरेको बताए ।गृहमन्त्री थापाले अनियन्त्रित मदिरा सेवन र लागुपदार्थ सेवनलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने जानकारी गराए ।

उनले सांसद निरुपाल माथिको घटना राजनीतिक प्रकृतिको देखिएको बताउँदै घटनालगत्तै सांसद पालको सुरक्षाको व्यवस्था गरेको र गम्भीर छानबिन भइरहेको जानकारी गराए । राजनीतिक स्थायित्व नचाहने तत्वले यस्तो घटना घटाउने प्रयास भएको हुन सक्ने उनको आशंका थियो ।

निर्मला मृत्यु प्रकरणमा दुईजना पक्राउ
१३ वर्षीया निर्मलालाई बलात्कारपछि हत्या गरेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पीडित परिवारले दिएको उजुरीको आधारमा प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका मोहन्याल ५ का २२ ववर्षका जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको गृहमन्त्री थापाले जानकारी दिए ।
साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको थियो । यस घटनाको विषयमा बिहीबार संसदमा जानकारी गराउँदै मन्त्री थापाले पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या भएको पाइएको बताए ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने निर्मला ट्युसन पढ्न गएकोमा नफर्किएपछि परिवारले त्यसै दिन राति १० बजे प्रहरीलाई खबर गरेका थिए । उनको शव उखुबारीमा भेटिएको थियो ।

संसदमा पालद्धारा जानकारी : प्रधानमन्त्रीले पनि तेरो लास भेट्न सक्दैन
सांसद निरु पालले संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै आफूमाथि आक्रमणको प्रयास भएको घटनाबारे संसदमा जानकारी गराएकी छिन् । विहीबारको संसदमा बोल्दै पालले आफूमाथि भएको घटनाको जानकारी गराएकी हुन् । उनले गत साउन १५ गते साँझ ८ बजेर १५ मिनेटमा म घरबाट दूध लिन पसलमा जाने क्रममा साँघुरो गल्लीमा आफूमाथि तर्साउने प्रयास भएको बताइन् ।

उनका अनुसार सो समयमा उक्त गल्लीमा एक जना रेनकोट लागेको मान्छे उभिरहेको थियो र उनलाई देखेपछि उसले उनि तर्फ मुख फर्काएर माथि पर्खालतिर हेरेको थियो । त्यहाँ २÷३ जनामा मान्छे रहेको र बाहिर ३ र ४ वटा मोटरसाइकल रहेको उनले बताइन् ।

उनले भनिन्–‘मैले त्यहाँको पसलमा दूध नपाएपछि माथि अर्को पसलबाट दूध लिएर आएँ । उसले मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल लगायो । मलाई अहिले पनि दुखिरहेको छ । अहिले पनि निलो डाम छ । पेस्तोल देखाएर मलाइ तर्साउन खोजिएको होला ।’

उनलाई उनीहरुले भोलिको बैठकमा गइस् भने प्रधानमन्त्रीले पनि तेरो लास भेट्न सक्दैन भनेर धम्की दिएका थिए । साथै उनको मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढालिदिने धम्की उनीहरुले दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित