लोकदर्शन रेग्मी मुख्यसचिवमा नियुक्त, गृहमा सापकोटा

काठमाडौं : सरकारले गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । गत असार २३ गते नियुक्त भएका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री ५८ वर्षे उमेरहदका कारण कात्तिक ७ गतेदेखि अनिवार्य अवकाश पाउने भएपछि सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका गृहसचिव सुवेदीलाई २४ औं मुख्यसचिवमा नियुक्त गरेको हो । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा थिए । निजामती सेवामा २३ वर्ष बिताएका रेग्मी जनप्रशासनमा स्नातकोत्तर हुन् । रेग्मीले अर्थ, गृहजस्ता मन्त्रालयको प्रशासनिक नेतृत्व गरिसकेका छन् ।

पुनःनिर्माण प्राधिकरणमा भूसाल यसैबीच सरकारले केही सचिवहरुको सरुवा गरेको छ । लोकदर्शन रेग्मी मुख्यसचिव भएपछि गृह मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयका मोहनकृष्ण सापकोटालाई लगिएको छ । शंकरप्रसाद अधिकारीलाई अर्थ, ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोग, रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन, युवकध्वज जीसीलाई वन र प्रकाश माथेमालाई पशुपन्छी मन्त्रालयमा सरुवा गरिएको प्रवक्ता बस्नेतले बताए । बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गरेको छ । राजीनामा स्वीकृतसँगै पूर्वसचिव युवराज भूसाललाई तत्कालका लागि प्राधिकरणमा सीईओको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित