एनएसीद्धारा राष्ट्रपतिकै उडानमा कार्यविधि उल्लंघन

nac

   काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल वायुसेवा निगम (एनएसी) ले गम्भीर लापर्वाही गरेको पाइएको छ। भण्डारीले गत वर्ष १२ मे २०१७ मा गरेको श्रीलंका भ्रमणका क्रममा निगमले ‘मानक सञ्चालन कार्यविधि’ (स्ट्यान्डर्ड अपरेटिङ प्रोस्युडर) विपरीत पाइलट तथा को–पाइलटको बन्दोबस्त गरेको फेला पारेको छ।

राष्ट्र प्रमुखको हैसियतमा भण्डारीले काठमाडौंदेखि बैंककसम्म निगमको विमानबाट यात्रा गरेकी थिइन्। अति विशिष्ट व्यक्तिको उक्त यात्राका क्रममा निगमले एकजना पाइलट र दुईजना को–पाइलटको मात्र बन्दोबस्ती गरेर उक्त कार्यविधिविपरीतको कार्य गरेको हो। निगमले क्याप्टेन सुवास रिजालको नेतृत्वमा दुईजना को–पाइलट (फस्ट अफिसर) हरू सञ्जय वैद्य र सञ्जय पौडेललाई मात्र खटाएको थियो।

निगमको कार्यविधिमा अति विशिष्ट व्यक्तिको उडानका क्रममा एकजना प्रशिक्षक पाइलट (इन्स्ट्रक्टर पाइलट)को नेतृत्वमा अर्का प्रशिक्षक पाइलट वा क्याप्टेन, एकजना क्याप्टेन वा को–पाइलट गरी तीनजनाको टोली बनाउनुपर्ने व्यवस्था गरेको छ।
निगमले यी प्रावधानविपरीत क्याप्टेन र दुईजना को–पाइलटका भरमा उडान व्यवस्था मिलाएको हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार उडानका क्रममा क्याप्टेन वा पाइलटलाई कदाचित केही भएमा अर्को उही तहको क्याप्टेन वा पाइलटले जहाज हाँक्नुपर्ने हुन्छ। पाइलट वा क्याप्टेनको सिटमा बसेर को–पाइलटले जहाज उडाउन पाउँदैन।

राष्ट्रपति भण्डारीको उक्त उडानमा एकजना मात्र क्याप्टेनको व्यवस्था गरेर निगमले नागरिक उड्डयन प्राधिकरणद्वारा स्वीकृत कार्यविधि उल्लंघन गरेको हामीलाई प्राप्त कागजातबाट देखिन्छ। राष्ट्रपति भण्डारी श्रीलंकाको कोलम्बो जाने क्रममा बैंककसम्म निगमको जहाजबाट यात्रा गरेकी थिइन्। बैंककदेखि कोलम्बोसम्म अर्कै जहाजबाट राष्ट्रपति भण्डारीको यात्रा भएको थियो।

अति विशिष्ट व्यक्तिको भ्रमण सञ्चालनसम्बन्धी लागू भएको कार्यविधि बनाउनेमध्येका निगमका तत्कालीन चिफ इन्स्ट्रक्टर पाइलट रवीन्द्रबहादुर श्रेष्ठका अनुसार यस्तो कार्यविधि निगमले लागू गर्नुपर्छ। ‘अधिकांश अवस्थामा सञ्चालनसम्बन्धी कार्यविधि पालना गरिएको हुन्छ,’ श्रेष्ठले बुधबार अन्नपूर्णसित भने, ‘तर कहिलेकाहीं विभिन्न प्राविधिक समस्या तथा जटिलताले पालना नगरिएको पनि हुन सक्छ।’

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आफूलाई यस विषयमा कुनै जानकारी नभएको र बुझेर पछि बताउने उल्लेख गरे। अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित