हैसियतभन्दा ठूलो पद मागेको समकक्षीहरुको आरोप
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारसँग भिड्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाएको सार्वजनिक लेखा समितिको सभापतिमा सांसद भरत शाह तोकिएपछि उनको भूमिकालाई लिएर विभिन्न खालका टिकाटिप्पणी हुन थालेको छ । रुपन्देही जिल्लाबाट प्रतिनिधि सभामा कांग्रेसबाट निर्वाचित सांसद शाहले लेखा समितिको सभापतिमा दाबी गर्दै आएका छन् ।
शाहको व्यक्तिगत विषयमा धेरै टिकाटिप्पणी गर्ने ठाउँ छैन । उनको कार्यशैली र व्यवहारबाट धेरै सांसदहरू चिढिएका छन् ।
सांसद शाहले सभापति शेरबहादुर देउवालाई दवाव दिएर लेखा समितिको सभापति पद हत्याउन लागेका हुन् । कार्यक्षमतामा कमजोर मानिने शाहले लेखा समिति चलाउन नसक्ने आरोप कांग्रेसका सांसदहरूको छ । लेखा समितिको सभापतिमा डा.मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, गगन थापा वा उनीहरू कै हैसियत सरहका सांसदलाई दिनुपर्ने चर्चा संसदीय दलको कार्यालयमा चल्ने गरेको छ ।
यसअघि स्वर्गिय सुशील कोइराला सभापति रहेका बेला राज्य व्यवस्था समितिको सभापति दिलबहादुर घर्तीलाई दिँदा कुनै पनि राम्रो काम हुन सकेको थिएन । घर्तीले राज्य व्यवस्था समितिको बैठक पनि बसाल्न सकेका थिएनन् । प्रतिनिधि सभाको समितिहरूमा राज्य व्यवस्था समिति र लेखा समिति सबैभन्दा महत्वपूर्ण मानिन्छ । घर्तीका कारण अघिल्लो पटक राज्य व्यवस्था समितिमा कांग्रेसले ठूलो अपमान र घृणा व्यहोर्नु परेको थियो ।
अहिले पनि त्यही शैली दोहोरिने गरेर सांसद शाहले लेखा समितिमा दाबी गरेका छन् । शाहलाई लेखा समितिको सभापति बनाउने हो भने कम्युनिस्ट सत्तासँग भिड्न कांग्रेस नसक्ने नेताहरुले बताउने गरेका छन् ।
कम्युनिस्ट सत्तासँग भिड्नका लागि बोल्ड निर्णय गर्ने क्षमता, वाक शैली र कर्मचारी तथा पत्रकारहरूलाई चलाउन सक्नुपर्छ । यी विषयमा सांसद शाह शून्य रहेको उनीहरु बताउँछन् ।
सरकारका अवैध गतिविधिलाई ठेगान लगाउन कांग्रेसले लेखा समितिमार्फत कदम चाल्नुपर्ने हुन्छ । राज्यको ढुकुटीबाट गर्ने अनियमिततालाई कांग्रेसले यही लेखा समितिमार्फत नङ्ग्याउन सक्नेछ । त्यसका लागि सभापति दमदार चाहिन्छ । त्यो गुण सांसद शाहमा छैन भन्नेहरू कांग्रेसकै सांसद छन् ।
कम्युनिस्ट सत्ताका विरुद्ध कांग्रेसका नेताहरू एक भएर अगाडि बढिरहेका बेला शाहले आफ्नो हैसियतभन्दा ठूलो पदको बखेडा झिकेर कांग्रेसलाई अप्ठेयारोमा पारेको चर्चा चलेको छ ।
कांग्रेसले अहिले पदलाई भन्दा पनि कम्युनिस्ट सत्तासँग लड्न सक्ने व्यक्तिलाई पहिचान गर्नुपर्ने एक नेता बताउँछन् । मिनी संसदका रुपमा लिइने प्रतिनिधि सभाका समितिहरूमध्ये कांग्रेसले लेखा समिति अर्थात एउटा मात्रै समिति पाएको छ । यो समितिमा पनि राम्रो व्यक्तिलाई सभापति नबनाउने हो भने कांग्रेसभित्र ठूलो नैतिक संकट अउने ति नेताले बताए । (यूनाइटेड पोष्ट)
प्रतिक्रिया