निशानका हत्यारा इन्काउन्टरमै मारिएको गृहमन्त्रीको स्पष्टोक्ति, ‘फेक इन्काउन्टर’ हल्ला मात्रै भएको दावी

ram bahadur thapa

   चितवन । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको दाबी गरेका छन् । बिहीबार चितवन पुगेका गृहमन्त्री थापाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।

‘फेक इन्काउन्टर’ भनेर चलाइएको ‘हल्ला’ हल्ला मात्रै भएको उनले बताए । गृह मन्त्रालयमा प्राप्त सूचना अनुसार उक्त घटना मुठभेडबाटै भएको उनको दाबी छ । उनले भने–‘फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।’ गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै भने( ‘२४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो । ’

राजधानीमा गत आइतबार पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो ।

अपहरणकारीले गत आइतबार राति ९ बजे निसानकी आमा चमेलीलाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती मागेका थिए । सूचना पाएको १५ घण्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमिको नगदेशस्थित श्याम लवटको घरसँगैको खाल्डोमा मृत फेला पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित