भिख : मागे एक महिना, मगाउन लगाए एक वर्ष जेल सजाय

bhikari

   काठमाडौं । राजधानी काठमाडौंलगायत देशका मुख्य शहरहरुमा माग्न बस्नेहरुको लर्को लाग्ने गरेको छ । मुख्यतयः राजधानीका प्रशिद्ध धार्मिकस्थलहरु, रत्नपार्क, कालिमाटि, दरबारमार्ग, ठमेल, कोटेश्वरलगायतका क्षेत्रहरुमा माग्न बस्नेहरु धेरै नै देखिन्छन् । अझ कुनै चाडपर्वका बेला त झन मन्दिर तथा मस्जिदहरुमा माग्न आउनेहरुको लाइन नै लाग्ने गरेको छ । सरकारले केही समय अघि प्रशिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिर आसपासमा भिख माग्न नपाईने नियम लागू गरेको थियो । तर, अझै पनि पशुपतिनाथ क्षेत्र परिसरमा मागन्तेहरु भने भेटिने गरेका छन् ।

यसरी माग्नका लागि आउनेहरुमा अपांगता भएकाहरु, रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु छन् । तर, अधिकांश माग्ने भन्दा पनि उनीहरुलाई मगाउन लगाएर आफ्नो पेट पाल्नेहरुको संख्या पनि कमी छैन यहाँ । त्यसैले सरकारले अब माग्न नपाउने कानुन ल्याएको छ । कसैले गित गाएर त कसैले आफ्ना बच्चाहरुलाई थाल वा कचौरा लिएर सडकमा माग्न लगाउने गरेको पनि देखिन्छ ।

सरकारले भदौ १ गतेदेखि भने सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाउने कानुन बनाएको छ । कसैले मागेमा उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नुपर्नेछ । मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ ।

ऐनको दफा १२६ मा भनिएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन ।’

सार्वजनिक स्थल भनेर सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन किटान गरिएको छ । यी स्थानहरुमा भिक्षा मागेमा पटकपिच्छे थप सजाय र मागेको रकम पनि जफत गर्ने कानुनमा व्यवस्था छ ।

पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ । भिक्षा माग्नेलाई भन्दा माग्न लगाउनेलाई बढी सजायको व्यवस्था गरिएको छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ । तर, साधु सन्तलाई भने भिक्षा माग्न छुट दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित